नेपाल र भारत सरकारको संयुक्त पहलमा कैलाली जिल्लामा निर्माण गरिएको हुलाकी राजमार्गको आज यहाँ उद्घाटन गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत रन्जीत रेले आज आयोजित कार्यक्रममा उक्त सडकको संयुक्त रुपमा उद्घाटन गरे।
भारत सरकारको अनुदान सहयोगमा कैलाली जिल्लाको लम्कीदेखि खक्रौलासम्मको (उत्तर दक्षिण) झन्डै २७ किलोमिटर हुलाकी सडक निर्माण पूरा भएको छ।
यस्तै धनगढीदेखि भजनी हुँदै सत्तीसम्मको (पूर्वपश्चिम) ६२ किमी सडकमध्ये वसन्ता जङ्गल क्षेत्रको झन्डै १८ किमी क्षेत्रबाहेक बाँकी भागमा हुलाकी सडक निर्माण पूरा भएको छ ।
निर्माण हुन बाँकी १८ किमी भागको सडक निर्माण नेपाल सरकार आफैँले निर्माण गर्न लागेको र यसका लागि बोलपत्र आह्वानसमेत भइसकेको बताइएको छ।
सडक निर्माणका लागि रेखाङ्कन गरिएको वसन्ता जङ्गलमा रुख कटानीको प्रक्रिया ढिलो गरी सुरु भएको लगायतका कारण यो भागको सडक निर्माणमा विलम्ब भएको हो । भारतीय निर्माण कम्पनी जिआर गावरले हुलाकी सडकको निर्माण कार्यको ठेक्का पाएको थियो ।
भारत सरकारको अनुदान सहयोग करिब एक अर्ब २६ करोडको लागतमा यो सडकको निर्माण गरिएको हुलाकी सडक आयोजना कैलालीका प्रमुख तुरन्त मण्डलले जानकारी दिए।
हुलाकी राजमार्गअन्तर्गत ठूला नदीमा पर्ने पुलको निर्माण, जग्गाको मुआब्जा, माटो, ढुङ्गा, गिट्टीजस्ता सामग्री व्यवस्थापनको जिम्मा नेपाल सरकारले र सडकलगायत साना पुलेसाको निर्माणको जिम्मा भारत सरकारले लिएको थियो । हुलाकी सडकखण्डमा पर्ने पुलमध्ये अधिकांश पुलको निर्माण पूरा भइसकेको छ । काँन्द्रा, कटनी, पवेरा, कनरी, कानी र खक्रौला नदीमा पुल निर्माणाधीन छ।
विकासका लागि महत्वपूर्ण पूर्वाधारका रुपमा लिइने हुलाकी राजमार्ग निर्माणपछि सीमावर्ती क्षेत्रका बासिन्दालाई आवागमनमा सुविधा पुग्ने भई उनीहरुको आर्थिक जीवनस्तरमा परिवर्तन आउने विश्वास गरिएको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्ग तराई मधेसको आर्थिक समृद्धिको मार्ग रहेको बताउँदै राजमार्ग निर्माणमा भएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए।
उनले हुलाकी सडक आयोजनाअन्तर्गत नेपालका १५ जिल्लामा झन्डै ७५० किमी हुलाकी सडक निर्माणको काम अघि बढेको जानकारी दिए।
छुट्टै प्रशङ्गमा उनले संविधानलाई सर्वस्वीकार्य बनाई निर्वाचनमा जाने सरकारको प्रमुख एजेन्डा रहेको बताए।
नेपालका लागि भारतीय राजदूत रेले प्राचीनकालदेखि नै दुवै देशको सम्बन्ध प्रगाढ र घनिष्ट रहेकाले कुनै व्यक्ति विषेश वा सरकारले चाहँदैमा यो सम्बन्धलाई बिगार्न नसक्ने बताए।
दुई देशबीचको सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले भने “घनिष्ट सम्बन्धकै कारण कहिलेकाहीँ केही समस्या आउन सक्छन् ।” दुवै देश भौगोलिक, सांस्कृतिक, धार्मिक रुपमा जोडिएको उल्लेख गर्दै उहाँले अहिले दुवै देशको चुनौती राजनीतिक नभई विकास नै भएको बताए।
निर्माण भएको हुलाकी राजमार्ग नेपालको विकासका लागि उपयोगी हुने उल्लेख गर्दै उनले भारत सरकारले नेपालको शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधार, सिँचाइ ऊर्जा विकासलगायतमा सहयोग गरिरहेको बताए । रासस