रंगमञ्च
'मुम्बई' उनको जवाफ।
'मुम्बई त दुइटा छन् हैन?' 'गल्ली ब्वाइ' फिल्मको प्रसङ्ग सम्झाउँदै म सोध्छु।
'अँधेरी। हाम्रो थिएटर ग्रुप त्यहीँ छ। हामी त्यहीँ सङ्घर्ष गर्छौं,' उनी त्यसमा थोरै जवाफ थप्छन्।
यस्तो भनेझैँ लाग्छ 'अन्तर्वार्ता लिने मान्छे खुरुखुरु प्रश्न नसोधेर के यताउता अल्मलिँदै छ?'
'मेरो अङ्ग्रेजी खासै गतिलो छैन।'
'मेरो पनि कुन चाहिँ गतिलो छ? अङ्ग्रेजी, हिन्दी जे जे मा मन लाग्छ जवाफ दिए हुन्छ।'
उनी अर्थात् हार्दिक शाह। भर्खरै सम्पन्न नेपाल 'अन्तर्राष्ट्रिय नाटक महोत्सव'मा भारतको मुम्बईबाट 'दि जब' नाटक लिएर आएका थिए। २०१२ मा नेसनल स्कुल अफ ड्रामाबाट पास आउट भएका हुन्। त्यहाँबाट निस्किनासाथ थाहा भयो एनएसडी पास आउट हुनुको बोझ। मानिसहरूका अपेक्षा। किन र कसरीको जवाफ अन्तर्वार्तामा आउँछ।
क्लाउनिङ तथा कमिक फर्ममा देखाइएको उक्त नाटकले सहरको व्यस्तता बिच काम खोज्न सङ्घर्षरत चार युवाले एउटा अवसर लिन गरेको तँछाडमछाड देखाएको थियो। मानिसहरू जोडले हाँसेका थिए। नाटक सकेर बाहिर निस्कँदा उक्त हाँसोले गहिरो सोचमग्नता छरिसकेको थियो।
एक युवा निर्देशक सहरको त्यो कथामा कसरी अडियो? उसलाई किन देखाउनुपर्यो त्यहाँको तँछाडमछाड? उसले सहरलाई कसरी बुझेको छ?
मलाई र नाटक महोत्सवको पब्लिकेसन टिमकी सहकर्मी स्वेच्छालाई हार्दिकसँग यस्तै कुरा सोध्नुथियो। नाटक सकिए लगत्तै उनलाई खोज्यौं र कुरा गर्न थाल्यौं। यहाँ लेखिएका अक्षर तिनै कुराकानी सम्पादित भएर बनेका हुन्।
तपाईंको लागि सहर के हो? यो नाटकमा चार युवाले सहरमा काम पाउन गरेको सङ्घर्ष किन देखाउनुपर्यो?
सहरको अवधारणा व्यक्तिको भोगाइ अनुसार फरक पर्छ। सहरको पुरानो बुझाइभन्दा दिनप्रतिदिन यो पृथक बन्दै गएको छ। गाउँमा जस्तो जाति प्रथा यहाँ छैन। धर्म पनि उस्तै स्वरूपमा रहँदैन। तर यति हुँदाहुँदै कहिलेकाहीँ सहरमा निराशाले छोप्छ। पैसाको पछाडि कुदिरहनु। केले थाकेँ भन्ने नजारेर थाक्नु। चिन्तित जीवनलाई घिसार्नु। कतै नपुग्नु तर पनि हिँडिरहनु। मुम्बई जस्तो सहरमा त अझ बाँच्न ठूलै चुनौती मोल्नुपर्छ।
कहिलेकाहीँ सोच्छु यो सहरमा उभिएर केही बन्न मैले कति धेरै तर्क, नैतिकता तथा मानवीयतालाई मारिसकेँ हुँला? यहाँ आइपुग्दा मेरो सबै थोक कतै पछाडि नै छुटिरहेको पो छ कि?
तर यही चुनौती नै हामीलाई जिउँदो राख्छ। यसले नै समाधान खोज्न लगाउँछ। बलियो बनाउँछ। त्यसैले ती प्रश्नहरूबाट आफूलाई बाहिर ल्याउँछु। अलि दिन सम्हाल्छु। तर बेलाबेला त्यही प्रश्न डर बनेर आइरहन्छ। यसकारण पनि सहर मेरो लागि विविध अनुभूतिहरूको मिश्रण हो।
बाल्यकालले कत्तिको सताउँछ? सहरले त्यसलाई खाइदियो कि हुर्काइदियो?
