पर्दा खुल्नासाथ खचाखच दर्शकदीर्घामा हाँसो गुञ्जियो।
नाटकका पात्रहरू मञ्चमा तपस्या गर्दै छन्, ‘ॐ भ्रष्टाचाराय नमः, ॐ कमिसनाय नमः, ॐ दुराचाराय नमः, ॐ नातावादाय नमः ।’
पौराणिक शैलीमा मञ्चन गरिएको नाटक 'मुसल पर्व' ले राजनीतिक भ्रष्टाचारको विषय उठाएको छ।
सुरूआतमा केही व्यक्ति दसै मान्न सरसामग्री जोहो गरिरहेका देखिन्छन्। एक जना साधु आएर भन्छन्, 'तिमीहरू कृष्णका सन्तान हौ।'
दसैं मनाउने धूनमा हिँडेकालाई त्यसको के मतलब! उनीहरू साधुलाई नै लुट्न खोज्छन्।
यसबीच कंशको प्रवेश हुन्छ। उनी आफूलाई कहिल्यै नमर्ने घोषणा गर्दै अशक्त जनतामाथि दमन गर्न थाल्छन्। अर्कातिर, आफूलाई कृष्णको सन्तान मान्ने ‘साम्भ’ भन्ने व्यक्ति कंशसँग गठबन्धन गर्छन्।
साम्भ र कंशले जनताको आँशु मदिराका रूपमा पिउँछन्। शान्ति र सदाचारका लागि तपस्या गरिरहेका जनतालाई गिज्याउन थाल्छन्।
विस्तारै साम्भ र कंशको मुटाव हुन्छ। उनीहरू आपसमै लड्न थाल्छन्। अन्तमा भगवान् कृष्ण प्रकट भएर भन्छन्, ‘तिमीहरूले आफ्नो घमण्ड देखायौ, अब तिमीहरू सकिन्छौ । त्यसैले सबै मिलेर मुलुक बनाउनतर्फ लाग।’
सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार सुरू ‘रारा राष्ट्रिय नाटक महोत्सव–२०७५’ को पहिलो दिन मञ्चन गरिएको यो नाटक वर्तमान राजनीतिक बेथिति र भ्रष्टाचारमाथिको व्यंग्य हो।
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल १२२ औं स्थानमा छ। एक सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रणका लागि एकदमै न्यून कदम चाल्नेमा नेपाल पर्छ।
‘मूसल पर्व’ ले देशको यही समसामयिक परिस्थिति उजागर गरेको यसका लेखक तथा निर्देशक गणेशभक्त गौतम बताउँछन्।
नाटकले नेताको झूटो आश्वासन, उनीहरूको स्वार्थ, भ्रष्टाचारमा संलग्नलाई राजनीतिज्ञबाट हुने संरक्षण, नागरिकका आधारभूत समस्या लगायत विषय उठान गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेको यो महोत्सव फागुन २९ गतेसम्म चल्नेछ। सांस्कृतिक प्रतिष्ठान तथा आरङ्ग नेपालद्वारा आयोजित महोत्सवमा अब १२ वटा नाटक मञ्चन हुनेछन्।
महोत्सवमा सबै प्रदेशका रंगकर्मीहरूका नाटक मञ्चन गरिनेछ। शुक्रबार प्रदेश नम्बर १ बाट सोलुखुम्बु नाट्य समूहबाट युवराज युराकद्वारा निर्देशित ‘आरन’ प्रदर्शन हुनेछ। शुक्रबारै दिउँसो ३ बजे प्रदेश ७ को खप्तड सांस्कृतिक मञ्च, कैलालीबाट पुष्पा अवस्थीद्वारा निर्देशित ‘छाउ’ प्रदर्शन हुनेछ।
त्यस्तै, शनिबार बिहान ११ बजे प्रदेश १ बाट मानव अधिकार मञ्च नेपाल, इलामबाट सुरेश पोर्तेलद्वारा निर्देशित नाटक ‘म पहिलो सन्तान किसान जन्माउँछु’ प्रदर्शन हुनेछ। दिउँसो ३ बजे कर्णाली प्रदेशको कर्णाली कला प्रतिष्ठान, सुर्खेतबाट बालकृष्ण सुनारद्वारा निर्देशित नाटक ‘आमाको सपना’ प्रदर्शन हुनेछ।
आइतबार प्रदेश २ बाट श्री गढीमाई नाट्य कला केन्द्र, बाराको रामलोचन चौरसियाद्वारा निर्देशित ‘दहेज आ दारु’ प्रदर्शन हुने छ। त्यसै दिन प्रदेश ७ को सुदुरपश्चिमाञ्चल साहित्य समाज कैलालीबाट भिष्म जोशीद्वारा निर्देशित नाटक ‘श्रीमान् बीरबहादुर’ प्रदर्शन गर्ने कार्यक्रम छ।
सोमबार प्रदेश नम्बर ३ को साइलेन्ट एक्ट, काठमाडौंबाट ‘जिउँदो आकाश’ र कर्णाली प्रदेशको कर्णाली खस संस्कृति मञ्च जुम्लाबाट रन्नीबहादुर घर्तीले निर्देशन गरेको ‘फड्को’ नामक नाटक मञ्चन हुनेछ।
मंगलबार प्रदेश नम्बर ४ को मञ्जरी नाट्य समूह लमजुङबाट पुरु लम्सालले निर्देशन गरेको ‘नौगेडी’ र प्रदेश नम्बर ५ को शान्तिका लागि युवा सञ्जाल बर्दियाबाट झकेन बिसीले निर्देशन गरेको नाटक ‘हिटवा’ प्रदर्शन गरिनेछन्।
अन्तिम दिन २९ गते प्रदेश नम्बर ४ को युथ क्रिएसन थिएटर पोखराबाट केदार पौडेलले निर्देशन गरेको ‘घेरो’ र प्रदेश नम्बर ३ को ‘ङ समूह’ काठमाडौंबाट प्रवीण खतिवडाले निर्देशन गरेको नाटक ‘एक बोली एक दाम’ मञ्चन हुनेछ।