हामी इन्टरनेट प्रयोगको अनौठो अवस्थाबाट गुज्रिरहेका छौं।
केटाकेटीलाई मोबाइल स्क्रिनमा युट्युब भिडिओ नबजाई खाना खुवाउन गाह्रो छ। बसको सिटमा सँगै बसेको मान्छेको कानमा हेडफोन छ भने उसलाई बोलाउन गाह्रो छ। मोबाइल गेम तथा सिरिजहरूबारे कुरा गर्न सक्ने मान्छेले उसलाई त्यसकैको अधीनमा लामो समय राखिसकेको हुन्छ।
हामीलाई घर पुगेर मोबाइल नचलाई बेलुका निद्रा पर्दैन। बिहान उठ्नासाथ पहिलोपल्ट हेर्ने चिज मोबाइल नै हो। सानासाना नानीहरूको टिकटकमा भिडिओ बनाउने क्रम बढेको छ। कसैको घर जाँदा होस् वा रेस्टुरेन्टमा, पहिलो संवाद वाइफाइको पासवर्ड नै हो।
हामी इन्टरनेटको 'कन्फ्युजिङ' जमानामा छौं। अहिले हुर्किएका नानीहरू त्यसबारे थाहा नपाउँदादेखि नै अभ्यस्त छन्।
यसको सामाजिक र मनोवैज्ञानिक पाटो गम्भीर छ। त्यसले निम्त्याउने जोखिम झनै गम्भीर छन्। वास्तविक मानिसहरूसँग संवाद कम छ तर सामाजिक सञ्जालमा जायज-नाजायज कुरा आउन छोडेका छैनन्। कयौं सम्बन्ध र मित्रता च्याटबक्समा सीमित छन्। सोचौं त, केही समय बोलेर नबोलेका संवाद हाम्रो च्याटबक्समा कति होलान्?
यही गभ्मीर समयको यथार्थता देखाउँदै थिएटर भिलेजले किशोरकिशोरीको कथा 'गुम्फन' नाटक शिल्पी थिएटरमा मञ्चन गरेको छ। दिलिप रानाभाटद्वारा निर्देशित नाटकले अहिले संसारभरका मानिसलाई विभाजन (वा नजिक ल्याउने?) गर्ने रियल र भर्चुअल दुनियाँको फरक देखाउने प्रयत्न गरेको छ। यसले त्यसको असर देखाउँदै मानिसहरूलाई सचेत गराउँछ। भर्चुअल दुनियाँ रमाइलो त छ तर त्यसले कसरी एकअर्कालाई पर पुर्याउँदैछ भन्ने सन्देश नाटकले दिन्छ।
स्टेजमा एउटा पोल छ। त्यसमा पहेँलो बत्ती बल्छ। त्यसको फेदमा कम्प्युटरका किबोर्ड नै किबोर्ड छन्। कम्प्युटर खुले त्यो बल्छ। नखुले बल्दैन।म्यासेन्जरमा अनलाइन बसेको जस्तो। अनलाइन देखाउने बत्ती बले मान्छे त्यहाँ छ, नबले छैन। हामी मानवजाति प्रविधिको यो अनौठो लतमा पुगिसकेका छौं। हाम्रो लागि दुई महत्त्वपूर्ण कुरा छन्, वाइफाइको पासवर्ड र सामाजिक सञ्जालका खाताको पासवर्ड। यो नाटकमा पनि सामाजिक सञ्जालका त्यही खाताहरूले विभिन्न किशोरकिशोरीमा उत्पन्न गरेका मनोदशा छरिएका छन्।
यो अनुदित नाटक हो। एलिसा सालोको फिनिस नाटक ‘रयादेस्सवारा’ बाट प्रभावित यसलाई नेली केइनानेन र लिया अब्सेसले अंग्रेजीमा अनुवाद गरी ‘फलिङ’ बनाए। सोही ‘फलिङ’ लाई जिवेश रायमाझीले नेपालीमा अनुवाद गरेका हुन्। यसको शीर्षक 'गुम्फन' सुन्दर लाग्यो। फन सोचेर भित्र छिरेको मान्छे गुम्सिरहेको समयको उकुसमुकुस यसले प्रस्तुत गरेको छ।
पछिल्लो समय नेपाली थिएटरमा अनुदित नाटक मञ्चन भइरहेका छन्। कुनै पनि सामग्री अनुवाद गर्नु, अर्को कुनै समयमा कसैले लेखेको लेखन आफ्नो परिवेशमा ढाल्नु हो। कुनै पनि शब्द स्वतन्त्र भएर लेखिँदैनन्। यसर्थ फरक सन्दर्भमा लेखिएका शब्द आफ्नो सन्दर्भमा ल्याउँदा केही स्वाभाविक रचनात्मकता पनि आउँछन्।