म गुजरातको सानो गाउँबाट आएको हुँ। मेरो परिवार अहिले पनि त्यहीँ छ। त्यो गाउँमा मेरो परम्परा अझै बाँचेको छ जुन मेरो लागि सधैँ शक्ति रह्यो। जब पनि अस्तित्वको सङ्कटमा पर्छु, गाउँ जान्छु। केही दिन उतै हराएर उभिन सक्ने भएर फर्किन्छु। सहर हुन्जेल बढेका नकारात्मक सोच त्यहाँ पुगेपछि सकारात्मक हुन्छन्। म आन्तरिक रूपमा मेरो बाल्यकाल र गाउँसँग गाँसिएको छु। मेरो परम्परासँग जोडिएको छु।
नाटकमा चार युवाको सङ्घर्ष हाँसउठ्दो तरिकाले देखाउनुभएको छ। यसलाई कमेडीको माध्यमबाट भन्नुको कुनै कारण?
मैले कसैलाई रिसाएर गाली गरेँ भनेँ उसको चित्त दुख्न सक्छ। तर हाँस्दै कसैलाई गाली दिएँ भनेँ त्यसले उसलाई सोच्ने बनाउँछ। यसैकारण पनि मलाई यो कुरा हँसाएरै भन्नु थियो। म सिरियस कुरा भन्न चाहन्छु तर हेरुन्जेल दर्शक हाँसेको हेर्न चाहन्छु। दर्शक हाँस्दा हाँस्दै आफूलाई त्यो अवस्थामा पाऊन्। प्रतिस्पर्धाको नाममा आफूले खुट्टा तानेका मान्छेहरू याद गरून्। मैले के गुमाइरहेको छु भन्ने सम्झिऊन्। यी कुरा नाटक हेरुन्जेल नसम्झिएपनि बेलुका घर पुगेपछि सोचून्।
यही कुरा सिरियस भएर पनि भन्न सकिन्थ्यो होला। अवसरबाट वञ्चित भएको कोही मान्छेको दुखद कहानी देखाउन सकिन्थ्यो होला। तर लाग्यो दुख त हामीसँग छँदै छ, जुन कुराको कमी नै छैन त्यही कुरा मैले स्टेजमा देखाउनुको के मतलब? मलाई हाँस्ने तरिकाहरू पनि खोज्नु थियो। त्यो खोजीमा आफ्नो स्ट्रेसलाई हटाउनु पनि थियो।
हाँस्ने सामाग्रीहरूको हामीलाई किन जरुरी छ?
किनकि हाँस्ने कारण कम हुँदै गएका छन्। यसैले यसको खोजी व्याप्त छ। मान्छे मनोरञ्जन खोजिरहेका छन्। हँसाउने कुराहरू खोजिरहेका छन्। हरेक दिन हामी सहरमा एक्लो एक्लो हुँदै गएका छौं। आफ्नो व्यक्तिगत जीवन। प्रविधि। सामाजिक सञ्जाल। म मभन्दा भित्र भित्र गइरहेको छु। त्यो एकान्तताले मलाई मोबाइलसम्म त पुर्याउला तर पनि म एक्लो नै रहन्छु। म आफूलाई जहिल्यै एक्लो महशुस गर्छु।
यो नाटक हेर्दै गर्दा दर्शकहरू किन हाँस्छन्? स्टेजमा हाँसउठ्दो दृश्य देखेर वा त्यो दृश्यमा आफ्नै पीडा वा आफूलाई नै देखेर?
ट्र्याजेडी वा कमेडीले तब मात्र काम गर्छ जब मानिसहरू त्योसँग जोडिन्छन्। त्यो सम्पर्कले प्रस्तुत भएको विषयसँग दर्शकको सम्बन्ध स्थापित गर्छ। हामीले नेपालमा प्रस्तुत गर्नुभन्दा पहिला यहाँ बोलिने केही हाँसउठ्दा वाक्य पनि टिपेका थियौं। नेपालमा के भन्दा मान्छे हाँस्छन् भन्ने कुराको खोजी थियो त्यो। नाटक नन भर्भल भए पनि बेलाबेला पात्रहरू छोटा छोटा वाक्य बोल्छन्। ती वाक्य सकेसम्म देखाइएको ठाउँको संस्कृति र भाषासँग मिले भने मान्छे हाँस्छन्।
त्यस कारण पनि हामी के भन्दा मान्छे हाँस्छन् भन्ने खोज्छौं। यहाँका मानिसहरूलाई बुझ्ने एउटा माध्यम पनि भइदिन्छ त्यो। यदि म नेपाली बोलिरहेको छु तर कसैसँग सम्पर्क भइरहेको छैन भने त्यसको काम छैन। प्रतिस्पर्धाको नशाले हामी धेरै केवल आफूसँग केन्द्रित हुन थालिसकेको छ। हामीलाई हाम्रो मात्र मतलब छ। नयाँ ठाउँमा जाँदा बोलिएन भने तथा संस्कृति बुझिएन भने त जहाँको त्यहाँ नै रह्यौं नि।
'दि जब ' नाटक र रङ्गकर्मी हुनुको आफ्नो यथार्थलाई कसरी जोड्नुहुन्छ?
