त्रेतायुगको कुरा हो। रावणकी बहिनी शुपर्णखाले लक्ष्मणसँग बिहे गर्न चाहिन्। लक्ष्मणले अस्वीकार गर्दा रिसले चूर भई सीतालाई झम्टिन खोजिन्। लक्ष्मणले पनि शूपर्णखाको नाक काटिदिए। रावणलाई असह्य भयो। बदला लिन सीताको हरण गरे। राज्यभर तहल्का मच्चियो।
राम आफ्नी श्रीमती सीतालाई छुटाउन भन्दै भाइ लक्ष्मण र भक्त हनुमानसँगै सेनाको तयारी गर्न जुटे।
बुद्धिमान र शक्तिशाली रावणसँग लड्न रामलाई सजिलो थिएन। आफ्नो राज्यभन्दा धेरै टाढा र नौलो ठाँउमा रहेका रावणका राज्यबारे जानकारी लिन उनले बेलाबेलामा आफ्ना चेलाहरूलाई जासुसी गर्न पठाइरहे। सीताको खबर बुझिराख्न हनुमानको मद्दत लिए।
यसैक्रममा रामले रावणसँग सहमतिमा कुरा मिलाउने खबर पठाए तर रावणले नकारे। यसपछि ठूलो युद्ध हुन पुग्यो।
हिन्दु संस्कृतिका आधारमा लेखिएको रामायण महाकाव्यमा आधारित ‘क्लेशाः’ नाटक तयार पारिएको छ।
प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको मञ्च परिकल्पनामा बनेको क्लेशाः अनामनगरस्थित मण्डला थिएटरमा प्रर्दशन भइरहेको छ। रामायणका पात्रलाई मुख्य पात्रका रुपमा राखेर मञ्चन गरिएको नाटकमा रामायणकै कथा झल्किन्छ।
अज्ञानता, अहंकार, मोह, विच्छेद र डरले जसरी मानव र दानवबीच युद्ध हुन पुग्यो त्यसरी नै अहिले मानव मानवबीच युद्ध भइरहेको कुरा नाटकमा देखाइएको छ। हिन्दु शास्त्रअनुसार क्लेशाःका यिनै पाँच तत्वले निम्त्याएको युद्ध हो रामायण र आजपनि यी तत्व समाजमा भइरहेको विवाद, झैझगडा, मनमुटावका कारण बनेका छन्।
बहिनीप्रतिको मोहले गर्दा रुद्रले न्याय पाउन गरेको लडाइँ, श्रीमतीसँग भएको विच्छेदका कारण देवदत्तमा उत्पन्न भएको डर, अज्ञानता र पदको अहंकारका कारण अनुजले गरेको मुर्ख्याइँ सबै क्लेशाःले जन्माएको हो। मनमा क्लेशाः नहुँदो हो त यी कुनै घटना हुने थिएनन्।
जुन कारणले त्रेतायुगमा रामायण युद्ध भयो त्यही कारणले पञ्चायतकालमा युद्ध भएको कथा पनि नाटकमा देखाइएको छ।
यसैगरी नाटकका दुई पात्र ‘भूमि’ र ‘कान्छी’ले सीता र शूपर्णखाको भूमिका खेलेका छन्।
देवदत्तको बन्दीमा परेकी भूमि, रुद्रले अपहरण गरेपछि स्वतन्त्र महशुस गर्छिन्। समाजसँग घुलमिल हुन खोजेकी भूमिलाई ‘पहिले घरभित्रको काम सिक्नू अनि मात्र समाज बुझ्नू’ भनी रोकिएको हुन्छ। तर जब उनी रुद्रको कब्जामा पर्छिन्, समाजलाई नजिकैबाट नियाल्न पाउँछिन् र आफ्नो टिप्पणी राख्न सक्ने क्षमता विकास गर्छिन्।
देवदत्तले बिहेमा दिएका नौगेडी पोते, चुरा र कानका गहनालाई बोझका रुपमा लिएकी भूमिले त्यसलाई फुकालेर आफूलाई हल्का महशुस भएको बताउँछिन्।
‘यी गहना लगाउँदा मैले तिम्रो आँखाबाट हेरेको हुन्छु तर यसलाई नलगाउँदा मैले समाजलाई हेर्ने दृष्टिकोणमा फरक आउँछ।’
भूमिको यो संवादले उनी देवदत्तको आदर्श र संस्कारमा अल्झिएकी दर्शाउँछ। उनी आत्मनिर्भर हुन सक्दिनन् र उनको निर्णयको कदर हुँदैन। यसले जसरी सीतालाई सुरक्षाका नाममा लक्ष्मणरेखाभित्र सीमित राखिएको थियो, त्यसैगरी भूमिलाई पनि समाजबाट टाढा राखेको देखाउँछ।
सीतालाई घरभित्रै राखिएका कारण उनी राम र लक्ष्मणको भरमा बस्नुपर्यो। रावणले हरण गरेपछि निहुरिएर कमजोर बन्नुपर्यो। उनको शुद्धता जाँच्न गरिएको अग्निपरीक्षाको विरुद्धमा पनि केही बोल्न सकिनन्।
त्रेतायुगदेखि जरा गाडेर बसेको यो पितृसत्तात्मक चलन पञ्चायतकाल आउँदा समेत नहटेको तितो तथ्य नाटकमा प्रस्तुत गरिएको छ।
यसैगरी पदको अहम् भएका ठूला व्यक्तिहरुको चरित्रलाई पनि नाटकमा दर्शाइएको छ। आफ्नी बहिनीको लागि न्याय माग्न जाँदा घरपरिवारको इज्जतमा खोट आउने कारणले प्रधानपञ्च देवदत्तले रुद्रको कुरा वास्ता गरेनन्। जनताको सुखदुःखमा सहयोग गर्न दिइएको पद उनले आफ्नै स्वार्थका लागि प्रयोग गरिरहेको थिए। दुवै राजनितिक र सामाजिक क्षेत्रमा ठूलावडाले सानागरिबलाई पेल्ने चलनलाई देवदत्त र अनुजको पात्र मार्फत देखाइएको छ।
अन्तत, त्रेतायुगदेखि पञ्चायतकालसम्म आउँदा सबै सामाजिक समस्या जस्तातस्तै रहेको देखिन्छ। आजसम्म पनि यी चलन हटेको देखिँदैन। पितृसत्तात्मक समाज होस् वा ठूला माफियाको दमन, कुनै पनि समस्या न्यून भएका छैनन्। र, यी सबैको मुख्र्य कारण मानवको मनभित्र रहेको क्लेशाः हो।
यही विषय समावेश गरेर तयार पारिएको नाटक हो क्लेशाः। जेठ २४ गतेदेखि मण्डला थिएटरमा नियमित मञ्चन भइरहेको यस नाटक असार ८ गतेसम्म मञ्चन हुनेछ।