आजकल कविहरू जहाँतहीँ भेटिन्छन्। कवि हुन सजिलो छ, केही शब्दहरू वा भावहरूलाई इन्टर दिई-दिई लेख्दा हुन्छ। छाप्न पनि सजिलो छ, कविता भनेर पठाउनुस् तपाईं सजिलै छापिनु हुन्छ। अथवा मेलोड्रामाटिक भएर केही लयमा बोल्नुस् तपाईंको नाम जताततै फिजिनेछ। तर कविताझैँ कवि हुनेहरू यो सहरमा गुमनाम छन्। सायद सहरले कविताको मौनतालाई बुझ्दैन। वा भनौँ सहर कविहरूको मौनताप्रति बेखबर छ।
आज म कविताझैँ लाग्ने एक कवि बारे बोल्दैछु। कविहरू प्रेमिल हुन्छन्, उनीहरू बारे हल्ला गर्नु प्रेमिलताको नियमलाई तोड्नु हो। सायद नियमहरू तोड्नकै लागि बनेका हुन्। नियमको सुन्दरता त्यसलाई तोड्नुमा पो छ कि? आज त्यही गर्दैछु।
प्रसन्न घिमिरे मेरो लागि कवि र कविता दुवै हुन्। उनी हल्ला गर्दैनन्, शब्दमा निःशब्दता खोज्छन्। कविता शब्दहरूको कोलाहाल होइन। कवि कुनै हाट बजार चिच्याउने नटकी पनि होइन। कवि शब्द र भाव दुवै हो। जब शब्दहरूको कोलाहलमा कवि फस्छ तब कवि कवि रहँदैन। कविता कविता बन्दैन।
मलाई लाग्छ सहरले उनलाई विरलै चिन्छ। सहरले कोलाहललाई सुन्छ, यहाँ चिच्याउनेको कमि पनि त छैन। थाहा छैन 'मिझोर' लेखेपछि उनी कहाँ हराए? सहरले उनलाई खोज्दैन वा उनी चिच्याउन जान्दैनन्। दुवै हुनसक्छ। उनी बेखबर छन्।
उनको पहिलो कृति थियो 'र निःशब्द' जहाँ उनले शब्दमार्फत निःशब्दता बोले। उनी भिडमा भेटिँदैनन्। र भिडभन्दा पर ७४ मा 'मिझोर' लिएर आए। कविताका पाठकको लागि मिझोर एक सुन्दर उपहार थियो। उपहार दिएपछि उनी फेरि पर भागे। गर्नु नगर्नु गर्छौ यार! घृणाको ठूलो समुन्द्रमा प्यारको सानो डुङ्गा चलाएर भन्दै भागे।
उनका कविता उनीजस्तै भिडभन्दा बिल्कुल अलग छन्। उनका कविता भिडमा पुग्दैनन्, उनको कविताको यात्रा उनकोझैँ शब्दहरूमार्फत गरेको निःशब्दताको यात्रा हो। उनले कवितालाई पनि आफ्नै लयमा लेखे। उनले लेखेझैँ अरु कसैले लेखेनन्। उनी भन्छन्, 'जिन्दगी हो यो, जिन्दगी यसलाई यस्तो-उस्तो जुनसुकै फेसन बनाएर चलाउँदा हुन्छ।'
कविताको उनको फेसन पनि त्यस्तै छ। उनले लगाएको कविताको फेसन दिनहुँ बजारमा भेटिने कविताको फेसन होइन। उनी आफ्नै फेसनमा हिँड्ने कवि हुन्।
प्रसन्नको कविताको शिल्प नियाल्दा यस्तो लाग्छ यी कुनै मोक्ष आवाजहरू हुन्। उनी वैराग्यतामा पनि प्रेमिलता भेट्छन्। र प्रेमिलतामा पनि वैराग्यता। उनी नियममा बाँधिँदैनन्। शिल्पमा चुक्दैनन्। उनी प्रेममा झैँ कवितामा पनि सही र गलतका पर्खालहरू देख्दैनन्। उनी सजिलै भनिदिन्छन्-
