चियाको गिलास बोकेर ऊ टेबलको अर्कोपट्टि आएर बसी। दुईचोटी सुरुप्प पारी। अनि पसलेसँग भनी– दाइ, लाइटर कता छ? पसलेले उसलाई लाइटर ल्याइदियो, मलाई बिस्कुट।
म हातमा लेमन टीको गिलास समाएर बसेको थिएँ। मेरो खाजा नै लेमन टी र बिस्कुट थियो।
उसले रेड सूर्य सल्काई। एकदुई सर्को तानी। स्वाट्ट धुँवा फाली। गिलास उठाएर चिया सुरुप्प पारी। धुँवा मेरो अनुहार छिचोल्दै गयो। हात हल्लाएर नाकभित्र पस्न खोजेको धुँवा पन्छाएँ। आँखा तरेर उसलाई हेरें। मनमनै सोचें– कस्ती सोमत नभएकी केटी रैछ।
उसले पनि मलाई हेरी। बाँया आँखा झिम्काएर सोधी– खान्छौं? उत्तर पनि आफैं दिई– हुन त दुध चिया खान नहुने मान्छेसँग चुरोट खाएर क्यान्सरलाई च्यालेन्ज गर्ने आँट छैन होला।
मैले जवाफ फकाईन। अनुहार रातोपिरो भयो। एउटी केटीले हाकाहाकी मेरो आँटमाथि प्रश्न जो गरेकी थिई।
हामी अफिसका साथी प्रायः हुल बाँधेर खाजा खान जान्थ्यौं। ऊ पनि साथीसँगै आउँथी, खाजा खान।
चिया पसलमा दिनहुँ हाम्रो देखादेख हुन्थ्यो तर कुराकानी हुन्थेन। ऊ साथीहरुलाई कहिले फिल्मका कथा, कहिले कता कता घुमेका कुरा भनिरहेकी हुन्थी। अरु टेबुलमा बसेकाले नचाहेर पनि उसका कुरा सुन्नै पथ्र्यो।
‘आज किन एक्लै?’ उसको प्रश्नले मलाई स्मृतिबाट ब्युझायो।
‘साथीहरु आएर गएछन्, काममा बिजी भएर म छुटें’, मैले सोझो उत्तर दिएँ।
‘कति चिसो छ है आज’, उसले भनी ‘खाजा त मैले अघि नै खाएर गको, साह्रै चुरोट खान मन लागेर फेरि आएँ।’
मैले केही बोलिनँ। नसोधेको प्रश्नको उत्तरमा बोल्ने कुरा पनि भएन।
‘तिमी आफ्नो ग्याङको सबैभन्दा जुनियर हो?’ उसले सोधी।
‘किन?’
‘जहिले अरुका कुरा सुनेर बस्छौ, कहिल्यै आफू कुरा गर्दैनौं नि।’
‘तिम्राजस्ता नचाहिने कुरामा मेरो रुची छैन,’ मैल उपेक्षा गर्दै भनें।
‘कहाँ काम गर्छौं?’ उसले प्रसंग बदली।
‘यहीँ पल्तिर छ अफिस, हिँड्दै गए पाँच मिनेट लाग्छ।’
‘कस्तो बांगो कुरा गर्छ इडियट’, उसले मुख बिगारी, ‘मैले अफिस कहाँ छ सोध्या हो र अफिसको नाम पो सोध्या।’
कसैको अलिकति गाली र नमिठो वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी।
‘तिमीलाई इडियटहरु मन पर्छन्, हो?’ केहीबेरमा प्रतिप्रश्न गरें।
‘सोधेको प्रश्नले उल्टो जवाफ दियौ त्यै भएर भनेकी, डन्ट माइन्ड,’ उसले भनी, ‘बाइ द वे इडियटहरु सोकल्ड ज्ञानीजस्ता ढोंगीचाहिँ हुन्नन।’ उसका ओठबाट निस्केको चुरोटको धुँवा फेरि मेरो अनुहार छिचोल्दै गयो।
अब मलाई चुरोटको धुँवा नाकभित्र पस्ला भन्ने पीर भएन, उसको वाक्यले मुटुमै हानिसकेको थियो– इडियटहरु सोकल्ड ज्ञानीजस्ता ढोंगीचाहिँ हुन्नन।
त्यतिबेला म धर्मशास्त्रका किताब पढिरहेको थिएँ। अष्टावक्र गीता, महाभारत, रामायण, गरुड पुराण, स्वस्थानी व्रत कथा, मनुस्मृतिका कुराले एक अनौठो संसार देखाइरहेका थिए। जुन कुरा डिग्री पढुञ्जेल कोर्समा मैले कतै पढ्न पाइँन।
