‘भन्दिनू तिनलाई म आउँदैछु, आफ्नो केजिएफ फिर्ता लिन।’
यो बिहीबार रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजिएफ–२’ मा अभिनेता सञ्जय दत्तको संवाद हो।
रिलिज भएको पहिलो दिन नै सिनेमा हलहरूमा धूम मच्चाइरहेको केजिएफ–२ को चर्चा नेपालमा पनि कम छैन। नेपाली दर्शकहरू यो फिल्म हेर्न यस्तरी धुइरिए, सिनेमा हलहरूले चाप थेग्न बिहान ७ बजेदेखि बेलुकी ११ बजेसम्मको शो राखे। केही सिनेमा हलमा त राति ३ बजेको शोसमेत छ।
यसरी एकाबिहानैदेखि मध्यरातसम्म शो राखिएको नेपालको सिने इतिहासमै पहिलोपटक हो।
कन्नड सुपरस्टार यशको मुख्य भूमिका रहेको यो फिल्ममा सञ्जय दत्त, रवीना टन्डन, प्रकाश राज लगायत पनि महत्वपूर्ण भूमिकामा छन्।
मूल रूपले कन्नड भाषामा बनेको यो फिल्मको पहिलो भाग सन् २०१८ डिसेम्बर २१ मा कन्नड, तेलुगू, तमिलसहित हिन्दी भाषामा समेत रिलिज गरिएको थियो। भारतभरि फिल्मको खुब तारिफ भयो। त्यति बेलैदेखि दर्शकहरू यसको दोस्रो भाग हेर्न लालायित थिए।
अहिले जुन स्तरमा केजिएफको क्रेज छ, के त्यही स्तरमा यसको वास्तविक कथाबारे दर्शकहरू जानकार होलान्?
के तपाईंलाई केजिएफको वास्तविक कथा थाहा छ? के हो केजिएफ भनेको? यो फिल्म फगत कल्पना हो कि यसको कथा वास्तविक घटनामा आधारित छ?
आज यो स्टोरीमा हामी तपाईंहरूलाई केजिएफसँग जोडिएका केही वास्तविक तथ्य बताउने छौं।
केजिएफको इतिहास
केजिएफको पूरा अर्थ ‘कोलार गोल्ड फिल्ड्स’ हो। यो भारतको कर्नाटकबाट दक्षिणपूर्वी क्षेत्रमा रहेको एक विशाल सुन खानी हो। दक्षिण कोलार जिल्लाबाट करिब ३० किलोमिटर दुरीमा यो सुन खानी छ।
बेंगलुरू सहरभन्दा पूर्वमा रहेको बैंगलोर–चेन्नई एक्सप्रेस वेबाट सय किलोमिटर दुरीमा केजिएफ नगर छ। न्यूज वेबसाइट ‘द क्विन्ट’ ले आफ्नो एक रिपोर्टमा केजिएफको शानदार इतिहास वर्णन गरेको छ।
उक्त रिपोर्टअनुसार सन् १८७१ मा न्युजिल्यान्डबाट भारत आएका ब्रिटिस सैनिक माइकल फिट्जगेराल्ड लेवेलीले बेंगलुरूमा आफ्नो निजी घर बनाएका थिए। शान्त ठाउँ खोजेर बनाइएको त्यस घरमा उनी धेरैजसो समय किताब पढेर बिताउँथे।
यसैबीच उनले १८०४ मा एसियाटिक जर्नलमा छापिएको चार पृष्ठको लेख पढे। उक्त लेखमा कोलारमा पाइने सुनबारे उल्लेख थियो। यही लेख पढेपछि कोलारबारे माइकल फिट्जगेराल्डको रूचि बढेर गयो। उनी यस विषयमा प्रकाशित अन्य सामग्रीहरू खोजी–खोजी पढ्न थाले।
कोलारबारे अध्ययन सामग्रीहरू पढ्ने क्रममा ब्रिटिस सरकारका लेफ्टिनेन्ट जोन वारेनको एउटा लेख माइकल फिट्जगेराल्डको हात पर्यो। यसबाट प्राप्त जानकारीअनुसार सन् १७९९ मा भारतको श्रीरंगपट्टनममा भएको लडाइँमा अंग्रेजहरूले टिपू सुल्तानलाई मारेपछि कोलार आसपासका इलाकामा आफ्नो कब्जा जमाएका थिए।
