अदिती श्रेष्ठ मिडियाकी विद्यार्थी हुन् र फोटोग्राफीमा रूचि राख्छिन्। उनी आधुनिक संस्कृति र जीवनको सुन्दरतालाई आफ्नो लेन्समार्फत कैद गर्छिन्।
अदिती तस्बिर खिच्छिन्, त्यसबाटै कथा बुन्छिन्, र कविता लेख्छिन्।
केही समयअघि अदितीले 'निटिङ द पास्ट' शीर्षकमा फोटो-कथा तयार पारेकी छन्।
उनको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
अदितीले आफ्नो फोटाहरूमा ५५ वर्षीया गंगा लक्ष्मी अवालेको कथा प्रस्तुत गरेकी छन्।
गंगाले सानै उमेरदेखि गलैंचा बुनेर खर्च जुटाउन थालेकी हुन्। अहिले पनि उनका हातहरूले बुन्न छाडेका छैनन्। तर अचेल उनी गलैंचा होइन, आफ्नो नातिका लागि स्विटर बुन्छिन्। यसकै साथमा जीवनका विविध आयामहरू पनि बुनिरहेको उनी बताउँछिन्।
चार कक्षासम्मको मात्र औपचारिक शिक्षा लिएकी गंगालाई जीवनले नै अनगिन्ती पाठ पढाएको छ।
उनी भन्छिन्, 'आर्थिक कठिनाइ भएकाले सानै उमेरदेखि ज्यानले सक्ने जति काम गरेर कमाउन थालेँ। जावलाखेलको कारखानामा गलैंचा बुन्न थालेँ। अचेल पनि हात बिसाएको छैन। तर पहिले बाध्यता थियो, अहिले रहरले बुन्छु।'
उनले गलैंचा बुन्दै गर्दा जीवनसाथी भेटिन्।
'हाम्रो जात नमिले पनि मन मिल्यो। जातपातको जटिलता र समाजको विरोधको सामना गर्दै मैले उनलाई आफ्नो जीवनसाथी बनाएँ। मलाई मनको आवाज सुन्न आमाले सिकाउनुभयो। मेरो स्वभाव मेरी आमाकै प्रतिबिम्ब हो,' उनी भन्छिन्।
जीवनको पाँच दशक बिताइसकेकी उनलाई कहिलेकाहीँ जिम्मेवारीहरू भारी लाग्छन्। तैपनि सहर्ष स्वीकार गर्दै हरेक क्षण मुस्कुराउँदै अघि बढिरहेकी छन्।
हेर्नुस् अदिती श्रेष्ठको क्यामराले कैद गरेको उनको कथा 'निटिङ द पास्ट'