जाडो छल्न साइपस र हिमाली भेगबाट पोखरा आउने चराहरू पछिल्लो वर्षहरुमा घट्दै गएको छ। टाईगर माउण्टेन पोखरा लज, पोखरा पन्छी समाज, नेपाल पन्छी संरक्षण संघ पोखराको आयोजनामा कास्कीका ताल तथा सिमसार क्षेत्रमा चरा गणनाबाट पन्छि आउने क्रम घटेको देखिएको हो। कास्कीका ९ ताल, एक पोखरी र एक विजयपुर खोलामा गणना गरिएको थियो ।
साइपस र हिमाली क्षेत्रबाट पोखराको फेवा ताल, लेखनाथको बेगनास ताल, मैदी ताल, दिपाङ्ग ताल, खास्टे ताल, न्युरेनी ताल र गुदे ताल, रुपाताल, कमल पोखरी र विजयपुर खोलामा गरिएको गणनाबाट चराहरु आउने क्रम घट्दै गएको देखिएको हो ।
जाडो छल्न चराहरु पुसदेखि फागुनसम्म पोखरा आउने गरेका छन्। पन्छि संरक्षण नेपालले पोखरामा सन् २००४ बाट यही समयमा चराहरु गणना गर्दै आएको छ । पोखराको फेवातालमा यो समयमा ४० प्रजातीका चराहरु पाइने भए पनि यो वर्ष ३६ प्रजातीका चराहरु मात्र पाईएको चरा गणनाका प्रमुख झलक चौधरी बताए।
गणनामा सबै भन्दा बढी रूपातालमा आउने चराहरुको संख्यामा कमि देखिएको छ। उनले खास्टे र रुपातालमा बाहेक सबै ठाउँमा कमि आएको बताए। पहिले ४५ प्रजातिका चराहरु पाइने गरे पनि त्यो संख्या घटेर ४३ प्रजातिमा झरेको चौधरीले बताए। गणनाबाट दिपाङ, मैदी ताल, कमलपोखरी र विजयपुर खोलामा सबैभन्दा कमी आएको उनले बताए । प्रजातीमा करिब एउटै भएर पनि चराहरु आउने संख्यामा भने धेरै फरक आएको बताए।
अघिल्लो वर्ष ३ हजार ७ सय ६४ चराको गणना भएकोमा यस वर्ष ३ हजार ४ सय ८८ वटा मात्रै गणना भएको उनले बताए ।
यस वर्ष गणनामा फेवातालमा ३६, बेगनासतालमा १४, रुपातालमा २५, मैदीतालमा ४, दिपाङ्गतालमा २५, खास्टेतालमा १५, न्युरेनीतालमा ७, कमलपोखरीमा ४ र विजयपुर खोलामा ५ प्रजातिका चराहरु भेटिएको पंछी समाजका संस्थापक मनशान्त घिमिरेले जानकारी दिए। उनले फुके हाँस, सुनजुरे हाँस चार बर्ष पछि देखिएको बताए।
पोखरा र आसपासका क्षेत्रमा पहिले ५ सय ३ प्रजातीका चराहरु पाइने भए पनि अहिले घटेर चार सय ५० प्रजातीका मात्रै चराहरु भेटिने गरेका छन्। पछिल्लो समयमा सिमसार सुक्दै जानु, घना बस्ती बढ्न, चराहरुका लागि आवश्यक बासस्थानको आभावका कारण जाडो र गर्मी याममा आउने चराहरु घट्दै गएको विज्ञहरु बताए।
प्रत्येक वर्ष जनवरी ७ देखि २२ अर्थात पुस २३ देखि माघ ९ सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना हुँदै आएको छ। पोखरामा रहेका तालहरुमा माघ २ देखि ४ गते सम्म पंछी गणना भएको हो ।