जीवन सुख दु:खको सङ्गम हो। जसरी समयको चक्र फेरिन्छ, ऋतु फेरिन्छ दु:खपछि सुख, सुखपछि दु:ख आइरहन्छन् निरन्तर। त्यसैले हाँसो र आँसुको सम्मिलन जीवन हो। यिनै जीवन भोगाइले कथा जन्माउँछन्। मनको अन्तरकुनामा जीवन भोगाइका यिनै संवेदनालाई ह्रदयको कुनाबाट कलमका माध्यमले कागजमा उतार्ने कथाकार हुन् अशोक थापा।
आजभोलि प्रविधिले विश्वलाई एउटा गाउँ बनाएको छ। निमेष भरमा सूचना मान्छेका हात हातमा पुग्छन्। कथा संग्रह 'सन्तापको धून' विमोचन हुँदैछ भन्ने सूचना मेरो हातमा पर्यो। शनिबारको संयोग म त्यस कार्यक्रममा पुगेँ।
पुरानो परिचय रहेका थुप्रै साथीहरूसँग भेट हुने अवसर पनि पाइयो। केही नयाँ साथीहरू पनि बनाएँ। उसो त मेरो अन्तरमुखी स्वभावले म झ्याप्प कसैसँग बोल्दिनँ। साथी बनाउने मामलामा पनि म कमजोर नै छु। खैर त्यो दिन धेरै विद्वान व्यक्तिहरूलाई भेट्न र सुन्न पाइयो।
वक्त्ताहरूको टिप्पणी सुन्दा नै कति बेला किताब पढुँ जस्तो भएको थियो। ज्ञानु पाण्डेले गर्नुभएको टिप्पणीले त झन् मेरो मन बेचैन नै भएको थियो। किताब किनेर आएँ। गृहिणीको जागिर आउँदा आउँदै किताब खोल्न पाइनँ। भोलिपल्ट एकै बसाइमा कथा संग्रहका १३ वटा कथा पढेँ। १३ वटै कथामा समाजका सन्तापहरू बिस्कुन सुकाएजस्तो पाएँ।
आफ्नै आँखाले देखेका समाजका विभिन्न पात्रहरूसँगको पुनर्मिलनले कतै मन अमिलो भयो, कतै मन धमिलो भयो। कतै कथा जस्तो, कतै सिङ्गो जीवनको काव्य जस्तो, ताप र दु:ख पनि कति जीवन्त।
'दु:ख बाजा बजाएर आउँदैन' आमाले भनिरहनु हुन्छ। पहाड जस्तो ठिङ्ग उभिएको दु:ख, त्यो दु:खका कथाले मात्र ताप दिँदैन। हाम्रो समाजका सजीव पात्रहरूका तस्वीर खिचिच्क पारेर पस्कन्छ। उ बेलाका रिलवाला क्यामेराले खिचेका फोटो र काला रिलमा कैद यादहरू जस्तै कतै चिने चिने जस्तो, कतै देखे भेटे जस्तो हाम्रो आफ्नै सेरोफेरो र परिवेशले जन्माएको कथा हो 'सन्तापको धुन'।
हामी हुर्केको समाज त्यस्तै थियो, त्यस्तै छ। सेती नदीले गर्भ भित्रभित्रै सयौं लिटर पानी बगायो। बालापनमा हामी खेले हुर्केको कञ्चन फेवा, व्यक्तिका निजी स्वार्थका चपेटाले धुमिल भैसक्यो। अन्याय र अत्याचारका फेहरिस्त पनि उस्तै त छैनन् तर व्यवस्थाले जनताका अवस्थामा तात्विक भिन्नता ल्याएको अनुभुति खै?
