एक सय छब्बीस वा त्योभन्दा बढी देश घुमिसकेका नेपाली कति होलान्? थुप्रै हुन सक्छन्। तर, त्यति धेरै घुमेर पनि आफ्ना भोगाइ, अनुभव लेख्ने र तिनलाई सार्वजनिक गर्ने कति होलान्? पक्का छ – धेरै छैनन्।
हो, त्यही श्रेणीमा डा.चन्द्र गिरीको नाम थपिएको छ। केहीअघि सार्वजनिक भएको यात्रा–अभिलेख ‘संसारको सेरोफेरो’ ले डा. गिरीको साहित्यिक लगाव मात्रै देखाउँदैन, घुम्न रूचाउने वा घुमिरहेकाहरूलाई घुमघामका रोमाञ्चक–सकस, अवलोकन–अनुभूतिहरूलाई अरूसँग बाँड्ने हुटहुटी जगाइदिन्छ। त्यो अर्थमा ‘संसारको सेरोफेरो’ लाई हुटहुटीको अभिलेख भने हुन्छ।
कृतिले लेखकसँगै पाठकहरूलाई संसार घुमाउँछ र फरक–फरक प्रकृति, त्यहाँ भेटिने विविधता, पात्र र चरित्रहरूबारे कल्पना गर्ने अवसर दिन्छ। स्तरीय यात्रा–संस्मरणहरूको शक्ति पनि हो त्यो। आफूले देखेका वातावरणीय वा जैविक विविधताबारे लेखकले आफ्नै शैलीमा फुलबुट्टा भरिरहेका बेला पाठकले फरकफरक रङ, आकार र आयतनमा तिनलाई हेर्न, तौलिन सक्छन्। पाठक आफू नपुगेको वा आफूले नटेकेको रोमाञ्चक दुनियाँमा पुग्छन् र त्यहाँको परिवेशमा मानसिक डुबुल्की लगाउँछन्। ‘संसारको सेरोफेरो’ त्यो रोमाञ्च बाँड्न पनि सफल छ।
केन्याको नकुरु तालमा लेखकले लाखौं फ्लेमिङ्गोका उडान र तिनका बयेलीहरू देख्छन्। त्यो पढ्दा पाठकले समेत फ्लेमिङ्गोहरूबाट घेरिएको वा तिनीहरूसँगै हावामा कावा खाइरहेको कल्पना गर्न सक्छ। मोनार्क पुतलीले मेक्सिकोको कुनै निकुञ्जको वनजंगल ढाकिरहेका बेला लेखक त्यहाँ पुगेका छन्। उनले ती पुतलीको चलखेललाई आफ्नै हिसाबले बयान गरिरहेको बेला पाठक आफू स्वयम् लाखौं पुतलीहरूबाट छोपिएको अनुभव गर्न सक्छ। यसरी डा. गिरीको लेखाइमा पाठकलाई आफू सँगसँगै डोर्याउने सामथ्र्य समेत भेटिन्छ।
कुनै बेला हजुरबाको दौराको फेर समातेर खोटाङका डाँडाकाँडा चहार्थे डा. गिरी। उनी बग्दै गए। पाएका अवसरलाई सम्हाल्दै, सँगाल्दै गए। छोरीलाई ‘भक्तप्रसाद भ्यागुतो’ को कथा सुनाउँदै यात्रामा प्रेरित गर्ने उनी समयक्रममा आफै यात्री बने र ६ महादेशका थुप्रै भूभाग टेके। त्यो क्रममा उनले सँगालेको एउटा महत्त्वपूर्ण ज्ञान हो –‘घुमघाम जीवनको सिकाइ हो।’ घुम्दै जाँदा उनी कतै गँजडीहरूको अखाडामा पुग्छन्, उनीहरूमा निश्छलता देख्छन् र भन्छन्, ‘गाँजा खाने मान्छे इमानदार हुँदा रहेछन्।’
यात्रामा अत्यन्त खुसी भएको बेला उनलाई लाग्छ, ‘खुसी सरूवा रोगजस्तै हो। छेउछाउका मान्छेहरूमा सरिहाल्छ। त्यो खुसीले सकारात्मक सोच ल्याउँछ र मन आनन्दित हुन्छ।’
अनि पहाड चढेको, डाँडाकाँडाले लोभ्याएको बेला उनको ठम्याइ हुन्छ, ‘मेरा लागि पहाडको आध्यात्मिक वा धार्मिक अर्थ छ। म पहाडलाई शक्ति, स्थिरता वा ईश्वरीय शक्तिको प्रतीक र पवित्रस्थलका रूपमा चिन्छु अनि सम्मान गर्छु।’
अनुसन्धान र प्राज्ञिक/प्राविधिक लेखनमा विश्वले चिनेको नाम हो डा. चन्द्र गिरी – अन्वेषक/प्राध्यापक/वरिष्ठ वैज्ञानिक।
वातावरणविद्हरूको दुनियाँमा ‘फादर अफ म्याङ्ग्रोभ म्यापिङ एण्ड मोनिटरिङ’ मानिन्छन् उनी। अहिले अमेरिका बस्छन्। घुमघामका अवसर उनको कामको प्रकृतिले समेत जुराइरहन्छ। त्यसको भरपुर उपयोग गर्छन् र प्राज्ञिक दुनियाँभन्दा बाहिरको संसारलाई समेत अनेकौं कोणबाट निफन्छन्।