यो मेरो व्यक्तिगत जीवनको कथा पनि हो। नेसनल स्कुल अफ ड्रामाबाट पास आउट हुँदासम्म मलाई के गर्ने थाहा थिएन। एकपल्ट त्यहाँ पुगेर अध्ययन गर्ने हरेक कलाकारको सपना हुन्छ। मेरो पनि थियो। तर त्यहाँबाट निस्कनासाथ बाटो अल्मलियो। त्यो संस्थाबाट धेरै ठुला ठुला महान् कलाकारहरू निस्किएका थिए। त्यसले पनि मानिसहरूको अपेक्षा म प्रति धेरै थियो। एक रनभुल्लमा परेको मान्छेसँग अपेक्षा।
अब के हुन्छ बुझ्न खोजिरहेको थिएँ तर जवाफ पाइरहेको थिइनँ। कुनै काम त पाउन सकिन्थ्यो तर त्यो कामले कसरी बाँच्ने? बाँच्नु र बस्नु फरक फरक कुरा रहेछन् भन्ने महशुस भयो। म बाँच्नकै लागि सङ्घर्ष गर्ने अवस्थामा पुगेँ। धेरै खराब दिन देख्नुपर्यो। अझै आफ्नो बाटो पाइरहेको थिइनँ। भौतारिएँको थिएँ। अनि लाग्यो कुनै न कुनै कुरा गलत भइरहेको छ।
जब लामो समय आफैंलाई प्रश्न गरिरहेँ, थाहा भयो, म त अरूको यात्रा हेरेर आफ्नो बाटो बनाउन खोजिरहेको रहेछु। हुनुपर्ने त मेरो आफ्नै बाटो हो। सुन्नुपर्ने त मैले आफूलाई नै हो। त्यसपछि मसँग के छ र मैले के बनाउन सक्छु भन्ने कुरा खोज्न थालेँ। त्यसरी आफूतिर फर्किने क्रममा यो नाटक तयार भएको हो।
यसले सहरमा बढिरहेको तीव्र प्रतिस्पर्धाले के चिज गुमाइरहेको छ भन्ने कुरा खोज्छ। म कुनै अडिसनमा जाँदा तर आफूसँगै बस्ने कलाकार साथी गयो भने उसले अवसर उम्काउन सक्छ भन्ने लागेर नभनी जान थालेँ। त्यस्तो कसरी भयो? म यस्तो त थिइनँ।
आर्थिक रूपले सोच्दा मुम्बईको थिएटरमा हुन कत्तिको कठिन छ?
यो पनि व्यक्तिको अनुभव अनुसार फरक पर्छ। २०१२ मा हामीले ग्रुप रजिष्टर गर्यौं। २०१४ बाट नाटक बनाउन थाल्यौं। हामीसँग केही थिएन। सुरुसुरुमा पैसा जोगाउन दिनको ३ किलोमिटरसम्म हिँड्थ्यौं। पछि हामीले निःशुल्क वर्कसप दिन थाल्यौं। त्यसले बिस्तारै बजार बढ्न थाल्यो।
मानिसहरूले हामीलाई पत्याउन लागे। पछि पैसा पनि तिर्न थाले। मलाई थिएटर गर्न मात्र आउँथ्यो। आफूले गरेको कुरालाई बाहिर लगेर बेच्न सक्दिनँ थिएँ। पछि थाहा भयो काम गर्न मात्र हैन गरेको कामलाई बेच्न पनि जान्नुपर्ने रहेछ।
प्रोफेसनल आर्ट र कमर्सियल थिएटर ग्रुपमा के फरक छ? के यी सँगसँगै जान सक्छन्?
