गायक तथा अभिनेता प्रकाश सपुत स्टेजमा फर्किएका छन्।
पछिल्ला वर्ष फिल्मतिर बढी व्यस्त हुँदा स्टेजमा नदेखिएका उनले गत साता नगरकोटमा सांगीतिक प्रस्तुति दिए। त्यहाँ माहोल तताएका उनी त्यसपछि दैलेख पुगेर दर्शक झुमाए।
उनले प्रस्तुति दिँदै गर्दाका भिडिओ क्लिपहरू यतिबेला टिकटकमा समेत भेटाइन्छ। प्रकाश स्वयंले समेत स्टेज प्रस्तुतिको भिडिओ सोसल मिडियामा राखेका छन्।
देश-विदेशका स्टेज कार्यक्रममा सर्वाधिक खोजिनेमध्येका प्रकाश फिल्म अभिनय र निर्देशनमा लागेपछि स्टेज कार्यक्रममा विरलै देखिएका थिए। २०८० सालको दसैंमा उनी अभिनीत पहिलो फिल्म 'परदेशी २' रिलिज भएको थियो। पहिलो फिल्मबाटै प्रकाशले अभिनेताका रूपमा सफलता पाए। गत वर्षको तिहारमा उनी अभिनीत दोस्रो फिल्म 'पूर्ण बहादुरको सारंगी' रिलिज भयो। विजय बरालको शीर्ष अभिनय रहेको यो फिल्मले कमाइमा कीर्तिमानी रेकर्ड राख्यो।
गत वर्ष प्रकाश आफै पनि फिल्म निर्देशनमा होमिए। उनको निर्देशनमा बनेको पहिलो फिल्म 'वसन्त' गत चैत २२ मा रिलिज भयो। यसले अपेक्षित व्यापार नगरे पनि फिल्म हलमा अझै प्रदर्शनरत छ।
यो बीचमा प्रकाशले 'सोल्टिनी', 'हरिबहादुरको जुत्ता' फिल्ममा अभिनेताका रूपमा काम गरेका छन् भने अन्य अनुबन्धित भएका केही फिल्मको भने छायांकन बाँकी छ।