साझा यातायातले बुधबारदेखि राजधानीमा सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको छ।
बिरामी तथा फरक क्षमता भएका व्यक्तिहरूलाई मध्यनजर गर्दै ठूला अस्पतालहरूको रुटमा यो अपांगमैत्री बस गुड्न थालेको हो।
भुइँबाट एक स्टेप टेकेपछि बसमा उक्लिइन्छ। अन्य साझामा जस्तै पछाडिको ढोकाबाट उक्लिने हो। पछाडिको ढोका फराकिलो छ। अरुमा जस्तो ३/४ स्टेप उक्लनुपर्ने वा ओर्लनुपर्ने समस्या यसमा हुँदैन।
जसले गर्दा बृद्धवृद्धा, महिला तथा बिरामीका लागि त सहजता थपिएको छ नै अपांगता भएकाहरूका लागि पनि ह्विलचेयरसहित छिर्न सक्ने व्यवस्था यसमा गरिएको छ।
ह्विल चेयर छिराउनका लागि स्टेपलाई भुइँमा सतही हुनेगरी झारिन्छ। त्यही समतल पाताबाट ह्विल चेयर बसमा छिराइन्छ। ढोका नजिकै चेयर रहने गरी खुला ठाउँ राखिएको छ। चेयर अड्याउन उनीहरू बसमा भएको बेल्टको प्रयोग गर्न सक्छन्। बेल्टको प्रयोग गरेपछि चेयर तलमाथि जान पाउँदैन। त्यही समतल पाताबाट उनीहरू ओर्लन सक्छन्।
यो बसको लम्बाई १२ मिटर छ। अरुभन्दा ठूलो रहेकोले एकै पटक धेरै जनाले यात्रा गर्न सक्छन्।
ड्राईभर सहित यो ४१ सिट क्षमताको छ। बसको सिट पनि अरुको भन्दा फरक र ‘प्यासेन्जर फ्रेन्डली’ छ। पछाडि ढाडको संरचनालाई मिल्नेगरी सिटलाई सहज बनाइएको छ। २ बाई २ सिट रहेको बसमा उभिनका लागि पर्याप्त ठाउँ छ। उभिनेले बसमा ‘ह्याङ्गर’ समाएर आफूलाई नियन्त्रण गर्न सक्छन्। अन्यमा जस्तै महिला तथा वृद्धवृद्धाका लागि सिट आरक्षित गरिएको छ।
अर्को मूख्य विशेषता भनेको ‘ड्राइभर एनाउन्समेन्ट’ सिस्टम हो। यसले गर्दा ड्राइभरले प्यासेन्जरलाई गाडी कहाँ पुग्यो भन्ने कुरा जानकारी दिन्छन्। त्यहीअनुसार आफू ओर्लनका लागि प्यासेन्जर तयारी अवस्थामा रहन सक्छन्।
अन्य साझाका बसमा भएका सिसि क्यामरा, टिभी लगायतका सुविधा यसमा पनि छन्। यो बस गियररहित भएकोले ड्राईभरलाइ ट्राफिकमा सजिलो हुने साझाले जनाएको छ।
यो बसलाई वीरगंज भन्सारबाट ६२ फुटको ट्रेलरमा राखेर नेपाली चालक सेख तबरेजले ल्याएका थिए।