कमर्सियल र प्रोफेसनल थिएटर ग्रुपमा फरक छ। पहिलोले पैसा कसरी कमाउने भन्ने कुरा सोचिरहेका हुन्छन् भने दोस्रोलाई पैसा दोस्रो प्राथमिकता भइदिन्छ। उनीहरूलाई आफ्नो डिग्निटी र प्यासन पनि बचाउनुपर्छ। पहिला मलाई मानिसहरूलाई कसरी बोलाउने वा मान्छेसम्म कसरी पुग्ने भन्ने थाहा थिएन। एक-दुई शोमा मैले चिनेका मानिस आउलान् तर त्यसले त पुग्दैन। उनीहरूले कतिन्जेल मलाई हेरिदिएलान्।
त्यसपछि मैले मार्केटिङ सिकेँ। ती मानिससम्म पुग्न प्रयत्न थालेँ जसले थिएटरलाई साँच्चिकै पैसा दिनेवाला छन्। त्यसले धेरै काम गर्यो। तपाईंले गुगलमा जानुभयो भने हामीलाई सामाजिक सञ्जालमा भेट्नुहुन्छ। मानिसहरू सामाजिक सञ्जालमा छन् त्यसैले हामी पनि त्यहाँ हुनुपर्छ। यो भर्चुअल अफिस जस्तो भइसकेको छ। आफूलाई चाहिने धेरै मान्छे त्यहाँ पाउन सकिन्छ। काम दिने र खोज्नेहरू त्यतै भेटिन्छन्। अहिले धेरै मानिसहरूले हामीलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर आएका छन्।
भारतमा नाटकमा काम गर्ने सरकारी संस्थाको अवस्था कस्तो पाउनुभएको छ? उनीहरू कत्तिको सहयोग गर्छन्?
अहिलेसम्म हामीले जति पनि काम गर्यौं ती सबै हामी आफैंले जुटाएर गरेका हौं। पैसा लिन प्रक्रिया लामो छ। त्यसमाथि पनि उनीरूले भनेको विषयमा मात्र काम गर्नुपर्छ। थिएटर गर्नलाई सरकारले पैसा दिन्छ भनेर पर्खिने कुरा पनि हुँदैन। त्यसैले त हामीले मार्केटिङ सिक्यौं। अहिले वर्कसप दिन्छौं। त्यसबाट कमाउँछौं र थिएटरमा लगाउँछौं।
थिएटरले समाज रूपान्तरणलाई कसरी सहयोग पुर्याइरहको हुन्छ?
मेरो काम समाजका कसैलाई पढाउनु हैन। म मोरल पुलिस हैन। किनकि मानिस मानिस, घर घर, समाज समाज, देश देश, सबैको विश्वास अलग छ। मैले गर्न सक्ने भनेको आफ्नो समस्या बुझ्ने मात्र हो। म केवल मेरो समाज बुझ्न सक्छु। मैले आफूलाई बुझेर समाजको समस्यालाई थिएटरमा पुर्याउन खोजेँ भने पनि पुग्यो।
यो नाटक पनि मेरो व्यक्तिगत यात्रा थियो। त्यो बाँच्नको सङ्घर्षलाई हामीले नाटक बनायौं। मेरो जस्तै यात्रा गर्न चाहनेहरू मसँग जोडिए। यही कुरा अरू मानिससम्म पनि पुग्यो। थिएटर यसरी नै मानिसहरूसम्म पुग्ने हो।
कथामा एक मात्र महिला पात्र छन्। यो योजनाबद्ध थियो या महिला कलाकार नपाएर?
जानेरै एकजनामात्र महिला पात्र राखेको हो। त्यसले समाजमा महिलाको अवस्था देखाउन खोजेको हुँ। त्यहाँ तीन पुरुष छन्। एक भर्खरै श्रम बजारमा आइपुगेको छ, अर्को काम गरिरहेको मान्छे हो र अर्को पाको। तीन फरक उमेर समूहका पुरुषहरू भए पनि तीनै जना उक्त केटीलाई जिस्काउन वा सताउन लागिपरहेका छन्। समाजको जुनसुकै ठाउँमा गएपनि उसले समस्या बेहोर्नुपरेको छ। त्यसैले उसको उपस्थिति समाजको त्यो अवस्थाप्रतिको मेरो प्रतिक्रिया हो।
थिएटरमा आउन लागेको नयाँ व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ?
कसैले काम दिन्छ र गर्छु भनेर नआउनुहोला। यहाँ काम कसैले पनि दिँदैन। आफ्नो काम आफैंले सिर्जना गर्नुपर्छ। आफू केमा वेस्ट छु वा कसरी आफ्नो क्षमता बढाउन सक्छु भन्ने कुरामा जहिल्यै पनि सचेत हुनुपर्छ। यहाँ तपाईंका बारेमा सोच्ने तपाईं बाहेक अर्को कोही पनि छैन।