मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि तिब्र गतिमा काम भइरहेको छ।
अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा पानीको पाइप बिछ्याउने, पोखरी खन्ने लगायतका कामहरू चौबीसै घण्टा भइरहेको छ।
थोक वितरण प्रणालीका लागि ६१ किलोमिटरमा पाइप बिच्छाउनुपर्नेमा ३७ किलोमिटरमा पाइप बिच्छाइसकेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका व्यवस्थापक नन्द खनालले सेतोपाटीलाई जानकारी दिए। ‘वितरण प्रणालीका लागि ६ सय ७० किलो मिटर पाइप बिच्छाउनुपर्नेमा ५ सय २३ किलो मिटर पाइप बिच्छाउने काम सकिएको छ,’ खनालले भने,‘ रात दिन नभनी काम गरेरिरहेका छौ, बाँकी असोजसम्ममा सक्नेछौ।’
इन्टर कनेक्सन र भल्बहरू जोड्ने कामहरू अन्तिम समयसम्म पनि चलिरहने उनले बताए।
६ वटा ठूला पोखरी निर्माणको काम अन्तिम चरणमा
मेलम्चीबाट आएको पानी सुन्दरीजलमा झरेपछि प्रशोधन गरिन्छ। प्रशोधन गरेको पानीलाई पोखरीमा जम्मा गरेर वितरण गरिन्छ। त्यसका लागि ९ वटा नयाँ पोखरी र दुई वटा पुराना पोखरीको प्रयोग हुन्छ।
बालाजु, पानीपोखरी, हेपाली हाइट, महांकाल र ताल्छीखेलमा पोखरी खन्ने काम अन्तिम चरणमा पुगेको खनालले बताए। ती सबै पोखरीहरू ६० देखि ९० लाख लिटर क्षमताका छन्।
आरूबारी, भक्तपुरको टिगीनी र कटुन्जेमा पोखरी खन्ने काम सुरू हुँदैछ। यी पोखरीहरु ६० लाख देखि ८० लाख लिटर क्षमताका छन्। अनामनगर र मिन भवनमा रहेका पुराना पोखरी पनि आयोजनाका लागि प्रयोग गरिनेछ।
‘६ वटा पोखरीको निर्माण आगामी जुन भित्र सकिनेछ। र बाँकी ४ वटाको अर्को डिसेम्बर सम्ममा जसरी पनि सकिन्छ,’ उनले भने यी ठाउँहरूमा पुरानै वितरण प्रणाली अन्तर्गत पानी वितरण हुन्छ।
एक लाख भन्दा बढी धारामा मेलम्चीको पानी आउने
मेलम्चीको पानी पुराना र नयाँ गरी एक लाखभन्दा बढी धारामा आउँछ। त्यसका लागि ८६ हजार नयाँ धारा जोडिने खनालले बताए। अहिलेसम्म ४० हजार भन्दा बढी घरहरूमा धाराको पाइप जोडिसकिएको र चक्रपथ बाहिर पुरानै व्यवस्था अनुसार पानी जाने उनले बताए ।
मेलम्चीको पानी आएपछि दैनिक बिहान दुई घण्टा र बेलुका दुई घण्टा पानी वितरण गरिने योजना छ।
रातमा पनि काम
आयोजनका लागि दिन रात गरी चौबीसै घण्टा काम भइरहेको खनालले बताए। ‘कान्तिपथ, बानेश्वर, गौशाला र चावहिललगायतका ठाउँमा रातको समयमा काम भइरहेको छ,’ उनले भने, ‘ट्राफिक व्यस्त हुने ठाँउहरुमा हामीले रातको समयमा काम गरेका छौ। दैनिक १२ सय देखि १३ सय व्यक्तिहरूले काम गरिरहेका छन्।’
पाइप बिच्छाउने, पोखरी खन्ने, धारा जोड्नेलगायतका सबै कामका लागि करिब २६ अर्ब रूपैया खर्च हुने अनुमान गरिएको छ।
मेलम्चीको पानी आउँदो असोजसम्म काठमाडौं ल्याउने आयोजनाको लक्ष्य छ। त्यसका लागि मेलम्चीको २६ किलोमिटर सुरूङ मध्ये २० किलोमिटरभन्दा बढी सुरूङ खनिसकीएको छ। बाँकी सुरूङ खन्ने क्रममा केही ठाउँमा खराब चट्टान भेटिएकोले केही चुनौती थपिएको छ।