रंगमञ्च
बुकर प्राइज जितेको किताब 'दि लुमनरिज्' लाई टेलिभिजन ड्रामा बनाउने क्रममा आफ्नो अनुभव बिबिसीसँग सेयर गर्दै लेखक इलेनोर काटोनले भनेका छन्, 'टेलिभिजनको लागि लेख्नु नयाँ वाद्यवादन सिक्नुजस्तै भएको छ। त्यसले निकाल्ने धुन त प्रायः उस्तै-उस्तै हो तर बाँकी सबै कुरा पूरै फरक छन्।'
सर्वनाम थिएटरमा मञ्चन गरिएको अशेष मल्लद्वारा निर्देशित 'अर्को कुरुक्षेत्र' नाटक कथाबाटै बनेको हो। तर यसले बजाएको धुन स्पष्ट छैन। कतै कथाको ताल बज्छ त कतै नाटकको। उत्कृष्ट नाटक बन्ने ठाउँ भएर पनि यसले केही गल्ती गरेको छ जुन नेपालमा मञ्चन भएका अरू केही नाटकहरूले गरिरहेका छन्।
पहिलो, दृश्यमा सबल भए पनि संवाद कमजोर। स्टेजमा स्थापित सुन्दर दृश्यहरूलाई त्यत्तिकै नछोडिदिएर तिनकै बारेमा व्याख्या थाल्दा नाटकको खुट्टा अल्झिन्छ।
दोस्रो, कथाबाट नाट्य रूपान्तरण गर्दा कथामा भएका सबै थोक 'डायलग'मा भन्ने लोभ।
र तेस्रो, पात्रहरूको सपाट संवाद। आवाज हरेक दृश्य एउटै छ। दृश्यअनुसार प्रकाश, सेट र दृश्य फेरिन्छ तर त्यसले पात्रको बोली फेर्दैन। दृश्यको भाव र गहनताअनुसार त्यसमा अझै स्पष्ट काम गर्ने ठाउँ यी कमजोरीले नाटकलाई अनावश्यक लम्ब्याएका छन्।
महिला पात्रलाई डोरीले बाँधिएको दृश्यको कुरा गरौं। लामो दृश्यमा उनको संघर्ष देखाइसकेपछि 'कसले मलाई डोरीले बाँध्यो?' भन्ने डायलग आउँछ जुन जरूरी थिएन।
यस्तै महिला पात्र लामो समयदेखि इनारको गहिराइमा भएको कुरा उनको शरीरले बताइसक्छ। असहजता देखाउने हाउभाउ र निस्किने प्रयासलाई माइकको माध्यमबाट सुन्दर ढङ्गले देखाइसकेपछि उनी भन्छिन् 'मलाई यो गहिरो इनारमा कसले राख्यो?'
अर्को दृश्यमा महिलाको कथा लेखेको दाबी गर्ने दस्तावेज बोकेर आएको लेखक भन्छ 'यो दस्तावेज यत्तिकै मेटिन दिन्नँ।' जबकि उसले त्यसलाई मेट्न नदिएको कुरा धेरैपल्ट नाटकको दृश्यमा तथा अन्य डायलगमा आइसकेको छ।
नाटक आफैंले स्थापित गरेका सुन्दर दृश्य र कथालाई नाटकमै व्याख्या गर्न खोजेर आफैंले कमजोर बनाएको छ। नाटकको अभिव्यक्तिको माध्यम डायलग मात्र हो भन्ने दुविधा कुरुक्षेत्रमा 'अर्को कुरुक्षेत्र' नाटक अभिमन्यु जसरी फसेको छ। सुन्दर तर लामो लुगा लगाउँदा खुट्टा टेकिए झैं नाटक धर्मराउँछ। दृश्यको दर्शनलाई विश्वास नगरेर संवादको दर्शनमा निर्देशक अल्झिएको देखिन्छ।
यति हुँदाहुँदै पनि नाटकले उठाएको विषय गहन छ। महिलाहरू परापूर्वकालदेखि अर्काको अक्षरमा सीमित हुँदै आएको र अरूले जस्तो लेख्यो त्यस्तो हुँदै गएको भन्दै मुख्य पात्रले लेखकसँग विद्रोह गर्छिन्। चर्चित किताब 'सेपियन्स' मा लेखक युभल नोहा हरारीको तर्क छ- प्रकृतिले दिएका चिजबाहेक अरू सबै मानिसले निर्माण गरेका कथा हुन्। ती कथा विभिन्न उद्देश्यका लागि सिर्जना भए। तिनको मुख्य उद्देश्य शासन गर्नु थियो। धर्म, लिङ्गबारेका विभिन्न कथा त्यहीक्रममा बनेका हुन्। प्राकृतिक रूपमा फरक लिङ्ग लिएर जन्मिएका व्यक्तिहरूलाई तथाकथित आइमाई र लोग्नेमान्छे त्यही कथाले बनाएका हुन्।
