यस वर्षको ‘म्यान बुकर’ पुरस्कार अमेरिकी लेखक जर्ज सन्डर्सको उपन्यास ‘लिंकन इन द बार्डो’ ले पाएको छ।
बेलायतबाट प्रदान गरिने ५० हजार पाउन्ड राशिको यो पुरस्कारको अन्तिम सूचीमा तीन अमेरिकी र तीन बेलायती गरी ६ जना थिए।
अमेरिकी लेखकले म्यान बुकर पुरस्कार पाएको यो दोस्रोपटक हो। पूर्व अमेरिकी राष्ट्रपति लिंकनको जीवनसँग सम्बन्धित सत्यघटनामा आधारित यो उपन्यासलाई निर्णायक मण्डलका सदस्यले ‘यथार्थपरक र संवेदनशील’ भनी प्रशंसा गरेका छन्।
सन् १८६२ मा लिंकनका ११ वर्षीय छोरा विलीको निधनपछि उनलाई वासिङ्टन डिसीको चिहानमा अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टिको त्यो रात लिंकनको मनोदशा उपन्यासमा वर्णन गरिएको छ। छोराको मृत्युले लिंकनलाई भित्रैदेखि हल्लाइदिएको थियो। उनी आफ्नो छोराको मृत्यु स्वीकार गर्न तयार थिएनन्। संवादपूर्ण लेखनीमा आधारित यो उपन्यासमा ऐतिहासिक सन्दर्भहरू पनि समावेश गरिएका छन्।
५८ वर्षीय सन्डर्स अमेरिकाको टेक्सासमा जन्मिएका हुन्। यसअिघ उनले छोटा कथा संग्रह 'टेन्थ अफ डिसेम्बर' का लागि फोलियो र स्टोरी पुरस्कार पाएका थिए। यो उनको नवौं कृति हो।
'यो किताबमा यति पीडा लुकेको छ, एकतिहाइ लेखिसकेपछि मलाई यो किताब कसैले पढ्न सक्दैन भन्ने लागेको थियो,' पुरस्कार ग्रहणपछि सन्डर्सले भने।