बालबालिकालाई नियमित विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित ‘दिवा खाजा कार्यक्रम’ विद्यार्थीका अभिभावकले नै सञ्चालन गर्न थालेपछि प्रभावकारी देखिएको छ ।
सरकार र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा सञ्चालित उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन सिन्धुपाल्चोकका दुई गाविस महाँकाल र ठूलोसिरुबारीमा विद्यार्थीका अविभावकले नै समूह बनाई सञ्चालन गरेका छन् । अन्य जिल्लामा भने खाजा व्यवस्थापनको सम्पूर्ण कार्य विद्यालय प्रशासनले नै गर्ने गर्छ ।
गत असोजदेखि सिन्धुपाल्चोकका दुई गाविसका २१ विद्यालयमा परीक्षणका रुपमा सञ्चालित उक्त कार्यक्रमको सफलतापछि छिट्टै बर्दियामा पनि ‘दिवा खाजा कार्यक्रम’ सुरु गरिने डब्लुएफपी नेपालका सञ्चार अधिकृत सीताष्मा थापा बताउँछिन्।
सुदूरपश्चिम र मध्यपश्चिमाञ्चलका १० जिल्लामा सञ्चालित उक्त कार्यक्रम हाल पूर्वका अन्य जिल्लामा पनि विस्तार गरिएको छ । सरकारी तथ्याङ्कानुसार कार्यक्रमबाट करिब दुई हजार पाँच सय विद्यालयका दुई लाख ७० हजार विद्यार्थीले नियमित खाजा प्राप्त गर्छन् ।
डब्लुएफपीले खाजाका अतिरिक्त शिक्षा सचेतना कार्यक्रम, शिक्षकलाई तालिम, पुस्तकालय स्थापना, विद्यार्थीको डिजिटल सिकाइ मञ्चमार्फत गुणस्तरीय सिकाइ सामग्रीमा पहुँच, भान्छेलाई खाना पकाउने र भण्डारणसम्बन्धी तालिम, विद्यालयका भान्छाघर, पानीको स्रोत र शौचालय निर्माण वा पुनःनिर्माणलगायत कार्यमा पनि सहयोग गर्दै आएको छ ।
ती विद्यालयमा खाजा व्यवस्थापनका लागि अभिभावक समूह गठन गरिएका छन् । पाँचदेखि १० जना रहेका समूहमा प्रत्येक अभिभावकले आलोपालो खाजा खुवाउँछन्। अभिभावकले खाजा बनाएबापत दैनिक पारिश्रमिक पनि पाउने व्यवस्था गरिएको उक्त कार्यक्रम लागू भएको हेलम्बु आधारभूत विद्यालयका प्रअ चन्द्रकुमार लामिछाने बताउँछन्। “पहिले हामीलाई खाद्य सामग्री कहाँबाट ल्याउने, भोलि के ख्वाउने भन्ने चिन्ता हुन्थ्यो । अहिले हामीलाई त्यसको चिन्ता नभएकाले हाम्रो सम्पूर्ण ध्यान शिक्षाको गुणस्तर सुधार्नमा केन्द्रित छ”, उनी भन्छन्।
दुबै गाविसमा जयवागेश्वरी महिला विकास र नेत्रज्योति कृषि बचत तथा ऋण सहकारी संस्था लिले खाद्य सामग्री व्यवस्थापनको काम गरेका छन् । कार्यक्रमअन्तर्गत अभिभावक समूहले प्रत्येक विद्यालयमा करेसाबारी निर्माण गरी तरकारी र अन्य बाली उत्पादन गर्न सुरु गरेका छन् । यसबाहेक स्थानीय उत्पादनलाई प्राथमिकता दिएकाका कारण स्थानीय बासिन्दा व्यावसायिक कृषि उत्पादनमा लागेको महिला विकास सहकारीका सञ्चालिका सुभद्रा रुपाखेती लामिछानेका भनाइ छ ।
अमेरिकाको कृषि विभागको सहयोगमा डब्लुएफपीले विद्यालय खाजाप्रति नवीन र समष्टिगत अवधारणाको प्रयोग गर्दै त्यसलाई साक्षरता प्रवद्र्धन, विद्यालय खानेपानी तथा सरसफाइ परियोजनाका साथै बालबालिका, शिक्षक, अभिभावक र समुदायको शिक्षाको महत्वबारे ज्ञान र क्षमता बढाउन उक्त कार्यक्रम सुरुआत गरेको हो ।
विद्यार्थी अभिभावक विमला लामिछाने आफ्ना बालबालिकाका लागि विद्यालयमा आफैँ खाजा बनाउन पाएकामा खुसी व्यक्त गर्दै त्यसमा अपनत्व अनुभव भएको बताउँछिन्। उनी भन्छिन्, “पहिलेको तुलनामा खाजा गुणस्तरीय र पौस्टिक छ । पहिले विद्यालयले खाजाका रुपमा दालमोठ, चना, केराउ, बिस्कुट, चाउचाउ मात्र दिन्थ्यो । अहिले साताभरि नै तालिकानुसारका पोषिलो जाउलो, पुरी, तरकारी, भुटेको मकै– भटमास र चिया, कोदोको र्यालेको रोटी र मासुचिउरा बनाई वितरण गर्ने गरिएको छ ।”
दिवा खाजा कार्यक्रमले विपन्न बालबालिका (विशेष गरी छात्रा) नियमित विद्यालय जाने क्रम बढेको देखिन्छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कानुसार उक्त कार्यक्रम लागू भएका महाँकालका ११ विद्यालयमा छात्रको सङ्ख्या तीन सय २८ तथा छात्राको सङ्ख्या चार सय पाँच छ । यसबाहेक मध्यान्तरपछि विद्यालयमा नबस्ने, बसे पनि पढाइमा ध्यान नदिने तथा भोक र थकाइले अल्छी लागिरहने समस्या निकै कम भएको सरकारी तथ्याङ्कले देखाएको छ । रासस