ऋषिराज आचार्य निर्देशित फिल्म 'द्रौपदी' को गीत सार्वजनिक भएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम राख्दै फिल्ममा समावेश 'कर्णाली काटौँला' बोलको गीत सार्वजनिक गरिएको हो। निर्देशक ऋषिराज आचार्यको शब्द र रवि ओडको संगीत रहेको गीतमा डेब्यू अभिनेत्री आश्वीनी शाही, निर्देशक ऋषिराज स्वयम्, गायक रवि र सुजाता तिमिल्सीना प्रेमिल भावमा प्रस्तुत भएका छन्।
डोल्पाको शे-फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी विष्णु ठडराईले गरेका छन्।
निर्माण क्रमदेखि नै चर्चामा रहेको फिल्मको प्रेसमिटमा निर्देशक आचार्यले आफुले अत्यन्तै मौलिक विषयवस्तुमा फिल्म निर्माण गरेको बताए। उनले कथाको मागअनुसारनै फिल्ममा नव कलाकारहरूको वर्चश्व रहन गएको जानकारी दिए। अन्तर्राष्ट्रिय बजारलाई समेत दृष्टिगत गरिएको फिल्मको गीतमा कर्णालीको सौन्दर्यता झल्किएको छ।
डेब्यू अभिनेत्री आश्वीनी शाहीले 'द्रौपदी' बाट आफू निकै आशावादी रहेको बताइन्। करिब ४ सय जना आवेदकहरू मध्येबाट द्रौपदीको भूमिकाका लागि छनोट भएकी आश्वीनीले निकै मिहीनेतका साथ अभिनय गरेको स्मरण गरिन्। फिल्मको छायांकन डोल्पामा करिब डेढ महिनासम्म गरिएको थियो।
यही फिल्मबाट ठूलो पर्दाको अभिनयमा डेब्यू गरेका गायक रविले आफूले पाएको चरित्र र भूमिकामा न्याय गर्ने कोसिस गरेको बताए। उनले आफुलाई मन परेको र गर्न सक्छु भन्ने लागेकाले अभिनय गरेको प्रस्ट पार्दै आफू सुहाउँदो भूमिका पाएमा अभिनयलाई निरन्तरता दिने बताए।
निर्माता तथा अभिनेता प्रकाश ज्ञावलीले फिल्मले मौलिक नेपाली कथा बोकेको बताउँदै यसप्रकारका विषय प्रचुरताका साथ पर्दामा उतारिनु पर्नेमा जोड दिए। त्यसैगरी अर्का अभिनेता कबिराम भामले पनि मैलिक फिल्म निर्माणमा जोड दिनु पर्ने राय राखे। अर्की डेब्यू अभिनेत्री सुजाता तिमिल्सिनाले सुटिङका क्रममा आफू दुर्घटनामा परेको स्मरण गर्दै विकट भौगोलिक अवस्थाका कारण निकै कस्टपूर्वक सुटिङ गर्नु परेको बताइन्।
'द्रौपदी' बाट पर्दाको यात्रा सुरू गरेकी पहिलो संविधान सभाकी सभासद सीता बौडेलले राजनीति र अभिनय विल्कुल फरक क्षेत्र भएको अनुभव सुनाउँदै दुवैमा आ-आफ्नै प्रकारको लगाव र मिहिनेती चाहिने धारणा राखिन्। उनले 'द्रौपदी' जस्ता मौलिक फिल्म निर्माणमा स्रष्टाहरूले चासो दिनुपर्ने बताइन्।
फिल्ममा आश्वीनी, रवि ओड, कविराज, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भूमिकामा छन्। निर्देशक ऋषिराजकै लेखन, गीत अनि निर्माण रहेको फिल्मको सम्पादन अनिल महर्जनले गरेका हुन्। सौरभ शर्माको पाश्र्व संगीत रहेको फिल्म मोहनकुमार झिल्लुले खिचेका हुन्।
आर बि मुभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र विष्णु ठडराई छन्। फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट, एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा वितरण गर्दैछ।
यो फिल्म चैत ८ गतेदेखि प्रदर्शन हुनेछ।