अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को अमेरिका शाखाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, चलचित्र, समाजको विकासमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ।
अमेरिकाको मेरिल्याण्डमा २१ जुलाइमा आयोजना हुने समारोहकाबीच 'इनास राष्ट्रिय सम्मान २०२५' प्रदान गरिने भएको हो।
मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टीस्थित ‘रमादा विन्डहम (१७०० भाम विबर रोड इजउड)मा हुने कार्यक्रममा नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने छ।
अमेरिकामा रहेर विशिष्ट योगदान दिने व्यक्तिलाई विशेष सम्मान र नव–प्रतिभालाई प्रोत्साहनस्वरूप राष्ट्रिय सम्मान प्रदान गरिने इनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसीले बताए।
उनका अनुसार समारोहमा अमेरिका लगायत विश्वभरी छरिएका नेपाली कला, साहित्य, खेल, मनोरञ्जन क्षेत्रका कलाकार, खेलाडी, विभिन्न निकाय र संघसस्थाहरूका प्रतिनिधिको सहभागिता रहनेछ।
इनासले दसैंतिहार, तीज, फागु पूर्णिमा, नयाँवर्ष जस्ता पर्व र अवसरमा फिल्म फेस्टिभल, स्रस्टा सम्मान, अवार्ड, बाल प्रतिभाजस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यस्ता कार्यक्रमको उद्देश्य स्रष्टाबीच एकता कायम गर्दै संस्कृतिको संवद्र्धन गर्नु रहेको जनाइएको छ।
२६ अगस्ट, २०१२ मा युरोपको पोल्याण्डबाट इनासको इतिहास सुरू भएको थियो। सन् २०१४ मा भर्जिनियाबाट ईनास अमेरिकाको सुरुवात भयो। अहिले मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया, केन्टकी लगायतका राज्यमा विस्तार भएको छ।
'इनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक कार्यक्रम' संस्थाका पूर्वअध्यक्ष कन्हैयासिंह परियारको कार्यकालमा सन २०२२ बाट सुरु गरिएको थियो, जुन प्रत्येक दुई वर्षमा हुने विशेष सम्मान कार्यक्रमको दोस्रो संस्करण र निरन्तरता हो।
कार्यक्रमलाई भव्य तुल्याउनको लागि व्यवस्थापन जिम्मेवारी इनास मेरिल्याण्डले लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत मेरिल्याण्डका लागि पर्यटन प्रबर्धक राजु पराजुलीले ईनास राष्ट्रिय सम्मान २०२५ मा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
अमेरिकाको नेपाली डायस्पोरामा संस्कृति प्रवद्र्धनका लागि कार्यक्रम महत्वपूर्ण हुने इनास अमेरिकाका प्रवक्ता गोपालचन्द्र लामिछानेले बताए। उनका अनुसार समारोहमा सहभागिताको लागि नेपालबाट अतिथि कलाकारलाई समेत निम्तो गरिएको छ।