केटी साथीको अश्लिल फोटो र भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिआइबीले बैतडी देहमाण्डी ६ का २३ वर्षीय राजबहादुर बोहरालाई पक्राउ गरेको हो। उनले केटी साथीको अश्लिल फोटो र भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने गरेको सिआइबीकी एसपी मिरा चौधरीले जानकारी दिइन।
ब्ल्याकमेलिङ उनलाई केटी साथीले रकम र गरगहना लिएको समेत खुल्न आएको छ। अश्लिल फोटो र भिडियो बोहराले केटी साथीको आफन्तहरुलाई समेत फेसबुक च्याटमा पठाउने गरेका थिए। केटी साथीले भने बोहरा रातको समयमा आफ्नो कोठामा आएको र नशालु पदार्थ खुवाइ बेहोस बनाइ अश्लिल भिडियो खिचेको बताएकी छिन्।
मानसिक पीडा भएपछि उनी प्रहरीसमक्ष आएकी थिइन। बोहरालाई विद्युतिय कारोबार ऐन २०६३ मा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको एसपी चौधरीले बताइन। फेसबुकमार्फत ठगी र चरित्रहत्या गर्ने काम भइरहेको भन्दै एसपी चौधरीले सामाजिक संजाल प्रयोग गर्ने सबैलाइ सचेत रहन आग्रह गरेकी छिन्।