इन्डियन प्रिमियर लिग(आइपिएल) को दशौं संस्करणदेखि खेलाडीको हेलमेटमा क्यामरा जडान हुने भएको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले यसपालि सुरु हुने दशौं आइपिएलमा ब्याट्सम्यानको हेल्मेटमा क्यामराको प्रयोग गर्ने विषयमा सम्बन्धित सबै पक्षसँग कुरा अगाडि बढाएको छ।
दर्शकहरुले खेलमा थप रोमाञ्चकता महसुस गरुन र क्रिकेट बुझ्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ हेल्मटमा क्यामरा प्रयोग गर्न सक्रियता अगाडि बढाएको हो। क्यामराको प्रयोगले बलरको एक्सन र बल रिलिज बुझ्न पनि सहयोग पुग्ने आशा गरिएको छ।
यसअघि अस्ट्रेलियाको बिग बास लिगमा ब्याट्सम्यानको हेल्मेटमा क्यामराको प्रयोग भइसकेको छ। २०१२ को सिजन अस्ट्रेलियाले यसको प्रयोग गरेको थियो, जुन दर्शकका लागि रोचक बन्न पुगेको थियो। सबैभन्दा पहिले शेन वाट्सनले क्यामरावाला हेल्मेटको प्रयोग गरेका थिए।
अस्ट्रेलियामा हाल ब्याट्सम्यानको हेल्मेट र अम्पायरको टोपीमा गरेर दुईवटा क्यामरा प्रयोग हुने गरेको छ। अम्पायरको टोपीमा २०१४ देखि लागु गरिएको थियो।
दशौं संस्करणको आइपिएल ५ अप्रिलदेखि सुरु हुँदैछ। पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्लोर र सनराइजर्स हैदराबादबीच हुँदैछ।