‘संसारको सेरोफेरो’ पढ्दै जाँदा देखिने अरू तथ्यहरू हुन्– उनी खानाको शौखिन छन्, रसपानमा पनि उत्तिकै लगाव छ। यात्राका क्रममा थरीथरीका माछा, गगँटा चप्काएका कुरा उनले जे जसरी बयान गरेका छन्, त्यो पढ्दा पाठकको मुख रसाउँछ।
उनी जहाँ पुग्छन्, म्याङ्ग्रोभ र तिनका अवशेष खोज्छन्। मुम्बईको सुकुम्बासी बस्ती धारावी पुग्दा अरूले मान्छेको भिडभाड वा अरू विविधता देख्लान् तर उनी त्यहाँ पनि कुनै बेला म्याङग्रोभको जङ्गल भएको तथ्य कोट्याउँदै त्यसकै बेलिबिस्तार लगाउँछन्।
डा. गिरीको लेखाइमा देखिने सबभन्दा उल्लेख्य पक्ष हो – भएको कुरा नलुकाई भन्न सक्ने निर्भीकता।
निजी, नितान्त व्यक्तिगत कुरा समेत ढाकछोप नगरी भन्न सक्ने साहस। लेखकीय इमानदारी। यो कृतिमा पनि त्यो इमानदारी उस्तै र उत्तिकै देखिन्छ। उदाहरण हो – ‘मैले देखेको थाइल्याण्ड’। त्यतैको वर्णनका क्रममा उनी भन्छन्, ‘बैंककको प्याटपोङ जाने हो भने वालेट नबोकी थोरै पैसा मात्र बोकेर जानू।’
‘बब मार्लीको देशमा’ लेखकभित्रको सङ्गीतप्रेम जुर्मुराउँछ। उनी त्यहाँको हावा, माटो र आकाशमा समेत सङ्गीत अनुभूत गर्छन्। ‘मनमोहक मसाइमारा’ मा रूखका हाँगाहाँगामा चितुवा देखिएको अनुभव सुनाउँदै ‘वन्यजन्तु रोड शो’को लोभलाग्दो बयान गर्छन्।
‘अविष्मरणीय अरुबा’ मा मान्छेका रूचि र खुसी नियाल्छन्। ‘इदी अमिनको देशमा...’ आफूलाई औधी मन पर्ने जिराफलाई खाना खुवाउँदै पटक पटक मुसार्छन्, स्नेह देखाउँछन्। क्यान्कुन पुगेर मायान सभ्यताको इतिहास केलाउँछन्। क्यारेबियन सागरको क्रुज यात्राका अविष्मरणीय सम्झनाको बयान टुंगिन नपाउँदै पाठकलाई टापु टापुमा देवताको बास भएको मानिने बाली पुर्याउँछन् र त्यहाँका हिन्दुहरूको दार्शनिक अवधारणा ‘त्रि हिता कराना’बारे व्याख्यान दिन्छन्।
‘मनमा बसेको माल्दिभ्स’, ‘पनामा नहर, घुम्ने रहर’, ‘डेरियन ग्यापको डरलाग्दो कथा’, ‘सिंह नभएको सिंहपुर’ ‘फेरि फेरि अलोहा’, ‘मध्यरातको घामसँगै अलास्का क्रुज’ लगायतका संस्मरणले स्थानविशेष/घटनाविशेषको जानकारी मात्र दिदैनन्; विकास र संभावनाका अनेकौं आयामहरूको चिरफार गर्छन्।
डा. चन्द्र गिरीजस्ता गम्भीर घुमन्तेहरूले यसरी लेखिदिन्छन् र त हामीलाई थाहा हुन्छ – हाम्रा किम्बदन्तीहरूमा नेपालतिर इन्द्रले पानी पार्छन्, दक्षिण भारततिर त्यही काम बरूण देउताले गर्छन्। हामीतिर वा हाम्रो भेगमा प्रचलित रामायणमा रावणले सीताको हरण गर्छ। थाइल्याण्डमा त्यही काम ‘तोसाकन्थ’ ले गर्छ।
‘संसारको सेरोफेरो’ का कतिपय संस्मरण साहित्यिक शिल्पका हिसाबले अब्बल नमानिएलान्, केही अधुरा–अपुरा पनि लाग्लान्, केहीमा आवधिक क्रमबद्धता पनि नदेखिएला तर जे जति, जे जसरी आएका छन्, इमानदारीसाथ आएका छन्। र, आउँदा दिनमा लेखकको कलमले अरू गति लिने संभावनाका साथ आएका छन्।
साहित्यमा अत्यधिक प्रयोग हुने शब्दावली हो – चरैवेती चरैवेती। यसको आशय हो– हिँडिरहू, निरन्तर हिँडिरहू। यसरी हिँडिरहने र लेखिरहने मान्छेलाई नथाकी लेखिरहन आग्रह गर्नु पनि अब अन्यथा नमानिएला।
लेखाइ व्यञ्जन हो। स्वादिला व्यञ्जन जति खायो, उति भोक जाग्छ। डा. चन्द्र गिरीले यो कृतिमार्फत् हामीलाई अझै भोको बनाएका छन्। उनका घुमाइका अनुभवहरू यसमा भएका ३६ संस्मरणमा पक्कै सिद्धिएका छैनन्। ती लेखिनुपर्छ। डा. गिरीले भोजन चखाइसकेका छन्, अब उनी भान्साबाट भाग्न वा थाक्न पाउन्नन्। त्यो हाम्रो अपेक्षा हो, सद्भाव पनि हो।