यो नाटकले पनि यही तथ्य देखाउन खोज्छ। त्यसैले मुख्य पात्रले पटकपटक दस्तावेज लेखकलाई भनिरहन्छिन् 'तिम्रो लेखन सच्याऊ लेखक। मलाई तिम्रो लेखन मान्य छैन।'
यसले समाजमा विद्यमान महिलाले भोगिरहेका समस्या र तिनको संरचनालाई जरासम्म पुग्ने प्रयत्न गरेको छ। त्यसैले पनि नाटकको सुरूआत इनारको फेदबाट गरिएको कुराले गहिरो अर्थ राख्छ। उनी त्यो जन्जालबाट बाहिर निस्किन्छिन्। तर बाहिर अर्को जन्जाल छ। त्यहाँबाट बाहिर निस्किन्छिन्, त्यहाँ पनि उस्तै जन्जाल छ। जन्जालको चक्रीय स्वरूपलाई देखाउँदै नाटकले विगतदेखि वर्तमानसम्म महिलाहरू कसरी पीडित भइरहेका छन् भन्ने कुरा देखाउँछ।
ती महिला पात्रको असीमित र निरन्तर संघर्ष देखाउन उनले बार नाघेको एउटा दृश्य छ। एउटा नाघेर अर्को पारिपट्टि पुग्नासाथ त्यहाँ अर्को बार तयार छ। त्यसलाई पनि नाघेर अगाडि जाँदा अर्को बार आइपुग्छ। र बारको उचाइ क्रमैसँग बढ्दै बढ्दै जान्छ। महिलाहरू यसरी पाइलैपिच्छे सीमित गरिएका छन् भन्ने उक्त दृश्यले देखाउँछ। साथै बढ्दै गएको बारको उचाइ देखाएर निर्देशकले समयक्रम सँगै ती अवरोध र सिमाना घट्नुको साटो बढ्दैबढ्दै गएको बताएका छन्।
नाटकमा प्रस्तुत केही 'इमेज' साह्रै सुन्दर छन्। सारीको बिम्ब सुन्दर छ। त्यसको रङमार्फत सेतो र रातो सारीको 'कन्ट्रास्ट' सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। महिलाहरू सेतो कपडामा उल्टो फर्किएर आफ्नो कपाल फिँजारेर बसेका छन्। सारीको रङ र कपाल महत्त्वपूर्ण बिम्ब हुन्।
मिथकहरूमा पनि कपालको वर्णन धेरै गरिएको छ। द्रौपदीको कपाल, मिडुसाको कपाल, कालीको कपाल, सती देवीको कपाल। इतिहासका महिला पात्रहरूको कपालको वर्णनले विभिन्न खाले भूमिका निर्वाह गरेको छ। र, यसलाई सौन्दर्यसँग जोडेर हेर्ने र त्यो हुँदा र नहुँदाको परिस्थितिलाई राम्रो र नराम्रोको आधारमा तौलिने क्रम पनि उस्तै नै छ।
कपालले महिलाहरूलाई सीमित गरेका छन् भन्ने कुरा देखाउँदै महिला पात्रले 'कहिलेदेखि यो बन्धनमा बाँधिएको हुँ। कहिलेसम्म बाँधिने हुँ?' भन्दै गरेको प्रश्नले यसको समाधान तत्कालै नरहेको पनि देखाउँछ। नाटकले प्राचीन समयलाई वर्तमानमा ल्याएको मात्र हैन भविष्यप्रति संकेत गर्न पनि खोजेको छ।
तर यस्ता दृश्य र इमेजहरूमा रहुन्जेल शक्तिशाली नाटक डायलगमा गएपछि पुनः बिग्रिन्छ। कलाकारहरूले आफ्नो पालो पर्खिएर डायलग भन्न थालिहाल्छन्। दुई पात्रबीचमा भएको चर्काचर्कीमा पनि एउटा पात्रले बोल्दा अर्को पात्रलाई असर पर्दैन। जबकि पर्नुपर्ने हो। पछिल्ला समयमा केही नाटक हेर्दा हामीले आवाजमा धेरै काम गर्नुपर्ने देखिन्छ।
नाटकका धेरै सिन अनावश्यक लामा छन्। क्लाइमेक्सतिर जाँदै गर्दा झन्झन् जबरजस्ती लम्बिँदै गएको थाहा हुन्छ। यहाँ अन्त्य होला भन्ने अनुमान गर्न थालिसक्दा पनि हुँदैन। अझ उठाउन खोजेको विषयमा नाटक सबभन्दा बलियो गरी आउन लाग्दै गर्दा दुई पात्रबीचको रोमान्टिक सिनले लामो समयसम्म स्टेज छाड्दैन।