त्यसैले त अनुवादमा अनुवादक रहेको समय आउँछ। यसलाई यो बेला अनुवाद गर्छु भनेर अनुवादकले सोच्नुमा पनि त्यही समय र सन्दर्भको प्रभाव रहन्छ। यसर्थ माथि भनिएको जस्तो समाज भएको बेला थिएटरले कुनै अनुवाद मार्फत च्याटबक्समा हराउन खोज्नेहरूको कथा भन्ने प्रयत्न गर्नु आफैंमा खुसीको कुरा हो।
तर यो नाटक युरोपमा इन्टरनेट सुरू भएको बेलाको थियो। त्यस बेला च्याट ग्रुपमा मानिसहरू गोप्य च्याट गर्थे। को कससँग बोलिरहेको छ थाहा हुँदैन थियो। हामीले पनि नेपालमा याहु तथा मिगका च्याटरुममा गोप्य च्याट गरेका हौं। त्यसैले अनुवाद गर्दा अनलाइन पात्रका नामलाई नेपाली नाम दिएको भए हुन्थ्यो। उनले युरोपका मान्छेले प्रयोग गर्ने नाम प्रयोग गर्दा नेपाली कलाकारलाई डायलग बोल्न अप्ठ्यारो त भएकै छ, सँगै नामको माध्यमबाट दिन सकिने अर्थमा पनि सिमितता दिएको छ।
नाटकमा धेरै सबल दृश्य छन्। रियल र भर्चुअल दुनियाँको फरकपन देखाउन प्रयोग गरिएको प्रकाश संयोजन सुन्दर छ। कल्पनाको कुनै सुन्दर संसारमा पुगेजस्तो भान त्यसले दिन्छ। कुनै तारामण्डल जस्तो, जहाँ असङ्ख्य तारा छन् तर कति छन् थाहा छैन। ताराहरू एक अर्कासँग कुरा गर्छन्-गर्दैनन् थाहा छैन। म्यासेन्जरमा असंख्य मान्छे अनलाइन छन् तर कुरा गर्छन् कि गर्दैनन् थाहा छैन।
त्यसले स्टेजको भ्याकुमलाई नै अलग गराइदिएको छ। यस्तै रियल दुनियाँबाट भर्चुअल दुनियाँमा पात्रहरू जाँदा प्रयोग गरेको भेषभुषा पनि सुन्दर छ। त्यसले पात्रहरूको आवरण पूरै छोपेको छ। म्यासेन्जर वा सोसल मिडियाको पछाडि मान्छेको आवरण छोपिएको जस्तो।
दुई फरक पुस्ताले एक अर्कालाई बुझ्न नसकेको यथार्थ पनि यहाँ छ। आमाले छोरीको मनमा चलिरहेको मनोदशा बुझ्न सकेकी छैनन् न बाउले छोराको अवस्था बुझेका छन्। छोरालाई इन्टरनेट चलाउनबाट रोक्न खोज्दा धकेलिएको बाउको अनुहारले धेरैथोक भन्छ। (धकेलिएर लडेपछि उसले डायलग नबोलेको भए हुन्थ्यो।)
केही समय पहिला सामाजिक सञ्जालबारे सामाजिक सञ्जालमै भएको बहस याद आयो। सामाजिक सञ्जालले मानिसलाई त्यस्तो कुरा बोल्न लगाइरहेको छ जुन उनीहरू रियल जीवनमा बोल्न सक्दैनन्। त्यस्ता गाली गरिरहेका छन् जुन उनीहरू सामुन्ने भएर गर्न सक्दैनन्।
यहाँ पनि डार्क फ्लो नामको पात्र छन् जो च्याट बक्समा असाध्यै राम्रो लेख्ने मान्छेका रूपमा चर्चित छन्, तर कलेजमा कसैसँग बोल्दैनन्। उनको अभिव्यक्ति दुई फरक संसारको द्वन्द्वमा संकुचित छ। उनी च्याटबक्सको अध्याँरोसँग प्रेम गर्छन्, वास्तविक संसारको उज्यालोमा गुम्सिन्छन्।
मानिसहरू संकुचित र असंकुचित दुवै एकैपल्ट बाँचिरहेको समय हो यो। नाटकले त्यो समय केलाउन खोजेको छ।
