शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'रिमै' को काठमाडौंमा प्रिमियर शो आयोजना गरिएको छ।
बुधबार बेलुका न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा ‘रिमै’ हेर्न फिल्मकर्मी र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रह्यो।
प्रिमियर शो सुरू हुनुअघि गुरूङ समुदायको सांस्कृतिक झाँकीस्वरूप सोरठी नाचसमेत प्रस्तुत गरिएको थियो। प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायतका सेलिब्रेटीहरू पनि पुगेका थिए।
फिल्म हेरिसकेपछि अभिनेताबाट निर्देशक बनेका विल्सन विक्रम राईले 'रिमै' मन छुने फिल्म बनेको बताए। हालसम्म गुरूङ समुदायमाथि बनेका फिल्महरूमध्ये यो उत्कृष्ट भएको उनको भनाइ थियो।
यता, अभिनेता तथा निर्देशक माओत्से गुरूङले पनि 'रिमै' राम्रो बनेको प्रतिक्रिया दिए।
उनले भने, 'निर्देशकले हाम्रो समुदायमाथि एउटा राम्रो फिल्म निर्माण गर्नुभएको छ। सबैले साथ दिन जरूरी छ। त्यसैले सबै समुदायका दर्शकलाई ‘रिमै’ हेर्न अनुरोध छ।'
फिल्मकी मुख्य अभिनेत्री रिश्मा गुरूङले पनि करिब ८ वर्षपछिको आफ्नो कमब्याकलाई लिएर उत्साहित रहेको र रिमै हेरिरहँदा रोचक लागेका अनुभव सेयर गरिन्।
उनले भनिन्, 'म लामो समयदेखि अमेरिकामा बस्दै आएकी छु। म जुन सहरमा बस्छु, त्यहाँ नेपाली समुदायको बसोबास निकै कम छ। त्यसैले अमेरिकामा रहँदा यो सबै मिस गरिरहेकी थिएँ। आज ‘रिमै’ हेरिरहँदा त्यो सबै भुलेर नयाँ अनुभव बटुलेँ। फिल्म निकै राम्रो बनेको छ। लामो समयपछि काजी र मैँयाको जोडी पुनः पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ।'
निर्देशक खिलबहादुर गुरूङ आफूले विगत ३ वर्षयता रातदिन ‘रिमै’ बाहेक अरू केही नसुनी काम गर्दाको परिणाम आज पाउँदा खुसी लागेको बताए।
उनले भने, 'हामीले इमान्दारीताका साथ फिल्म निर्माण गरेका छौं। दर्शकले मन पराइदिनुहुन्छ भन्ने विश्वास छ। प्रिमियर शोबाट मिलेको प्रतिक्रियाले फिल्मको व्यापारमा अझै प्लस गर्ने विश्वास छ।'
गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरूङ, गौमाया गुरूङ, कविता आले मगर, माओत्से गुरूङ, पुस्कर गुरूङ, वीरमाया गुरूङ, वीरवल घले, डिवी गुरूङ, टेक गुरूङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरूङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्म शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरूङ, जित यात्री गुरूङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरूङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता छन्।
मल्टिप्लेक्स हलहरूले फिल्मको अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्।
सबै तस्बिरहरूः नवीनबाबु गुरूङ











