साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म 'जार' मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण कम्पनी फेरी टेल पिक्चर्सले आइतबार 'ए ठुली' बोलको गीत रिलिज गरेको हो।
यो गीतको भिडिओमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा फिचर्ड छन्। गीतमा स्वर झुमा लिम्बु र पवन गिरीको छ।
यसका शब्द हर्क साउदका हुन् भने संगीत एरेञ्जको काम गंगा थापाले गरेका छन्।
गीतमा समावेश संगीत, शब्द र दृश्यले सयौैं वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्छन्। सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई फिल्मले बोल्ने निर्माण पक्षले जनाएको छ। तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति गीतमा चित्रण गरिएको छ।
फूर्वा छिरिङ लामाको निर्देशनमा बनेको 'जार' को शीर्ष भूमिकामा अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन्। 'लायर्स डाइस' बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन्। नेटफ्लिक्स सिरिज 'सेक्रेड गेम्स' मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन्।
यो फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ। अधिकांश कलाकार र सम्पूर्ण प्राविधिक टिम भारतबाट नै छन्। होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
यो फिल्म नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ।
फिल्म वैशाख २६ (मे ९) देखि प्रदर्शनमा आउने तयारीमा छ।