जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकतालगायत सबैखाले सूचनालाई प्रविधिमैत्री बनाएर जनतालाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्ले आजदेखि बुटवलमा अभिमुखीकरण तालिम सुरु भएको छ।
गृह मन्त्रालयद्वारा आयोजित उक्त चार दिने अभिमुखिकरण तालिममा ५ नं प्रदेशका ११ जिल्लाका जिल्ला तथा इलाका प्रशासन कार्यालयका कर्मचारीको सहभागिता छन्। कर्मचारीलाई प्रविधिमैत्री बनाउने लक्ष्य तालिमले लिएको छ।
सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जनतालाई दिने सेवा सुविधा प्रविधिको विकासले छिटोछरितो र स्तरीय बनाउने भएकाले सबै कार्यालयमा आधुनिक प्रविधिको प्रयोग हुनुजरुरी भएको बताए।
गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले जतिसक्दो प्रविधिको प्रयोग र व्यवस्थापन गर्न सकिन्छ, कार्यालयबाट जनतालाई प्रदान गरिने सेवा सुविधा त्यती नै सहज र सरल हुन्छ भन्दै प्रविधिको विकासँगै दक्ष जनशक्ति र तालिमको अवसरमा कमी भएकाले व्यवस्थापनमा केही समस्या देखिएको बताए।
गृह मन्त्रालयका उपसचिव श्रवणकुमार तिमिल्सिनाले हाल गृह मन्त्रालयले जिल्ला तथा इलाका प्रशासन कार्यालयहरुमा सूचना प्रविधिको विकास गरी जनतालाई सहज र छिटो छरितो सेवा प्रदान गरिँदै आएको बताए।
गृह मन्त्रालयले नागरिकता प्रविधि व्यवस्थापन (सिआइएमएस) सफ्टवेयरको विकास गरी जनतालाई छिटोछरितो नागरिकता वितरण गर्न र देशभरिका नागरिकतालाई अभिलेखीकरण गर्ने काम भएको बताउँदै उनले भने – ‘देशभरिका झन्डै एक करोड ७५ लाख नागरिकता यसै सफ्टवेयरमा अभिलेखीकरण गरिएको छ ।’ रासस