भन्नु के सबै कुरा भन्नु
बिन्ती माया गर्छु नभन्नु
उनी कवितामा प्रेमको लागि जुनतारा झार्ने कुरा गदैनन्, विछोडको नाउँमा अलापविलाप गर्दैनन्। हुनसक्छ उनका कविता कुनै सन्त आत्माको आत्मालेखन हो।
उनका कविता यात्रामा भोगेका तर कहिल्यै बुझ्न नखोजेका मानव आयामझैँ लाग्छन्। उनी लेख्छन्-
यस्तैमा, यस्तैमा
भर्खर आँखामा आएकी तिमी पनि पो गइसकिछौ
जानू जिन्दगी, जानू
तिमी पनि यसै गरी जानू
यात्राझैँ उनका कविताले पनि बेलाबखत रमाइलो रोमाञ्चकता थपिदिन्छन्। यस्तो लाग्छ ती कविताहरू जीवनमा अनायासै मिलेका सप्राइजहरू हुन्।
उनका कविताहरू बिम्बको पुनरावृत्तिमा अड्किएका क्लिसेहरू होइनन्। ती त शिल्पको यात्रामा निस्केका रंग र रेखाहरू हुन्। जब कविता कुनै चित्रझैँ मूर्तता र अमूर्तताभन्दा पर पुग्छ तब त्यसले गर्ने यात्रा मौनताको यात्रा हो। उनका कविताले त्यही यात्रा गरेझैँ लाग्छ। शिल्पको यात्रामा निस्केका यायावरझैँ यिनीहरूले मानव अनुभूतिका पत्रहरूलाई सजिलै छिचोलिदिन्छ।
उनी भन्छन्-
जता जेमा पनि अर्थ उघाएर
अल्झिन्छौ तिमीहरू
बल्झिन्छौ तिमीहरू
जब देख्छु तिमीहरूलाई, एकदम बेवकूफ देख्छु।
उनी अनुभूतिलाई अर्थसँग जोड्दैनन्। सही र गलत भनेर ठोकुवा गर्दैनन्। यस्तो लाग्छ उनका कविता मानव अनुभूतिका उज्याला क्षितिजहरू हुन्।
रगत नबगेको त्यो चोट छ
त्यो बतास छैन
जानेहरू किन यस्तो गर्छन्?
नजाने चोट
छाडी जान्छन्।
कविहरू छोडिजानेका बारेमा साह्रै गुनासो गर्छन्, कति त गाली दिन पनि पछि पर्दैनन्। संसारमा बिछोड असाध्यै धैरै बिक्छ, कविहरूमा पनि त्यो बिक्ने रोग नदेखिएको होइन। तर उनले विछोडलाई मिहीनताका साथ प्रस्तुत गर्छन्। यसरी प्रस्तुत गर्छन् लाग्छ जानेहरूसँग गुनासो गर्न सकिएला तर गाली होइन। छोडी जानेको उज्यालो क्षितिजबारे उनी सधैँ नतमस्तक हुन्छन्।
अहिले कविता भनेर लेख्नेहरू भेट्न सजिलो छ। कवि बन्न पनि सजिलो छ। सामाजिक सञ्जाल छिर्नुस्, हरेक सयमा दश कविझैँ लाग्छ। तर यो कविताको जंगलमा कविता नै लेख्नेहरू र कविझैँ बाच्नेहरू कति छन् छुट्टाउन गाह्रो छ। तर प्रसन्न घिमिरे त्यस्ता कवि हुन् जो कविताको जंगलमा हराउँदैनन्। जो हल्लामा पनि मौनता बोकेर हिँड्छन्। यसरी निःशब्दतामा रमाइदिन्छन्, यस्तो लाग्छ उनी कविता लेख्नकै लागि मौन बसिदिन्छन्।
