सर्टफिल्म 'दृश्य' (द लाईट अफ आई) को निर्माण सम्पन्न भएको छ।
काठमाडौंमा छायांकन गरिएको 'दृश्य' को निर्माण कार्य सम्पन्न भएसँगै निर्माण टिमले पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा एउटा आँखाभित्र दुईजना पात्रहरू देखाइएको छ। एकजना दृष्टिविहिन र अर्को सामान्य मानिसलाई आँखाभित्र अटाइएको छ। दृश्यको पोस्टर रसिकराजले तयार पारेका हुन्।
ऐना आर्टसको प्रस्तुति तथा आश्री इमिग्रेशनको सहकार्यमा निर्माण गरिएको 'दृश्य' को निर्माता नितु घिमिरे रहेकी छन्। आश्री इन्भेष्टमेन्टको सहयोगमा तयार भएको सर्टफिल्मका निर्माण प्रमुख रामेश्वर भट्टराई हुन्। आश्री इमिग्रेशन, आश्री इन्भेष्टमेन्ट, आश्री ट्राभल्सका सञ्चालक समेत रहेका भट्टराई कथावस्तु मन परेकाले सर्टफिल्म निर्माण गरिएको बताउँछन्।
'दृश्य' मा नारायणराज चौलागाईं, सुवास प्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरूष मगर, युनिसा कार्की, बिदुर प्रसाद सिग्देल, सन्तोष सुवेदी, नरेन भट्टराई, रमेश बज्राचार्य, चक्र प्रसाद पोखरेल, उद्धव दंगाल, नितु घिमिरे, सुरेन्द्र क्षेत्री, सुरज आचार्य, रिजन थापालगायत कलाकारको अभिनय छ। सन्तोष कार्की, उद्धव दंगाल, रेनुका कार्की, अविन ठटाल र कृषला श्रेष्ठले स्वरांकन गरेका छन्। मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको फिल्मको कला निर्देशन सुमित राईले गरेका छन्। सन्तोष श्रेष्ठको संगीत रहेको 'दृश्य' को बाँसुरी वादकका रूपमा नगेन्द्र राई रहेका छन्। सहायक निर्देशन करण साउदले गरेका छन्। अनिल कुमार महर्जनको सम्पादन तथा रंग संयोजन रहेको छ।
'दृश्य' को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन्। बाहिरी आँखाले देखेको भौतिक दुनियाँ र हृदयको आँखाले महसुस गर्ने अन्तरमनको दुनियाँलाई तुलनात्मक रूपमा सर्टफिल्ममा देखाउन खोजिएको अभिलाषी बताउँछन्।
उनले यसअघि निर्माण गरेका सर्टफिल्म 'घुर्रा', 'भाउ', 'पाउलो', र 'द स्कूल वाल' ले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा छनोट भएर अवार्ड पनि प्राप्त गरेको थियो।