नाटक सुरूआतको दृश्य लगभग १० मिनेटभन्दा लामो छ। संवाद दोहोरिएका छन्। 'कसले यो बन्द पर्खालभित्र बन्दी बनायो मलाई' दोहोरिन्छ। दृश्यमा नै भन्न सकिने कुरामा पनि डायलग दोहोर्याइनु जरुरी थिएन। नाटक अगाडि बढ्दै जाँदा महिला पात्रले देखाउने शारीरिक गतिशीलता पनि दोहोरिएका छन्। दृश्य एउटै हैनन् त्यसैले तिनमा फरकपना आवश्यक थियो।
कुनै कुनै स्थानमा दृश्यको सेटिङ बुझाउन प्रयोग गरिएका आवाज अनावश्यक लामा छन्। आवाज बजुन्जेल पर्खिएर मात्र दृश्य सुरु हुन्छ जबकि ती दुवै कुरा एकैपल्ट हुन सक्थे।
महिला पात्रले सोधेको 'कसले रच्यो मलाई?' प्रश्न शक्तिशाली छ। उनी त्यही प्रश्न उनलाई रचेको दाबी गर्ने लेखकलाई पनि सोध्छिन्। यो महिलाहरूले समाजको संरचनालाई गरेको प्रश्न हो। उनी आफ्नो कथा आफैं लेख्न चाहन्छिन्। उसको अधीनबाट उम्कन चाहन्छिन्। लेखकलाई भेटेको दृश्य र दस्तावेज च्यातेको दृश्यले यसलाई सांकेतिक रूपमा देखाउँछन्। त्यो दृश्य गहन छ। तर त्यहाँ पुग्न नाटक धेरै अलमलिन्छ। सबभन्दा गहन समयमा विषय समात्ने बेलामा उनलाई प्रेमिल नृत्यमा बहकाइएको छ।
नाटकमा महिला पात्रले प्रयोग गर्ने डायलग 'मोनोलग' हो। तर त्यसको लेखन संरचना र वाचन संरचना मोनोलग जस्तो लाग्दैन। प्रयोग भएका उपकरणहरूका बारेमा कलाकार अझै सचेत हुनु जरुरी छ। बेलाबेला मेटा ड्रामाको स्वरूप पनि मिसिएको छ। मोनोलग प्रस्तुत गरिरहेकी महिला पात्र र मेटा ड्रामाकी अभिनेत्रीमा पनि फरक देखिनुपर्थ्यो। त्यहाँ पनि स्पष्टता देखिँदैन।
नाटक रूपान्तरणलाई हेर्दा दृश्य निर्माण र सम्पादनमा कमजोरी देखिन्छ। संवाद दोहोरिने क्रम नाटकभर चलिरहन्छ। अन्तिमतिर पनि 'मैले चाहेँ भने तिम्रो अन्त्य यहाँ नै गराउने सक्छु' बोलेको लेखक पात्र एकैछिनमा 'तिम्रो मृत्यु मेरो हातमा छ' भनिहाल्छ। यी दुवै डायलगको उद्देश्य एउटै हो। राम्रोसँग सम्पादन भएको भए यसले नाटकलाई कसिलो बनाउँथ्यो।
यस्तै विषयगत रूपमा पनि नाटक अलमलिएको हो कि जस्तो लाग्छ। महिला पात्रले आफ्नो कथा आफैं लेख्छु पटकपटक भनेकी छन्। त्यो नाटकको मुख्य उद्देश्य जस्तो पनि लाग्छ। तर फेरि अर्को स्थानमा उनी लेखकलाई यस्तो नलेखिदिएको, त्यस्तो नगरिदिएको भन्दै बिलौना पनि गर्छिन्। यस्ता ठाउँहरूले नाटक आफ्नो दर्शनमा आफैं स्पष्ट नभएको हो कि जस्तो देखिन्छ।
'अर्को कुरुक्षेत्र' नाटक पर्याप्त कमजोरीसहितको नाटक हो। सबल पक्ष यत्रतत्र भएर पनि यसभित्रैका तत्त्वले नाटक कसरी बिगार्छन् भन्ने उदाहरण भएको छ यो।
नाटक उषा रजकको कमब्याकका लागि महत्वपूर्ण होला तर त्योभन्दा धेरै नेपाली रंगमञ्चका लागि छ। यसले उठाएको विषय गहन छ। तर कमजोर प्रस्तुतिले उल्टै घाटा पुर्याएको छ। र यस्तो समस्या पछिल्लो समयमा धेरै नाटकले भोगिरहेका छन्। बहस गर्न ढिलो हुँदैछ।