फिल्म 'कार्साङ' फेम्ड निर्देशक याम शेर्पाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। उनले फिल्म 'मिरमिरे' निर्माणको घोषणा गरेका हुन्।
शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष फिल्म रिलिजको घोषणा समेत गरेका छन्।
यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ। थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन्। उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन्।
सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ कामको सुरूवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ। पोस्टरले बिहानीसँगै नयाँ संकल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रष्ट पारिएको छैन। फिल्मको कथा निर्देशक स्वयंले लेख्नेछन् ।
निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
नयाँ वर्ष २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन।
कलाकारबारे निर्माणपक्षले जानकारी दिएको छैन। केही समयपछि फिल्ममा को-को कलाकार रहने जानकारी दिँदै जाने निर्देशक शेर्पाले बताए।
