अभिनेता अनिल कपुरले बलिउडमा चार दशकको यात्रा पूरा गरेका छन्।
६३ वर्षीय कपुरले सिनेमाको पर्दामा हर किसिमको भूमिकामा काम गरेका छन्। निर्वाह गरेका सबै भूमिकालाई पर्दामा सजिब बनाउन उनी सफल रहे। चाहे त्यो 'वो सात दिन'को प्रेम प्रताप सिंह होस, 'राम लखन'को लखन होस् या 'नायक' सिनेमामा शिवाजी राव वा 'वेलकम'को मजनु। उनी सबैमा सफल भए, स्मरणीय बने।
यिनमा केही भूमिकामा उनले आफूले पहिलो रोजाईमा नहुँदा मागेर नै गरे। निर्देशक-निर्माताको पहिलो रोजाइ सुपरस्टार भएपनि उनले कति भूमिका मागेरै काम गरे।
'काम माग्न मलाई लाज लाग्दैन'
'सफलताको मतलब मेरा लागि सँधै एउटा सिनेमापछि अर्को सिनेमा पाउनु रह्यो। एउटा सिनेमाको सफलताले अर्को सिनेमा ल्याउँदै गयो। सिनेमा चल्यो वा चलेन भनेर म कहिले सोच्दिनथें। अर्को दिन अर्को सिनेमाको सुटिङमा पुगें। मानिसहरू मकहाँ आएर भन्थे –तिम्रो सिनेमा चलेन। म भन्थे- त्यो चलेन केही छैन, यहाँ हेर क्या सिन गरेको छु, यो सिनेमा जरूर चल्नेछ। हेर्दै जाउ सुपरहिट हुनेछ', ९० को दशकमा लगातार १३ हिट सिनेमा दिएका सदाबहार अभिनेता अनिल कपुर भन्छन्।
आफ्नो सफल समयको सम्झना उनी यसरी गर्छन् : मलाई मैले १३ वटा सफल सिनेमा दिएको छु भन्ने याद नै छैन। बस मलाई सन् १९७७ मा पहिलोपटक क्यामराको सामना गरेको याद छ। मेरो पहिलो सिनेमा तेलेगु सिनेमा थियो र हेर्दाहेर्दै ४० वर्ष बितिसकेको छ। यो ४० वर्षमा जब कोही निर्देशकले राम्रो गरिरहेको हुन्छ म उसलाई भेट्न जान्छु र काम माग्छु। मलाई लाज छैन्।
'अनुराग कश्यपले करण जोहरलाई काम दिदां मलाई नराम्रो लागेको थियो'
'कश्यपले 'बाम्बे भेलबेट' बनाइरहेका थिए तब मैले अनुरागसँग मलाई सो सिनेमा मिलोस् भनेर कुरा गर्ने प्रयास गरें। मलाई ग्याङ्स्टरवाला भूमिका गर्नुथियो तर सो भूमिका उनले करण जौहरलाई दिए। मलाई नराम्रो लाग्यो तर ठीक छ। मैले भने- मेरो पनि समय आउनेछ जब मैले उनीसँग काम गर्न पाउनेछु', अनुराग कश्यपको कुरा गर्दै अनिलले भने।
'सन् २००३ मा अनुराग 'एल्विन कालीचरण' नामको एक सिनेमा बनाउन चाहन्थे, जो कहिलेपनि बन्न सकेन। सबै एकअर्कासँग काम गर्न चाहन्छन्। तपाईंको नियत सफा छ भने भगवान आफैं यो सिनेमा नबनोस् भन्ने चाहन्छ र फेरि उनै अर्को एउटा सिनेमा लिएर आइपुग्छन्। भलै केही वर्षपछि नै किन नहोस्। आफ्नो समयमा सिनेमा आइपुग्छ। आज म अनुरागसँग 'एके भर्सेज एके'मा सहकलाकारका रूपमा काम गरिरहेको छु । अब म अनुरागले मेरो कुनै सिनेमा निर्देशन गर्ने पर्खाइमा छु', अनिलले भने।
'राज कपुर हाम्रो घरमा खाना खान आएका समय उनलाई समातें'
'बम्बे भेलवेट' मात्र एउटा सिनेमा होइन जसमा काम माग्न अनिल कपुर कुनै निर्देशकमा पुगेका हुन्। पहिलादेखि नै उनले यस्तो गर्दै आएका छन्।