तर कक्षाकोठाको दृश्य होस् शिक्षक पात्रले अरू पात्र भेट्दा, त्यहाँ प्रयोग भएका डायलग अस्वाभाविक छन्। सामान्य कुराकानीमा अवरोध ल्याउँछ। शिक्षक पात्र नाटकमा स्थापित नहुँदै विद्यार्थीलाई उपदेश दिन थालिहाल्छन्। उनको भाषा अनुवादमार्फत अझै बोलीचालीको भाषामा लैजान सकिन्थ्यो। सामाजिक परामर्श दिन तत्पर छ तर त्यसको झल्को उनको हाउभाउ र प्रस्तुतिमा कतै छैन। उनी परामर्श दिने शिक्षक हैन, परामर्श दिने शिक्षकको संवाद बोल्ने पात्र मात्र भएका छन्। उनको पात्र बलियो भएको भए नाटकको उचाइ अर्कै हुने थियो।
अनुवादको सम्पादन पनि कमजोर छ। पात्रहरू संवाद बोल्दा धेरैपल्ट अड्किन्छन्। माथि भनिएको जस्तै कतैकतै सन्दर्भ चिनाउन र यस्तो भइरहेको छ भन्ने बताउन पात्रले संवादको बीचमै सन्दर्भ मिसाउन खोज्दा झनै असहज परिस्थिति सिर्जना हुन्छ।
नाटकमा धेरै सिम्बोलहरू छन्। एक युवतीले आफ्नो वरपर भइरहेको परिस्थितिको बोझबाट निस्किन गरेको प्रयास देखाउन उनी सेटमुनिबाट छिरेको दृश्य राम्रो छ। साथै लुडो खेल र यसमार्फत् देखाउन खोजेको जीवनको यथार्थ पनि सुन्दर छ।
अभिनयका हिसाबले पात्र सामान्य छन्। नाटकमा भर्चुअल र रियल दुनियाँ छ। ती दुई दुनियाँमा पात्र अलगअलग देखाउन प्रकाश र भेषभुषाले सुन्दर काम गरेको भए पनि अभिनय पर्याप्त लाग्दैन। कुनैकुनै बेला त कलाकारले आफूले बोलिरहेको संवादले के र किन भनेको हो भन्ने पनि नबुझे जस्तो लाग्छ।
यस्तै नाटकको अन्त्यतिरका केही दृश्यमा दर्शकले बुझिसकेको कुरा पनि डायलगमा भनिएको छ। छोराको मृत्युपछि फूलको बुकी लिएर आएको बाबु छोराकी साथीलाई पनि आदर्शवादी वाक्य बोल्छ। त्यहाँ डायलग जरुरी थिएन।
अनुवादले छुटाएका सन्दर्भ र लवजलाई निर्देशकले रिडिङमा हस्तक्षेप गर्नसक्ने ठाउँ थियो। त्यसले काल्पनिक भर्चुअल संसारमा उनीहरूले गर्ने कुराकानी अझै सहज हुन सक्थ्यो।
अन्य नाटकघरले जस्तै थिएटर भिलेजले पनि नाटक सिक्न आएका सबै कलाकारलाई स्टेजमा उतार्ने लोभ गरेको छ। त्यहाँ भएका केही पात्रको अभिनयमा निखार नपुगेको प्रस्टै देखिन्छ। उनको ठाउँमा फरक कलाकार कास्टिङ गरेको भए नाटक अझै सबल बन्थ्यो। तिनलाई स्टेजमा डायलग पढ्ने बनाउनबाट जोगाउन सकिन्थ्यो। तुलनात्मक रूपमा ठूलो उमेरका कलाकारभन्दा साना उमेरका कलाकारले राम्रो काम गरेका छन्।
निर्देशकीय रूपमा दिलिप रानाभाटले पछिल्लो नाटक 'झिमिक झिमिक झ्याप्प' भन्दा सुधार गरेका छन्। विषयवस्तुको सार्थक छनौट र बहस हुनै पर्ने किशोरकिशोरीहरूको सामाजिक पक्ष स्टेजमा ल्याएकोमा उनी धन्यवादका पात्र छन्। यो यति बेला बहस हुनैपर्ने विषय थियो। परिवारमा हुने सानासाना घटना तथा किशोरकिशोरीहरूको हुर्किने क्रमको भिन्नता आत्मसात् गर्न नसक्दा कस्ता जोखिम हुन सक्छन् भन्ने देखाउन उनी सफल भएका छन्। यस्तो महत्त्वपूर्ण विषय उठान गरेको भए पनि अनुवाद, अभिनय र निर्देशकीय हिसाबमा भने यो औसत नाटक हो।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी