आफूले लेखेका कवितामध्ये सबभन्दा धेरै आफू भएको कविता उनलाई 'एक्लै' हो जस्तो लाग्छ। यो कविता शुक्रबार युट्युबमार्फत सार्वजनिक भयो।
कवि नवराज पराजुलीको कविता हो, 'एक्लै'। संगीत, स्वर र भिडिओमार्फत कविताले पूरा आकार पाइसकेकाले उनी भन्न थालेका छन्, 'एक्लै अब एक्लै छैन।'
नवराज आफू एक्लै रमाउने मान्छे हुन्। तर यो एक्लैले 'कोही यसरी बाँचोस् र कोही यसरी पनि बाँच्न सक्छ' भन्ने आशय बोकेको उनी बताउँछन्।
उनलाई अरू कविता कहाँ, कहिले र कसरी लेखिएको थाहा छ। तर यो कविता एकै बसाइमा नलेखिएकाले याद छैन। युरोप गएका बेला उनलाई कविताको अवधारणा मात्र आएको थियो। सुरूमा कविताका लाइन फुरेनन्, तालहरू फुरे। त्यस्तो ताल जसमा नाच्न सकिन्छ।
त्यो तालले लामो यात्रा पार गरेपछि बल्ल शब्दहरू फुरेको बताउने नवराज भन्छन्, '१६–१७ पद्यहरू छन् कवितामा। तिनलाई मैले स्वतन्त्र रूपमा आऊन् भनेर पर्खिरहेँ। त्यो पर्खाइ करिब ६ महिनासम्म चल्यो र बल्ल कविताले पूर्ण रूप पायो।'
तालमा लेखिएको कविताले धून पनि पाउनु थियो। त्यो धून उनले पहिला गरिएका 'कविता कन्सर्ट'मा कविता पछाडि संगीत राखेर बनेजस्तो मात्र नहोस् भन्नेमा उनी सचेत थिए।
'मलाई यही कवितालाई मात्र बनेको धून चाहिएको थियो। शास्त्रीय हुनुपर्ने, आधुनिक हुनुपर्ने र मैले खोजेको जस्तै वाद्यवादन पनि हुनुपर्ने,' नवराजले भने, 'तर यस्तो हुनुपर्छ भनेर देखाउन मसँग अर्को उदाहरण थिएन।'
उनले अगाडि भने, 'यस्तो धून जुन मुटुको धड्कनसँग सम्बन्धित थियो।'
सुरूमा त चिनेजानेका संगीतकारलाई उनले कविता पठाए र संगीतको धून बनाउन भने। ६ महिना त्यसैक्रममा खर्च भयो तर खोजेजस्तो पाएनन्। उनले सुन्न खोजेको धून फरक थियो।
त्यहीक्रममा 'तीनपाते' गीतका गायक–संगीतकार सुजन चापागाईंसँग नवराजको निकटता बढ्न थालेको थियो। एकदिन उनले आफ्नो 'ड्रिम प्रोजेक्ट' का रूपमा रहेको 'एक्लै' बारे बताए।
सुजनले सजिलै उनको समस्या सामाधान गरिदिए, 'रिदम कँडेल भन्ने एकजना दाइ हुनुहुन्छ। उहाँ एकदमै राम्रो गायक अनि एरेन्जर पनि हो। तपाईंले जे खोज्नुभएको हो, उहाँसँग छ।'
रिदमसँग फोनवार्ता गर्दा उनले नवराजलाई आफ्नै सपना सुनाएछन्। दुई सपना एकाकार भए। उनीसँग गफिँदै जाँदा नवराजलाई महशुस भयो, 'उहाँ नै त हो मैले खोजेको मान्छे।'
आफूले बनाउन लागेको धून कस्तो भनेर नवराजसँग उदाहरण नभए पनि एक वाद्यवादन उनले सोचिसकेका थिए। ग्रीक संगीतकार यानीले एक कन्सर्टमा बजाएको तीन हजार वर्ष पुरानो बाजा– डुडुक। उनी चाहन्थे आफ्नो सांगीतिक कविताको मुख्य बाजा डुडुक नै होस्।
यसबारे सुन्नेबित्तिकै रिदमले भनेछन्, 'ओहो! मलाई पनि कस्तो मनपर्छ त त्यसको धून। नेपालमा बजाउने मान्छे त छैनन् तर सांगीतिक रूपमा प्रयोग गर्न सकिन्छ।'
रिदमले केही प्रारम्भिक धून पनि बनाएर पठाएछन्। त्यसमा केही शास्त्रीय महक पनि थियो। त्यसपछि उनीहरूको भेट हुन थाल्यो। भेटमा यो कवितालाई कसरी संगीतमा भन्न सकिन्छ भन्ने सम्भावनाका कुरा हुन थाले। संगीतमा हेरफेर चलिरह्यो। लामो मिहिनेतपछि नवराजले जुन स्तरको सोचेका थिए, त्यस्तै बन्यो।
धून त बन्यो, तर नवराजलाई आफ्नो कविता कसरी बाचन गर्न सकिन्छ भन्नेमै अलमल थियो। उनी पहिला आफूले सुनाइरहेभन्दा फरक तरिका खोजिरहेका थिए। यसका लागि उनले सोचका धेरैखाले प्रक्रियाबाट गुज्रिनुपर्यो।
'म अरू कविता भनेजसरी यसलाई सुनाउन चाहन्नथेँ। त्यस्तो तरिकाबाट भन्न चाहन्थेँ जसबाट म फेरि जन्मिऊँ,' उनले भने।
कविताको अडिओ तयार गर्नै उनलाई डेढ महिना लाग्यो। त्यसक्रममा रिदमको घरमा आउने–जाने क्रम चलिरह्यो। संगीत र कविता बाचनका आइडिया एकअर्कामा 'सेयर' भइरहे।
अडिओ तयार भएपछि मिक्सिङ-मास्टरिङका लागि अस्ट्रेलिया, सिड्नीका अनुराग सापकोटासँग उनी ठोक्किन पुगे। आफ्नो भाषा बुझ्ने मान्छे खोजिरहेका बेला अनुराग नवराजकै अर्को कविताबारे कुरा गर्न फोन सम्पर्कमा आएका थिए।
नवराजको 'खोया' कविताका केही लाइन प्रयोग गरेर गीत बनाएको कुरा अनुराग सुनाउन चाहन्थे। कुराकानी क्रममा पेसाको कुरा आयो। अनि साउन्ड इञ्जिनियरिङ गरिरहेका अनुराग नवराजले खोजेजस्तै अर्का मान्छे भइदिए।
अनुरागले भने, 'यहाँ अलिकति महँगो पर्छ तर विश्वस्तरीय अडिओ आउँछ।'
सम्झौता केलाई गर्नु थियो? नवराज तयार भइहाले। यसरी दस मिनेट १४ सेकेन्डको सांगीतिक अडिओ तयार भयो।
'कति चिज हामीले शब्दलाई भन्न दिएका छौं, कति वाद्यवादनलाई। कति भने शब्दबिनाको स्वरलाई,' अडिओबारे बताउँदै नवराजले भने।
यति सक्दा पनि 'एक्लै' अझै पूर्ण भएको थिएन। चार महिना अघिदेखि उनी झापास्थित आफ्नो गाउँ यसलाई पूर्ण रूप दिनकै लागि पुगेका छन्। आफ्नो 'ड्रिम प्रोजेक्ट' भएकाले उनी यो काम हतारमा सक्न चाहन्थेनन्।
'मलाई थाहा थियो, यसलाई बनाउन धेरै समय र राम्रो समूह चाहिन्छ। सबैले त्यो समय दिन्छन् भन्नेमा म विश्वस्त थिइनँ,' उनले झापा जानुको कारण भने, 'काठमाडौंका मान्छेझैं म पनि हतारमा चाँडो चाँडो काम गर्छु कि भन्ने मलाई डर थियो। हतार नगरी काम गर्ने सोचले झापा आएँ।'
उनले अगाडि भने, 'सपनाहरू हतारमा सक्नु हुँदैन।'
स्थानको हिसाबले उनी जंगल एक पात्रको रूपमा होओस् भन्ने चाहन्थे। त्यो उनको घरबाट ४–५ किलोमिटर दुरीमै थियो। उनी जंगललाई कविता सुनाउँदै त्यहाँ ओहोरदोहोर गरिरहन्थे। त्यहीबेला उनले कस्ता 'सट'हरू खिच्नुपर्छ, पात्रले लगाउने लुगा, उसले बोक्ने सरसामान लगायत कुरा सोच्दै हिँडे। अनि कसरी खिच्ने भन्ने परिकल्पना गर्न युट्युब हेरे, पढे।
त्योभन्दा बढी कल्पनामा हराए, आफैंसँग कुरा गरे। अनि डेढ महिना लगाएर ११ मिनेटको स्क्रिप्ट तयार पारे।
दमकको कदम थिएटरका साथीहरूले जंगलमा कलाका कृत्रिम सेटहरू बनाइदिए। तीन दिनमा सुटिङ सकियो। यो भिडिओमा कवि पराजुलीका विभिन्न रूप देखिएका छन्। उनका तिनै भाव समेट्दै अडिओले भिडिओको आकार पायो। 'एक्लै' लाई उनले छोटकरीमा 'म्याप' अर्थात् 'म्युजिकल पोयट्री' भनेका छन्।
नवराज ठान्छन्– संसारमा धेरै कुरा गर्न आवश्यक छ। तर ती चिज सुन्दर बनाउन पनि उत्तिकै आवश्यक छ।
सुन्दर बनाउने प्रक्रिया उनलाई मनपर्छ। त्यसैले आफ्नो कामलाई फरक फरक तरिकाले सजाउन उनी प्रयास गरिरहन्छन्। यो त्यस्तै प्रक्रियाबाट जन्मिएको नयाँ सिर्जना भएको बताउँदै उनी भन्छन्, 'सुन्दर कुराहरू थाहा पाउनू, बनाउनू र त्यसलाई अरूसम्म पुर्याउनुको मजा लिन चाहन्छु।'