नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजदूत नियुक्तिको विषयमा कडा आक्रोश पोख्दै नेपाली काँग्रेस बेथितिबाट चलेको आरोप लगाएका छन्।
बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा एमालेको कोटाबाट चुनाव जितेकी आशा लामा कसरी नेपाली काँग्रेसको कोटाबाट राजदूत सिफारिसमा परिनन् भन्दै कोइरालाले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन्।
‘आशा लामा भन्ने व्यक्तिका बारेमा अहिले धेरै प्रश्नहरू उब्जिएका छन्। पहिलो-बैदेशिक रोजगार व्यवसायी संघको निर्बाचनमा एमालेको कोटाबाट चुनाव जितेकी व्यक्ति कहिले काँग्रेस भईन्?’
कोइरालाले आफ्नो फेसबुकमा लेखेका छन्, ‘दोस्रो, म्यानपावर संचालन गरेर बसेको व्यक्तिलाई राजदूत जस्तो सम्मानित पदमा नियुक्ति गरेर पठाउँदा यसले कस्तो सन्देश जान्छ?’
उक्त सिफारिसले नेपाली काँग्रेसलाई बदनाम गरेको कोइरालाको दावी छ। उनले लेखेका छन्- ‘त्यसबाट काँग्रेसको साख कहाँ पुग्छ?’
उक्त सिफारिसले नेपाली काँग्रेस संस्थागतरूपले नचलेको कुरा प्रष्ट भएको पनि कोइरालाले निष्कर्ष निकालेका छन्l उनले भनेका छन्, ‘संवेदनशील र राष्ट्रिय महत्वका कुनैपनि बिषयमा निर्णय गर्दा केन्द्रीय समितिमा छलफल हुनुपर्नेमा त्यो हुन नसक्नु र पार्टी बेथिती ढंगले अगाडि बढ्नु दुर्भाग्य होl’
राजदूत नियुक्तिमा समावेशी सिद्धान्त नअपनाइएको कारणले पनि राजदूत सिफारिसलाई विरोध गर्नुपर्ने उनले बताएका छन्l
‘अर्कोतर्फ राजदूत नियूक्तिमा समावेशी सिद्धान्तलाई पनि लत्याउने काम गरियो,’ उनले भनेका छन्, ‘संसदीय सुनुवाई समितिले पनि यसलाई गम्भीर रूपमा लिनुपर्छ।‘
सरकारले भर्खरै गरेको राजदूत नियूक्ति प्रक्रियाले नेपाली काँग्रेस पार्टी नेता तथा कार्यकर्ता र आम नागरिक सबैलाई आश्चर्यचकित बनाएको कोइरालाले बताएका छन्।