जब कविताले मौनताको क्षितिज पार गर्छ र निःशब्दतामा शब्द बोलिदिन्छ तब कवि कवि मात्र रहँदैन, ऊ कुनै अमूर्त चित्रको रंगझैँ निराकार र आकार दुवै बन्न पुग्छ। कहिलेकाहीँ लाग्छ प्रसन्न छिमिरे त्यस्तै केही हुन्। उनका कविताले आन्दोलनमा बोलिने शब्दहरूझैँ आगो ओकल्दैनन्। न उनी चिच्याउँछन् न उनका कविताले चिच्याएर कसैलाई सम्बोधन गर्छन्। लाग्छ उनको कविता यात्रामा नसुनेर पनि सुनेझैँ लाग्ने भावनाको गहिराइबाट निस्केका मौन सिम्फोनीहरू हुन्।
जब कविता शब्दभन्दा पर पुगेर आवाज जस्तो र आवाजभन्दा पर पुगेर ध्वनी जस्तो बन्छ तब कविताको यात्रा मोक्षको यात्राझैँ लाग्दो रहेछ। सायद उनी शब्दबाट भाव र भावबाट मुक्तिको यात्रामा छन्। मुक्त हुन सजिलो छैन, हामी मायाजालको सांसारिकतामा जेलिएका छौँ। तर कवि साँच्चीकै कवि तब बन्छ जब यी बन्धनबाट मुक्त हुन सक्छ वा यी सबै मायाजाललाई अलि परबाट हेरिदिन सक्छ।
उनी भन्छन्-
उहिल्यै उहिल्यैको कुरा
कति गर्छौ? छोड न
खसेको सिक्काको हिसाब गर्न
छोड न।
उनी जीवनका स-साना अनुभूतिहरूलाई उत्सवझैँ मान्छन् तर ती अनुभूतिसँग जेलिँदैनन्। उनी एक कोस दूरीबाट तिनीहरूलाई हेरेर रमाइदिन सक्छन्। कविको रुपमा उनको यो खासियत शिल्प र खुबी दुवै हो। यसले उनका कृतिहरूलाई विशेष बनाएको छ।
धेरै फूलहरू झार्ने त्यो बतासलाई
लागेको होला के-के न गरेँ
भनिदिनू उसलाई भनिदिनू
फूल एउटा फूलाएर देखाइदिनू
कविले देखाउने संसार भनेको कोमलताको संसार हो। भिडझैँ कवि पनि भिडनै बोल्न थाले कवि कवि रहँदैन, कविता कविता बन्दैन। कविताको मैफिल भिडको जंगल होइन, त्यो त भिडमा पनि अलग सुनिने एक शान्त आवाज हो। उनका कवितामा त्यो आक्रोश भित्रको शालीनता सधैँ भेटिन्छ।
यो मैले प्रस्तुत गरेको आलेख कविको मौनताप्रतिको शब्दमार्फत गरेको मौन प्रेम हो। यी शब्दहरू, मैले देखेको कविको काब्य खासियतको एक रुमानी यात्रा हो, यो उनका शब्दहरूलाई देखेर प्रस्तुत गरिएको एक अवलोकनजन्य विश्लेषण हो। म उनलाई देखेर पनि भेट्न चाहन्नँ, भेटेर पनि बोल्न चाहन्नँ।
मलाई सधैँ लाग्छ कविहरूलाई टाढैबाट प्रेम गरेको राम्रो, बुझ्नका लागि त कविता नै काफी छ। कविहरू अमूर्त चित्रझैँ हुन्, उनीहरूको रंग टाढैबाट सुन्दर देखिन्छ। र पनि एकाएक उनी हराएकोमा पाठकको रुपमा मेरो सधैँ गुनासो छ। यो लेख मेरो प्रिय कविको नाममा हुलाकमा छोड्दा पनि हुने एक पाठकपत्र हो, एक पाठकको प्रेमपत्र।