दक्षिण भारतीय तमिल सिनेमाका स्टार धनुष आफ्नो बयानका कारण विवादमा परेका छन्। हालै एक पत्रकार सम्मेलनमा दिएको बयानका कारण उनी विवादमा तानिएका हुन्।
उनले सो पत्रकार सम्मेलनमा कलाकारलाई आफ्नो पूरा पारिश्रमिक पाउनु आजकल दुर्लभ भएको बताएका थिए। 'असुरन' सिनेमाका निर्माताले उनको पारिश्रमिक सुटिङ अगाडि नै दिएको बताउँने क्रममा उक्त धारणा राखेका थिए।
धनुषको यस बयानबाट केही निर्माताहरू भने असन्तुष्ट बनेका छन्। अल अजहागप्पन र के राजन तिनै निर्मातामध्येमा पर्छन्। उनीहरूले धनुषलाई राम्रै कटाक्ष गरेका छन्।
'विजय र अजित जस्ता अभिनेता निर्मातालाई सहयोग गर्छन् तर जजसले धनुषको सिनेमामा पैसा लगाए, उनीहरू असफल भए। उनीहरू यो क्षेत्रबाट गायब भइसकेका छन्', अजहागप्पनले भने।
यसैगरी के राजनले पनि निर्माताहरूमाथि कलाकारले दोष लगाउन नपाउने भन्दै धनुषको प्रतिवाद गरेका छन्।
'धनुषसँग काम गरेका कयौं निर्माताहरूले धेरै नोक्सानी बेहोरेका छन्। निर्माताहरू निजी ऋण लिएर सिनेमा बनाउँछन्। अभिनेता र निर्देशकको गल्तीका कारण उनीहरूले भारी नोक्सानी बेहोर्नुपर्छ। जुन सिनेमाको बजेट १० करोड छ, ती सिनेमाले कयौं पटक ८ करोडको मात्र बजार पाउँछन्', उनले भने।
यिनै सिनेमाबाट कमाएको पैसाले धनुषसँग विलासी गाडी हुँदा उनका सिनेमाका निर्माता सडकमा आएको आरोप के राजनले लगाएका छन्।
'केही अभिनेतालाई लाग्छ निर्माताहरूले खुबै पैसा कमाइरहेका छन् तर त्यो सत्य होइन। त्यसैले निर्मातामाथि दोष लगाउने काम बन्द गरियोस्', उनको भनाइ छ।