'के विश्वनाथ 'ईश्वर' सिनेमा बनाउँदै थिए। मुम्बईको एक होटलमा उनीसँग मेरो जम्काभेट भयो। उनले आफूले कमल हसनसँग सिनेमा बनाइरहेको बताए। सिनेमालाई राज कपुरले निर्माण गर्दै थिए। त्यही समयमा एकदिन राज कपुर खाना खान मेरो घर आए मैले उनीसँग काम मागें। उनले कमलसँग सिनेमा बनाउँदै छु, यदि उनले गरेनन् भने तिमी गर्न सक्छौ भने। कमलले त्यो सिनेमा गरेनन्, मैले निर्देशकसँग कुरा गरें र काम गरें', अनिलले भने।
'निर्देशक 'नायक'मा आमिर वा शाहरूखलाई लिन चाहन्थे'
अनिल अभिनित चर्चित सिनेमा 'नायक'मा पनि उनी निर्देशकको पहिलो रोजाइमा थिएनन्। त्यो सिनेमा पनि उनले मागेका हुन्।
सिनेमाका निर्माता तथा निर्देशक आमिर खान वा शाहरूख खानलाई लिन चाहन्थे तर उनीहरूले सिनेमा गरेनन्। अनिलले म गर्छु भनेर मागेरै गरे।
'निर्देशक ड्यानी बोयल 'स्लमडग मिलेनियर'मा पनि अरू कसैलाई लिन चाहन्थे तर मैले पाएँ' उनले भने।
नेटफ्लिक्समा आउन लागेको 'एके भेसेज एके' मा पनि निर्देशक पहिला अरू कसैलाई लिन चाहन्थे तर घुमेर अनिलकोमा आइपुग्यो।
'मिस्टर इन्डिया' र 'लम्हे'का लागि पहिलो रोजाइ अमिताभ थिए
यी बाहेक अरू सिनेमा पनि छन् जसमा अनिल पहिलो रोजाइमा थिएनन्।
'मिस्टर इन्डिया' एउटा त्यस्तै सिनेमा हो। अमिताभ सिनेमाका लागि पहिलो रोजाइका कलाकार थिए।
'लम्हा' सिनेमा कसरी अनिलको पोल्टामा पुग्यो भन्ने बारेमा पनि एउटा रोचक किस्सा छ।
'लम्हा'मा यश चोपडा अमिताभ बच्चन र रेखालाई खेलाउन चाहन्थे। पछि कथा अनुसार अमिताभ धेरै ठूला देखिने भए। त्यसपछि उनले अमिताभलाई लिने सोच त्यागे र नयाँ अनुहारको खोजीमा लागे।
सिनेमाकी लेखिका हनी इरानीले यश चोपडालाई तस्विरले भरिएको एउटा खाम थमाइदिइन्।
खाममा लेखिएको थियो- एउटा नवप्रवेशी, जो तपाईंको सिनेमा गर्न चाहन्छ।
तस्विर हेरेपछि यश अचम्ममा परे किनकी त्यसमा अनिल कपुरका तस्विरहरू थिए, जसलाई यश आफैंले पठाएका थिए। त्यति बेला अनिलको नाम ठूलो भइसकेको थियो।
'यशका लागि आफ्नो जुँगा फाले'
फोटो हेरेपछि यशले अनिललाई भेट्न बोलाए। यशसँग अनिलले आफू सो सिनेमा कुनै पनि हालतमा गर्न चाहेको बताए। यशले भूमिका अनुसार धेरै ठूलो देखिने भनेर सम्झाउन खोजे तर अनिलले मानेनन्।
पटकपटक अनिलले सो भूमिकाका लागि आफू जे पनि गर्न तयार भएको बताए।
त्यसपछि अचानक यशले अनिललाई आफ्नो जुँगा खौरिन सक्छौं भनेर सोधे।
धेरै सोचविचार गरेपछि अनिल आफ्नो जुँगा हटाउन तयार भए। अर्को दिन यशले जुँगा फालेका अनिल र श्रीदेवीको फोटो खिचे। उनलाई दुई जनाको जोडी मनपर्यो। उनले दुबैलाई लिएर सिनेमा बनाए।
२४ डिसेम्बर मा अनिल कपुरको जन्मदिन हो। यो दिन उनी अभिनित 'एके भर्सेज एके' नेटफ्लिक्समा रिलिज हुँदैछ। सिनेमामा अनिल र अनुराग कश्यपको प्रमूख भूमिका छ। विक्रम मोतवानी सिनेमाका निर्देशक हुन्।