सन् २०१० मा इङ्ल्यान्डविरुद्ध लर्डस टेस्टमा १ सय ६१ दशमलव १ किलोमिटर प्रति घण्टाको गतिमा बल फ्याँकेर विश्व क्रिकेटमा आफ्नो धाक जमाएका अस्ट्रेलियाली बलर साउन टेटले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएका छन्।
उनी पछिल्लो समय कुहिनाको समस्याबाट पीडित थिए। उनले सन् २००७ मा कङ्गारुलाई विश्व कप जिताउन उच्च योगदान गरेका थिए। त्यतिबेला उनी ११ खेलमा २३ विकेट लिन सफल भएका थिए। लर्डसमा उनले गरेको बलिङ अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो तीब्र बल थियो।
टेट अन्तिम पल्ट बिग बास लिगअन्तर्गत सिड्नी थन्डर्सविरुद्ध होबर्ट हुरिक्यान टिमबाट देखा परेका थिए। १२ वर्ष लामो आफ्नो करिअरबाट बिदा लिएको घोषणा गर्दै ३४ वर्षीय टेटले भने, ‘ साच्चिकै भन्नु पर्दा म केही वर्ष अझै खेल्न चाहन्थे। इङ्ल्यान्ड नभए घरमा अन्तिम खेल खेलेर बिदा लिने मेरो सोच थियो।’
टेटले अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट गत वर्ष सिड्नीमा भारतविरुद्ध टि–२० खेलेका थिए। पाँच वर्षपछि पुनः मैदानमा फर्किएका उनले तीन टेस्ट र ३५ एकदिवसीय तथा २१ टि–२० खेलेका थिए।
टेटको अन्तर्राष्ट्रिय डेब्यु सन् २००५ मा इङ्ल्यान्डविरुद्ध नोटिङ्घमबाट भएको थियो। उनले पहिलो टेस्टमै तीन विकेट लिएका थिए। टेटले तीन टेस्टमा ५ तथा ३५ एकदिवसीय ६२ विकेट लिएका थिए। २१ टि–२० मा उनको नाममा २८ विकेट छ। चोटका कारण उनी टिममा भित्रबाहिर हुँदै आइरहेका थिए।