‘कर्म गर्ने फलको आश नगर्ने, क्षमाशील, सबैलाई समान देख्ने, सम्पत्तिको लोभमा नफस्ने, धर्मशास्त्र अनुसार काम गर्ने पुरुष ज्ञानी हो। ज्ञानी पुरुष पत्नी र पुत्रको मोहमा पर्दैन, सुखदुखमा समभाव राख्छ, कर्ताबोध र अहंकार त्याग्छ।’ यस्ता तमाम कुरा पढेपछि मेरो मनमा ज्ञानी पुरुष बन्ने नयाँ सपना सवार थियो।
ज्ञानी पुरुष बन्न जाँड रक्सी छोडेको थिएँ, चुरोट सिकेकै थिइन्, छोड्नै परेन। दुध चियाको साटो लेमन टीमा झरेको थिएँ। बिस्तारै चियै खान छोडिदिने सोच थियो।
ती किताबमा ज्ञानी पुरुष बन्न ब्रम्हचर्य पालना गर्नुपर्छ पनि लेखेको थियो।
बाटोमा कोही राम्री केटी देखे नदेखेझैं गर्थें। कलेज पढ्दा लभसभ पनि एकदुई वटा नपरेका होइनन्। तर गन्तव्यमा नपुगेरै ती अधुरा कहानी बने, गृहस्थीसम्म पुग्नै पाएनन्।
अब त त्यो गृहस्थीबाट पनि टाढा हुनु थियो। ज्ञानी पुरुष बन्ने कुरामात्र दिमागमा फनफनी घुमीरहेको थियो।
तर यसले कति सजिलै मलाई इडियट भनिदिई।
मैले उसलाई फेरि हेरें, ऊ गुलाबी ओठबाट चुरोटको धुँवा उडाइरहेकी थिई। त्यो बिस्तारै बिस्तारै माथि गएर हराइरहेको थियो। गिलासको चिया आधा भइसकेको थियो। उसको अनुहार हेरेपछि आफैंप्रति शंका लाग्यो– यसलाई सबै कुरा थाहा छ, म सोकल्ड ज्ञानी अर्थात् ढोंगी बनिरहेको छु कि क्या हो।
‘कुन दुनियाँमा हरायौ?’ उसले स्ट्रेमा चुरोटको ठुटो राखेर भनी।
‘सोकल्ड ज्ञानीहरु किन ढोंगी हुन्छन्?’ मैले प्रतिप्रश्न गरें।
‘हुन्छन्, अब किन किन, डन्ट बी भेरी सिरियस अबाउट एनी थिङ’, ऊ कुर्सीबाट उठी र भनी, ‘दाइ, उसको र मेरो कति पैसा भयो?’ कोटको खल्तीबाट कच्याककुचुक परेको पाँच सयको नोट झिकेर पसलेलाई दिई।
म एकछिन ट्वाँ परें। पर्स निकाल्दै भनें– अफिसमा जुनियर हुँ भन्दैमा आफूभन्दा पनि जुनियर नठान। आफ्नो पैसा म आफैं तिर्छु।
‘डन्ट वरी, अर्को दिन तिम्रो पालो।’ पसलेले फिर्ता दिएको पैसा समातेर मोबाइल चलाउँदै ऊ हिँडी।
म रन्थनिएँ। टाउको भारी भयो। सोचें– कस्ती सोमत नभएकी केटी रैछे। एक त चुरोट खाँदै हिँड्छे। त्यसमाथि मेरो पनि पैसा तिरेर कति न स्मार्ट बनेकी।
घर आएर फेरि पढ्न थालें गीता। श्रीकृष्ण भन्नुहुन्छ –हे अर्जुन, जुन मानिसका इन्द्रीयहरु समस्त विषयहरुबाट विमुख भएर उसको वशमा हुन्छन्, उसको बुद्धि स्थीर हुन्छ।’
तर म त स्थीर छैन। म त जिन्दगीमा नाम अनि दाम कमाउन सकिन्छ कि भनेर भौंतारिरहेको छु, कहिले यता कहिले उता। कसैले राम्रो भने गदगद हुन्छु। नराम्रो भने खिस्रिक्क पर्छु, भित्रभित्रै। तर बाहिर केही नभएजस्तो गर्न खोज्छु। साथीहरुको प्रगतिमा ईष्र्या लाग्छ, आफूले त्यो गर्न नसकेकोमा हिनतावोध हुन्छ।
यी इन्द्रीय पनि कहाँ मेरा वशमा छन् र? के म त्यो केटीले भनेजस्तै ढोंगी बनिरहेको छु? राति अबेरसम्म ऊ मेरो दिमागमा घुमिरही।
त्यसपछि पनि ग्रुपमा खाजा खान जाँदा ऊसँग देखादेख हुन्थ्यो। ऊ कहिलेकाँही मलाई आँखा झिम्क्याइदिन्थी। ज्ञानी पुरुष बन्न लागको म बेवास्ता गरेजस्तो गर्थें।