त्यसको केही समयपछि अंग्रेजहरूले कोलार आसपासको धेरै जमिन मैसुर राज्यलाई दिए। कोलारको जमिन भने सर्वेक्षणका लागि भन्दै आफैंसँग राखे।
सुनको खोजी
अंग्रेजहरूले कोलारको जमिनमा सर्वेक्षण गर्न खोज्नुको उद्देश्य त्यहाँ भएको सुन खानी दोहन गर्नु थियो। सुन खानी कोलारको ठ्याक्कै कुन ठाउँमा छ भन्ने चाहिँ उनीहरूलाई थाहा थिएन।
त्यति बेलासम्म त्यस इलाकाका बासिन्दा हातले खनेर नै जमिनको गर्भबाट सुन निकाल्ने गर्थे। त्यसैले सुन खानीको यकिन जानकारी कसैले दिन सक्थे भने त्यो कोलारका स्थानीयले मात्र दिन सक्थे।
यही बुझेर ब्रिटिस सरकारका लेफ्टिनेन्ट जोन वारेनले सुन खानीबारे जानकारी दिनेलाई इनामको घोषणा गरे।
उक्त घोषणाको केही दिनपछि नै कोलारका ग्रामीण बासिन्दा लेफ्टिनेन्ट वारेनलाई भेट्न आए। उनीहरू गोरूगाडामा चढेर आएका थिए। उनीहरू चढेको गोरूगाडाको पांग्रामा कोलार इलाकाको माटो टाँसिएको थियो।
ती ग्रामीण बासिन्दाले गोरूगाडाको पांग्रामा टाँसिएको माटो पानीले पखाले। यसरी पखाल्दा माटोको बीचबीचमा सुनका पहेँला कणहरू चम्किए।
वारेनले त्यसपछि जाँचपड्ताल सुरू गरे।
उनले आफ्नो छानबिन क्रममा के पत्ता लगाए भने, कोलारका बासिन्दा जुन तरिकाले हातले खनेर सुन निकाल्छन्, त्यो तरिकाबाट समय पनि धेरै लाग्थ्यो र धेरै ठूलो परिमाणको माटो छानेपछि निकै थोरै सुन प्राप्त हुन्थ्यो।
हातले माटो खनेर र हातैले छानेर सुन निकाल्ने ग्रामीण शैली आर्थिक रूपले सम्भाव्य थिएन। तर स्थानीयले प्रयोग गर्दै आएको परम्परागत शैलीमा आधुनिक कौशल र प्रविधि मिसाउने हो भने कम समयमै ठूलो परिमाणको सुन निकाल्न सकिने कुरा वारेनले बुझे।
लेफ्टिनेन्ट वारेनको यस्तो रिपोर्टपछि १८०४ देखि १८६० बीच कोलार इलाकामा खुब धेरै अनुसन्धान र सर्वेक्षणहरू गरिए। तर सफलता हात लागेन।
कोलारमा सुन छ भन्ने थाहा हुँदाहुँदै त्यो ठ्याक्कै कहाँ छ भन्ने पत्ता लगाउन वारेन असफल भए।
यति मात्र होइन, त्यो अनुसन्धान र सर्वेक्षणका लागि जमिन खन्ने क्रममा थुप्रै व्यक्तिले ज्यान गुमाए। त्यसपछि जमिन खन्ने काममा प्रतिबन्ध लगाइयो।
आफ्नो उद्देश्यमा सफल हुन नसके पनि वारेनले एउटा राम्रो काम के गरिदिए भने उनले कोलार इलाकाको सुन खानी र आफूले गरेको अनुसन्धान र सर्वेक्षणबारे लामो लेख लेखेर छाडे। त्यही लेख पछि माइकल फिट्जगेराल्डको हात लाग्यो।
सन् १८७१ मा वारेनको रिपोर्ट पढेपछि माइकलको मनमा कोलारप्रति रूचि बढ्यो।
उनले गोरूगाडामा बसेर बेंगलुरूदेखि कोलारसम्म सय किलोमिटरको दुरी तय गरे। त्यहाँ करिब दुई वर्ष अनुसन्धान गरेपछि १८७३ मा माइकलले मैसुरका राजासँग त्यो इलाका उत्खनन गर्न अनुमति मागे।
मैसुरका राजाले उनलाई कोलार क्षेत्रमा २० वर्ष उत्खनन गर्न लाइसेन्स दिए। त्यसपछि १८७५ मा कोलार क्षेत्रमा व्यवस्थित ढंगले उत्खनन सुरू भयो।