आमैले कामी किस्नेको कथा भन्दै गर्दा फिर्केका किनारमा फैलिएको सुकुम्बासी वस्तीलाई मैले झलक्क सम्झिएँ। मैले सम्झिएँ सुदूर गाउँका ती किस्नेहरू जो विभेदको चपेटामा आज पनि निरीह जीवन बाँच्न विवश छन्। आरनका गोला के बरु फलाम पग्ल्यो, पगाल्यो तर जडबत मान्छेको मन किन पग्लेन आजसम्म? मान्छेका दु:खले, पीडाले मान्छेलाई किन छोएन? (सन्तापको धून १२१)
अशोक थापाले लेखेको भाषा दुरुस्त पश्चिम तिरको जस्तो लाग्यो। कथामा प्रयुक्त भाषा गण्डकी अझै भनुँ पोखरा सेरोफेरोको आञ्चलिक सुगन्ध छ। बुझ्दै जाँदा लेखकको थाकथलो पोखरा नै रहेछ। मैले बिताएको पोखराको बाल्यकाल र बोलेका शब्दहरू जस्ताको तस्तै पढ्न पाएर मन हर्षित मात्र भएन बाल्यकालका बिठ्याइ र बिडिङ्गोका कथाहरू समेत सररर ताजा भएर आए।
'केटा मान्छे भएर नि केटाका बारेमा लेख्न नसक्ने' (निर्दोष भूलहरू ९८)। समाजमा, घर परिवारमा दिन दिनै घट्ने, घटिरहेका स-साना कुरालाई मिहीन ढङ्गले कुदेर बनेको कथा शिल्प अनुपम छ। समाजमा तेस्रो दर्जा दिइएको भनिएका महिला पात्रहरूका कारुणिक कथा त धरै पढियो तर तिनै महिलालाई नायक बनाएर बुनिएका कथाहरूले दिने सन्ताप सारै मन छुने छ।
समाजमा परिवर्तन त भएकै छ। पहिला पहिला जस्तो स्वास्नी मान्छे घरका चार घेरामा सीमित हुनुपर्ने अवस्था त पक्कै छैन तर पुरुष सत्ताले जकडेको मानसिकता झट्टै परिवर्तन हुँदैन, समय लाग्छ। समयले सबै देखाउँछ पर्खने धर्यता हुनुपर्छ। जो कर्ता हो उसैले भोग्नु पर्छ। तर एउटी महिला किन अरुको कर्मको फल भोग्न विवश हुन्छे? पछिल्लो दशकमा निकै फस्टाएको वैदेशिक रोजगारी र त्यसले निम्त्याएको पारिवारिक समस्याको कथासँगै महिलाको अन्तरङ्ग कथा र छटपटीलाई 'विर्यदान' कथाले प्रस्तुत गरेको छ।
सुन्दरताको मानक के हो? कोकाकोलाको बोतल जस्तो शरीरको संगठन, हरिणका जस्ता गाजलु आँखा, पुष्ट छाती, अनार जस्ता मिलेका दाँत, सेतो छाला भएको अनुहार, पिपलपाते ओठ आदि आदि। समाजमा स्थापित सुन्दरताका यी बजारिकृत मानकहरूले कसरी महिलालाई वस्तु बनाएका छन्। जसरी बजारमा बिक्रीमा रहेको एउटा वस्तुको विनिमय हुन्छ, महिलालाई पनि विनिमयका वस्तु बनाइएको छ। एउटा सुन्दर आत्माको सुन्दर मनोभावलाई आखिर किन सुन्दर देख्दैन समाज?
'खुशी भएर आमाको मुख हेर्न धेरै कुरा चाहिदाँ हुन् सायद... मेरी आमाको मुखाकृति पूर्ण रुपमा बिर्सन चाहान्थेँ। उनको त्यो डढेको उजाड अनुहार जसरी पनि भुल्न चाहान्थें।' (डढुवाई आमा १०) समाजमा किन अभिसप्त जीवन बाँच्न विवश छन् महिला? बाँच्नको लागि कालो कपडाको बुर्का लगाउनु पर्ने कस्तो विडम्बना हो? (गाजल बेच्ने केटी ६७) सुन्दरता सापेक्ष हुन्छ। कुनै कुरा आफैमा सुन्दर वा कुरुप हुँदैन।
'फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार' आनी छोइङ्ले गाएको गीत झलक्क सम्झिएँ। सुन्दरता दृष्टिमा हुन्छ वस्तुमा हुँदैन।
सन्तापको धूनमा दु:ख छ, ताप छ। यस कथा संग्रहमा जीवन र दर्शन छ। मैले अशोक थापालाई त्यही पुस्तक विमोचन कार्यक्रममा पहिलो पटक चिनेकी हु। 'सन्तापको धून'मार्फत नै पहिलो पटक पढेकी हुँ। हुन त अध्यापक मान्छे, पेसाको परिवेशले पनि कथाकारलाई अब त लेख्दिनँ भो भन्ने छुट छैन। यस्ता राम्रा कथाका सर्जकलाई हामी पाठकले पनि कलम रोक्न कहाँ पो दिउँला र?
गोविन्दराज भट्टराईले भनेजस्तै अशोक थापा नेपाली साहित्यको आकाशमा अपार सम्भावना बोकेका सर्जक हुन्। साहित्यिक उन्नयनको हार्दिक शुभकामना।