जिल्ला प्रशासन कार्यालय पाँचथरले सीमा प्रशासन कार्यालय स्थापना गरी सेवा दिन थालेपछि स्थानीयवासी हर्षित भएका छन्।
जिल्लाको सुदूरउत्तर दुर्गम च्याङ्थापु र फलैंचा गाउँपालिकामा सीमा प्रशासन कार्यालयबाट सेवा दिन थालिएपछि त्यहाँका नागरिकमा हर्ष छाएको छ।
द्वन्द्वकालमा बन्द रहेको उक्त कार्यालय १८ वर्षपछि सुरु भएको हो। सेवा सुरु भएसँगै नागरिकता, जन्म तथा मृत्यु दर्ता र अन्य सिफारिसका कार्यमा सहयोग पुगेको छ। ती काम सदरमुकाम पुगेर गर्दा दुई दिनको समय र पाँच हजार रुपैयाँ खर्च लाग्ने तर अब त्यसो नहुने स्थानीयवासी श्याम बेघाको भनाइ छ।
आर्थिक तथा भौगोलिक कठिनाइको कारण त्यस क्षेत्रका नागरिक सदरमुकाम आइपुग्न सक्दैनन्। त्यहाँका नागरिकलाई थप सेवा, सुविधा तथा सुरक्षा दिन सशस्त्र प्रहरी बल र बैङ्कसमेत राख्नुपर्ने माग रहेको स्थानीयवासी दिल्ली दाहालले बताएका छन्।
प्रशासन, सुरक्षा र गाविस कर्मचारी पर्याप्त नहँुदा सेवा प्रभावकारी हुन सकेको छैन।।ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा क्षेत्रमा रहेको गाविसका नागरिकलाई यस क्षेत्रबाट सेवा दिन सबै प्रकारको सरकारी कार्यालय राख्ने पहल भइरहेको स्थानीय मोहन धौलारीको भनाइ छ।
भौगोलिक कठिनाई भए तापनि सुरक्षाकर्मीबाट नियमित गस्ती हुने गरेको छ। सुरक्षाकर्मीको सङ्ख्या पर्याप्त नभएको र खुल्ला सीमा भएर पनि सीमा प्रहरी चौकीले सुरक्षा प्रदान गर्दैआएको सुरक्षाकर्मी रीता भट्टराईले बताइन्।
नागरिकलाई थप सेवा दिने प्रयास भइरहेको र उक्त स्थानको सुरक्षा सेवा मजबुत बनाउन समेत पहल गरिरहेको पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिएका छन्। रासस