मनको बह कहाँ पोख्ने? कसरी पोख्ने? दीपकराज विश्वकर्माले गीतमार्फत पोख्न चाहे। तिहारअघिको कुरा, उनलाई आर्थिक समस्याले सताइरहेको थियो। कतैबाट केही मेसो नलागेपछि उनी विरक्तिएका थिए। भएको स्टुडिओ धर्मरधर्मर चलिरहेको थियो।
त्यसबेला उनलाई पैसासँग जोडेर गीत गाएर बह पोख्न मन लाग्यो। सोचेका थिए, एकै टुक्का गाउँछु र टिकटकमा राख्छु।
ए साथी कमाउनु पर्ने पैसा रैछ
यही कुरेर बैश गैछ
आफू भने भन्दै बसेँ जे छ सैछ
हेर्दाहेर्दै आयो अहिले बुढेशकालले घेरी
आफ्नो भने पैसा बाहेक सबैथोक छ फेरी
यति गाएर उनले आइटी इन्जिनियर राजेन्द्र अर्याललाई सुनाउँदै सुझाव मागे।
'राजेन्द्र सरले सधै सपोर्ट गर्दै आउनुभएको छ। उहाँलाई टिकटकमा राखौं भनेर सुझाव माग्दा पूरा गरेर गीत नै बनाउनुहोस् भन्नुभयो,' दीपकले भने, 'त्यसपछि गीत पूरा गर्नतर्फ लागेँ।'
दीपकराजले लगत्तै गीत पूरा गरे। भिडिओको पनि कन्सेप्ट सोचे। तिहारलगत्तै चन्द्रागिरीमा एकदमै सामान्य खर्चमा भिडिओ खिचे। आफैले अभिनय गरे।
तीन दिनअघि आफ्नै युट्युब च्यानलबाट 'बग्यो गण्डकी' शीर्षकमा सार्वजनिक गरे।
बेरोजगार युवाको मनोदशा बोल्ने यो गीतले अहिले टिकटकमा चर्चा बटुल्दै गएको छ। सार्वजनिक तीन दिनमै ४० हजार बढीले टिकटक भिडिओ बनाएका छन्। टिकटक र रिल्समा चर्चा बटुल्दै गएसँगै भिडिओको भ्युज पनि बढिरहेको छ।
दीपकले भने, 'टिकटकमा एकदमै रूचाइदिनुभएको छ, युट्युब भ्युज पनि बढिरहेको छ। अत्यन्तै खुसी छु।'
उनले यो गीत धेरैको वास्तविकतासँग नजिक रहेकाले पनि मन परेको हुनसक्ने आँकलन गरे।
दीपक ११ वर्षदेखि सांगीतिक क्षेत्रमा छन्। यो अवधिमा ३ सय बढी गीतमा संगीत भरे। डेढ दर्जन गीतमा स्वर पनि दिए।
उनको संगीतमा रहेका 'सुनैको दरबार', 'पिउन सुरू गरेपछि', 'मखमली चोली ३' लगायत गीतहरू राम्रो चले। स्वर दिएका गीतहरूले भने सोचेजस्तो चर्चा पाउन सकेका थिएनन्।
'मेरो स्वरले यति चर्चा पाएको अहिले पहिलो अनुभव हो,' उनी भन्छन् '१० हजार मात्रै सब्सक्राइबर्स भएको च्यानलमा ४० हजार बढीले हेर्नुभएको छ। यो मेरो लागि लाखौं बराबरको खुसी हो।'