स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्ने कार्यविधि र मापदण्ड बनाएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले घोषणा–पत्र तयारीको कामलाई पनि अघि बढाएको छ।
धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आईतबार बसेको पार्टी स्थायी समिति बैठकले अब चुनावी घोषणा–पत्र तयारीको कामलाई पनि अघि बढाउने औपचारिक निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतावद्ध भएर निर्वाचनमा जुटनुपर्ने आवश्यक्तामा पनि जोड दिएका थिए। स्थानीय तहको निर्वाचनको घोषणा–पत्र तयारीको कामलाई अघि बढाउने निर्णय लिइएको पार्टी केन्द्रिय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
उनले निर्वाचनमा विजय हासिल गर्नेगरी पार्टीलाई परिचालन गर्ने पनि उल्लेख गरे।
एमालेले तराई मधेशमा चुनाव केन्द्रित अभियान संचालन गर्न चैत्र १६ र १७ गते महोत्तरीको बर्दिबासमा २ नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेला पनि बोलाएको छ । निर्वाचनका लागि आवश्यक तयारी गर्न प्रदेश नम्बर दुई मै भेला राख्ने निर्णय गरिएको कार्यालय सचिव श्रेष्ठले जानकारी दिए। यस अघि बसेको एमाले स्थायी समिति बैठकले चैत महिनाभर प्रदेश नम्बर दुईमा सांगठनिक गतिविधिको कामलाई अघि बढाउने र बैशाख लागेपछि निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि एमालेले जनाएको छ।
त्यसैगरी एमालेले पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको भन्दै उनीहरूलाई उचित जिम्मेवारी दिने गरी कार्ययोजना बनाउने जिम्मेवारी केन्द्रिय सचिवालयलाई दिएको छ । एमालेले स्थानीय कमिटीको सिफारिसमै स्थानीय तहको उम्मेदवारी तय गर्ने कार्यविधि बनाएको छ । लोकप्रियता, पार्टीप्रति प्रतिवद्ध, इमान्दार र आर्थिक अनुशासनमा दृढ रहेकाहरुलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने पनि एमालेले स्पष्ट पारेको छ।