हामीलाई नाच्छ पनि मन पर्छ होला, तर हामीमध्ये धेरैको ढंग पुग्दैन। यो लेख पढ्नुअघि भने एक पटक नाच्ने प्रयास गर्नु होला।
आफूलाई मन पर्ने गीत घन्काउनुस्, टाउको हल्लाउनुस् र कम्मर मर्काउनुस्। आफ्ना हात र खुट्टा पनि त्यहीअनुरुप चलाउनुस्।
तपाईंका शरीरका अंग कसरी चल्दैछन् ख्याल गर्नुस्। कम्मर कसरी हल्लियो? खुट्टा र हात एकैसाथ एकै दिशामा घुमे वा छुट्टा-छुट्टै घुमे? तपाईंको शरीर कति जोडले हल्लियो?
त्यस्ता कुराले तपाईं कति राम्रो नृत्य गर्न सक्ने मानिस हो भन्ने कुरा निर्धारण गर्छ। ३९ जना नृत्यङ्गनाको नृत्य अध्ययनपछि गत विहिबार प्रकाशित एक अनुसन्धान रिपोर्टले उक्त निष्कर्ष निकालेको हो।
अध्ययनअनुसार उच्च स्तरको नाचमा कम्मर बेस्सरी हल्लिने र दाहिने तथा देब्रे हात-खुट्टा स्वतन्त्र ढंगले चल्ने गर्छ।
अनुसन्धानकर्ताको भनाइअनुसार त्यस्ता शारीरिक गतिले महिलाका दुई वा बढी उदेश्य पूर्ति गर्छ।
‘पहिलो, त्यसबाट उनीहरुले आफ्नो प्रजनन क्षमता वा शरीरको हर्मोनको अवस्था पुरुषलाई देखाउँछन्,’ मनोवैज्ञानिक डा. निक निभ भन्छन, ‘दोश्रो, आफ्नो क्षमता कति हो भन्ने कुरा उनीहरुले आफ्ना महिला प्रतिद्वन्दीलाई देखाउँछन्।’
प्राध्यापक निभ बेलायतको नर्थमब्रिया विश्वविद्यालयका प्राध्यापक हुन् l
अनुसन्धानकर्ताको यही समूहले सन् २०११ मा पुरुष नर्तकहरुको पनि अध्ययन गरेको थियो। उक्त अध्ययनअनुसार महिलाले नाचेको समयमा पुरुषको माथिल्लो भाग अत्यधिक चलेको मन पराउँछन्।
‘हामीले थाहा पायौं नाचको समयमा देखिने शरीरको गतिले पुरुषमा तेज र शक्ति प्रदर्शन गर्दछ,’ डा. निभ भन्छन्, ‘अहिले हामीले महिलाबारे त्यस्तै अनुसन्धान गर्दैछौं।'
उक्त अध्ययनमा विश्वविद्यालयका ३९ महिलालाई ड्रमको धुनमा छुट्टाछुट्टै नाच्न भनिएको थियो। नाचेको समयमा उनीहरुको शरीरको गति निरीक्षण गर्न ‘मोसन क्याप्चर’ प्रणाली प्रयोग गरिएको थियो र उनीहरुले नाचको स्तर जाँच्न अंक पनि दिइएको थियोl
उनीहरुले कति राम्रो नाचे भन्नेबारे कम्मरको गति निर्णायक भयो। कम्मरको गति स्त्रीत्वको सूचक भएको कारण त्यसो भएको हुनसक्छ।
डा. निभ भन्छन्, ‘महिला र पुरुष हिँड्दा पुरुषको काँध चलयमान हुन्छ भने महिलाको कम्मर चलायमान हुन्छl दुवै हात-खुट्टा छुट्टै ढंगले चल्छ भने त्यसले मांशपेशीमा बढी नियन्त्रण छ भन्ने कुरा पनि देखिन्छ।
महिला र पुरुषले नृत्यको सुरुवात एक-अर्कालाई प्रभावित गर्ने एक कलाका रुपमा सुरु गरेको हुन सक्ने धेरै अनुसन्धानकर्ताको भनाइ छ।
तर मनोविज्ञान डा. हेलेना पेटरसन बहने नाचले यौन आकर्षण र प्रतिष्पर्धा मात्र होइन अन्य मानवीय संवेदना पनि प्रदर्शन गर्न सक्ने बताउँछिन्।
‘नाचले सम्बन्ध, मित्रता र मानिसहरुबीचका बन्धनहरु पनि उजागर गर्न सक्छ,’ डा. पेटरसन भन्छिन्, ‘जब कसैले आफ्नो नाचबाट आत्मविश्वास देखाउँछ, तपाईंले उक्त व्यक्तिलाई मित्र बनाउन वा ऊ वा उनीसँग आफ्नो समय व्यतित गर्न मन लाग्ने पनि हुन सक्छl’