एकदिन हाम्रो छेऊको टेबुलमा निन्याउरो अनुहार लगाएकी एक केटीलाई ऊ भनिरहेकी थिई– हेर, यो मायाप्रेम भन्ने कुरा सब इलुजन मात्र हो, जे भयो त्यसको टेन्सन नले, भोलि पर्सि पनि के होला डन्ट वरी। जे हुन्छ राम्रैका लागि हुन्छ....।
उसले त्यही भनी जे गीता सार भनेर मैले पढेको थिएँ– विगतको पश्चाताप नगर, भविष्यको चिन्ता नगर, जे भो राम्रो भयो, जे हुनेछ राम्रै हुनेछ।
के यसलाई यी सब कुरा थाहा छ? लेमन टीको गिलास समातेर मैले उसलाई हेरें। उसले मलाई आँखा झिम्क्याई र नाक खुम्च्याई। सायद मनमनै सोची होली – दुध चिया खाने पनि आँट छैन यो केटाको।
निन्याउरो अनुहार लगाएर बसेकी केटीलाई उसले के के भनी जाने बेलामा त्यसको अनुहार उज्यालो थियो।
त्यो केटी उज्याली बनी तर त्यही दिनदेखि ज्ञानी पुरुष बन्ने मेरो सपना फिक्का बन्यो।
महाभारत, गीता, रामायण, मनुस्मृति, गरुड पुराणभन्दा त्यो केटी एक्लै भारी लाग्न थाली।
अर्को दिन खाजा खान जाँदा उसलाई सुनाएर मैले भनें– दाइ, मलाई पनि दुध चिया है।
‘तिमी फेरि दुध चिया खान थाल्यौ?’ अफिसको दाइले सोधे।
‘लेमन टी खायो भने धितै मर्दैन, जेसुकै होस् दुध चिया खान्छु अब।’
मेरो हातमा दुध चिया देखेर ऊ हाँसी, आँखा झिम्काई। अनि दाँया हातको बुढी औंलाले लाइक गरी। मैलें मनमनै कल्पना गरें– एकदिन यसकै सामू चुरोटको धुँवा उडाउँदै हिन्छु अनि चाल पाउँछे, म कति आँटिलो छु भनेर।
घर आएपछि मलाई धर्मशास्त्रका किताब समाउन मनै लागेन। बरु उसका बारे कुरा खेल्न थाले– कसकी छोरी होली? हेर्दा त क्षेत्री बाहुनजस्ती देखिन्छ, चुरोट खाँदै हिँड्ने केटीले धर्मशास्त्रका कुराचाहिँ कसरी जानी होली? उसको नालिबेली पत्ता लगाउने इच्छा भयो। लोभ, ईष्र्या, मोह त्याग्ने साधनामा को टाउको दुखाइरहोस्।
अर्को दिन ऊ चिया खान आइन। हप्ता दिन बित्यो अहँ, ऊ कतै देखिइन। उसका साथीहरु आउँथे, सुस्तरी कुरा गर्दै खाजा खाएर जान्थे। मैले सोचें– त्यो एक्लै चुरोट खाएर जान्छ होली।
त्यो दिन आकाश बादलले भरिएको थियो। बाहिर एकदमै चिसो थियो। ऊ चुरोट खान आउँछ कि भन्ने आशमा एक्लै पसलतिर गएँ।
पसलभरि नजर डुलाए पनि उसलाई कतै देखिनँ। मेरो मन मौसम जस्तै चिसो भयो। पसलेलाई भनें– दाइ, मलाई एक कप लेमन टी बनाइदिनु न।
उसले मुसुक्क हाँसेर भन्यो – सर, तपाईँको दुध चिया दुई÷चार दिनमा आउँछ रे।
मैले ठूलो पोल खुलेजसरी उसलाई हेरें।
‘उहाँले मलाई त्यो केटाले सोध्यो भने १०÷१२ दिनमा आउँछ भनिदिनु है भन्नु भएको थियो। आजसम्म मैले भन्नै पाइनँ।’
‘कहाँ गएको हो रे?’ मैले उत्साहित हुँदै सोधें।
‘त्यो त भन्नुभएन, यो दिन भन्नुभाथ्यो’ उसले भिजिटिङ कार्ड मेरा हातमा थमायो।
शिखा शर्मा पौडेल, पब्लिक रिलेसन अफिसर, कामुधेनु फाउण्डेसन। कार्डमा उसको मोबाइल नम्बर र इमेल ठेगाना पनि थियो। कार्ड हेरेर एक्लै मुस्कुराएँ।
सामुन्नेमा उभिएको पसलेले सोध्यो, ‘के ल्याउँ सर, दुध चिया कि लेमन टी?
म दोधारमा परें– अब लेमन टी खाउँ कि दुध चिया?
@bhanubhakta567
सुन्नुहोस् अब अडियोमा