लाइसेन्स प्राप्त गरेको केही वर्षसम्म माइकलको धेरैजसो समय उत्खननका लागि पैसा जुटाउन र मान्छेहरूलाई उत्खनन निम्ति तयार गराउनमा बित्यो। धेरै कठिनाइ सामना गरेपछि आखिरमा केजिएफबाट सुन निकाल्ने काम सुरू भयो।
केजिएफः भारतमा बिजुली बलेको पहिलो सहर
केजिएफको सुन खानी एकदमै अँध्यारो थियो। त्यहाँ सुरू सुरूमा मशाल र मट्टीतेलबाट बल्ने लाल्टिनको उज्यालोमा काम गरिन्थ्यो। यति मधुरो प्रकाशमा खानी उत्खनन गर्नु जोखिमपूर्ण थियो। अँध्यारोमा अलिकति पनि तलमाथि भयो भने धेरै मान्छेको ज्यान जान सक्थ्यो। त्यसैले अंग्रेजहरूले खानीमा बिजुलीबत्ती बाल्ने निर्णय गरे।
यसरी केजिएफ बिजुली बल्ने भारतको पहिलो सहर बन्यो।
कोलार गोल्ड फिल्डमा बिजुलीको आवश्यकता पूरा गर्न त्यहाँबाट १३० किलोमिटर दुरीमा कावेरी बिजुली केन्द्र निर्माण गरियो। यो जापानपछि एसियाकै दोस्रो ठूलो बिजुली प्लान्ट हो। यसको निर्माण कर्नाटकको अहिलेको मांड्या जिल्लाको शिवनसमुद्र भन्ने ठाउँमा गरिएको थियो।
केजिएफ भारतको पहिलो त्यस्तो सहर हो जहाँ पूर्ण रूपमा बिजुली सुविधा पुगेको थियो। पानीबाट बिजुली निकाल्ने काम सम्पन्न भएपछि केजिएफ इलाका र खासगरी सुनखानीमा सधैं झलमल्ल बिजुली बल्न थाल्यो। सुनखानीको काम नरोकियोस् भनेर बेंगलुरू र मैसुरले भन्दा केजिएफले बिजुलीमा बढ्ता प्राथमिकता पाउँथ्यो।
बिजुली सुविधा पुगेपछि केजिएफमा सुन उत्खननको क्रम तीव्र गरियो। बढीभन्दा बढी सुन निकाल्न नयाँ नयाँ मेसिनरी प्रयोगमा ल्याइयो।
यसैको परिणामस्वरूप सन् १९०२ सम्म आइपुग्दा केजिएफबाट भारतको सुन मागको ९५ प्रतिशत आपूर्ति हुन्थ्यो। सन् १९०५ मा त सुन उत्खननका लागि भारत संसारकै छैठौं स्थानमा पुगेको थियो जसको श्रेय केजिएफलाई नै जान्छ।
केजिएफ बन्यो बेलायत
केजिएफ खानी उत्खनन गरेर सुन निकाल्न थालेपछि कोलार सहरले काँचुली फेर्यो। त्यो समय ब्रिटिस सरकारका उच्च अधिकारी र इञ्जिनियरहरूले त्यहाँ आफ्नो घर बनाउन थाले। हेर्दाहेर्दै कोलार सहर गुल्जार भयो। मान्छेहरूले त्यहाँको माहौल एकदमै मनपराए।
मौसमका हिसाबले पनि त्यो ठाउँ बसोबास निम्ति उपयुक्त थियो। किनभने त्यहाँ कर्नाटकका अन्य क्षेत्रको दाँजोमा बढ्ता चिसो हुन्थ्यो।
यसरी कोलारमा अंग्रेजहरूले र उनीहरूको देखासिकी सम्भ्रान्त वर्गका भारतीयहरूले समेत बेलायती शैलीका घरहरू निर्माण गर्न थाले। घर अगाडिको आँगन र सडक पनि बेलायती शैलीकै थियो। यसले पूरै इलाका भारतभित्रको सानो बेलायतजस्तो देखिन्थ्यो। डेक्कन हेराल्डका अनुसार केजिएफ सञ्चालनपछि कोलारलाई ‘सानो बेलायत’ नै भनिन्थ्यो।
