'द मिस ग्लोब २०२४' की विजेता डायना मोरेनो मंगलबार नेपाल आएकी छन्।
दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएकी उनले पहिलो नेपाल भ्रमणमा आउन पाउँदा खुसी लागेको बताइन्।
उनी 'मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५' अडिसनमा जज बन्न नेपाल आएकी हुन्।
उनको स्वागतका लागि मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायसहित मिस ग्लोब नेपाल मोनिका अधिकारी लगायत एयरपोर्ट पुगेका थिए।
डायनाले फेब्रुअरी १५ अर्थात फागुन ३ गतेदेखि काठमाडौंमा सुरू हुने अडिसनमा जजको भूमिका निर्वाह गर्नेछिन्। यस प्रतियोगिताले वल्र्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे सो पनि गर्दै छ। जुन जलवायु परिवर्तनसम्बन्धी जनचेतनाका लागि हुनेछ।
अडिसनदेखि डायनाले काभ्रेमा फेब्रुअरी १५ मा हुने वल्र्ड युथ फेस्टिभलका लागि गरिने एक अन्तर्कियात्मक कार्यक्रममा सहभागिता जनाउनेछिन्।
नेपालमा हुने सौन्दर्य प्रतियोगितामा ग्रान्ड फिनालेमा अन्तर्राष्ट्रिय स्तरका विजेताहरूलाई ल्याएर जजको भूमिका राख्ने सनुर्वी इन्टरनेसनल पहिलो रहेको आयोजकको दाबी छ।
चौथो संस्करणमा अडिसनबाटै अन्तर्राष्ट्रिय विजेताहरु जजको रुपमा राखेको सनुर्वी इन्टरनेसनलका सञ्चालक डाक्टर सन्तोष उपाध्यायले बताए।
उनले भने, 'काठमाडौंको अडिसनदेखि काभ्रेमा हुने वल्र्ड युथ फेस्टिभलमा डायनाले सहभागीता जनाउनुले नेपालको ब्युटी पेजेन्ट लगायत फेसन उद्योगलाई नै थप टेवा पुग्नेमा हामी आशावादी छौं।'
आयोजकका अनुसार डायनाको नेपाल बसाइ पाँचदिन हुनेछ। यस अवधीमा काठमाडौंका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको घुम्ने गर्ने योजना तय छ। साथै उपत्यकाका विश्वसम्पदा सूचिमा परेका क्षेत्रहरुमा उनको फोटोसुट पनि हुने जनाइएको छ। नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा पनि उनको भेटघाट कार्यक्रम राखिएको छ।
मार्च २ सम्म चल्ने अडिसन काठमाडौंसहित विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगन्ज र धनगढीमा हुनेछ।
सन् २०२४ मा अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायनाले ताज पहिरिएकी हुन्। नेपालबाट भने मिस ग्लोब नेपाल मोनिका अधिकारीले प्रतिनिधित्व जनाएकी थिइन्।