यति मात्र होइन, केजिएफको पानीको माग पूरा गर्न ब्रिटिस सरकारले नजिकै पोखरी निर्माण गरेको थियो। पोखरीबाट केजिएफसम्म पानी आपूर्ति गर्न पाइपलाइन व्यवस्था गरिएको थियो। पछि त्यो पोखरी कोलार इलाकाकै मुख्य पर्यटन केन्द्र बन्न पुग्यो। ब्रिटिस अधिकारी र त्यहाँका स्थानीय नागरिकसमेत घुमफिरका लागि उक्त पोखरीमा जान थाले।
केजिएफबाट जति धेरै सुन उत्खनन गरियो, मजदुरको माग उति धेरै बढ्दै गयो। त्यसलाई पूरा गर्न आसपासका राज्यहरूबाट समेत मजदुर आपूर्ति गर्न थालियो।
सन् १९३० पछि त्यहाँ ३० हजारभन्दा बढी मजुदरले काम गर्थे। ती मजदुरका परिवार पनि त्यही इलाकामा बसोबास गर्थे।
केजिएफको राष्ट्रीयकरण
अंग्रेजहरूको शासनबाट भारत मुक्त भएपछि भारत सरकारले केजिएफलाई आफ्नो नियन्त्रणमा लियो। त्यसको करिब एक दशकपछि १९५६ मा यहाँको सुन खानी राष्ट्रीयकरण गरियो।
१९७० मा भारत सरकारको स्वामित्व रहेको भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले केजिएफमा काम सुरू गर्यो। सुरूआती दिनमा कम्पनीलाई ठूलै सफलता हात लाग्यो। पछि कम्पनीले खानी राम्ररी सञ्चालन गर्न सकेन। कम्पनीको फाइदा दिनप्रतिदिन घट्दै गयो।
सन् १९७९ पछि त यस्तो स्थिति आयो, कम्पनीसँग आफ्ना मजदुरहरूलाई दिने पैसासमेत बचेन।
कुनै बेला भारतको ९० प्रतिशत सुन उत्खनन गर्ने केजिएफको आर्थिक स्थिति सन् असी दशकमा आएर कमजोर हुँदै गयो। कमजोर आर्थिक स्थितिका कारण थुप्रै कर्मचारीलाई केजिएफबाट निष्कासन गरियो।
एक समय यस्तो आयो, जब केजिएफबाट सुन निकाल्न जति पैसा लगानी गर्नुपर्थ्यो, त्यो लगानी सुनको बजार मूल्यभन्दा निकै बढी हुन पुग्यो।
यही कारणले सन् २००१ मा भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले सुन उत्खनन बन्द गर्ने निर्णय गर्यो।
त्यसपछि केजिएफ सुनसान खण्डहरमा परिणत भयो।
केजिएफमा फेरि काम सुरू गर्ने संकेत गर्यो मोदी सरकारले
केजिएफमा सुन उत्खनन १२१ वर्षभन्दा बढी समय चल्यो। सन् २००१ सम्म यहाँ उत्खनन जारी रह्यो।
एक रिपोर्टअनुसार त्यो १२१ वर्षबीच केजिएफको खानीबाट ९०० टन सुन निकालिएको थियो। उत्खनन बन्द भएपछि १५ वर्षसम्म केजिएफमा सबै काम ठप्प रह्यो।
नरेन्द्र मोदीले आफू सरकार आएपछि सन् २०१६ मा केजिएफमा फेरि उत्खनन सुरू गर्ने संकेत गरेका छन्। त्यहाँ अहिले पनि ठूलो परिमाणको सुन बाँकी रहेको बताइन्छ।
भारतको केन्द्र सरकारले २०१६ मा केजिएफलाई पुनर्जीवन दिन लिलामी प्रक्रिया सुरू गर्ने घोषणा गर्यो। तर अहिलेसम्म लिलामी प्रक्रिया सुरू भइसकेको छैन। केजिएफ सञ्चालन गर्ने कि नगर्ने र कसरी गर्ने भन्नेबारे भारत सरकारले ठोस निर्णय लिइसकेको छैन।
केजिएफ सञ्चालनमा नआए पनि अहिलेलाई प्रशान्त नील निर्देशित केजिएफ फिल्मले भारतको यो ठूलो सुनखानीलाई विश्वभर लोकप्रिय बनाउँदैछ।