नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आज प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गर्दै हस्ताक्षर र घरदैलो अभियान सुरु गरेका छन्।
बबरमहलस्थित नयाँ शक्तिको केन्द्रीय कार्यालय नजिकै रहेको आर्ट काउन्सिल अगाडि राखिएको ब्यानरमा हस्ताक्षर गरेर उनले यो अभियान सुरु गरेका हुन्।
हस्ताक्षर अभियान सुरू गर्नु अगाडि उनले करिब ५ मिनेटको भाषण गर्दै स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताए।
'संविधान जारी भएपछिको १५ महिनामा तीनवटा सरकार परिवर्तन भइसकेका छन्,' उनले भने, 'नयाँ संविधानमा भएको संसदीय व्यवस्थाले हामीलाई स्थिरता दिन सक्दैन भन्ने प्रष्ट भइसकेको छ। त्यसैले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नु आवश्यक छ।'
'समृद्धी हाम्रै पालामा सम्भव छ' भन्ने नयाँ शक्तिको नारा सार्थक बनाउन स्थिर सरकार आवश्यक हुने तर्क गर्दै उनले स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक भएको बताए।
छ महिनासम्म सञ्चालन हुने यो अभियान अन्तर्गत देशैभरी घरदैलो र हस्ताक्षर अभियान गरिने नेता खिमलाल देवकोटाले सेतोपाटीलाई बताए।
उनले भने, 'हामी छ महिनासम्म यो अभियान देशैभरी सञ्चालन गर्छौं। हाम्रा राजनीतिक मुद्धाहरु जनतालाई बुझाउन र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति तथा पूर्णसमानुपातिक निर्वाचन प्रणालीका लागि जनमत तयार गर्न यो अभियान सुरु गरेका हौं।'
डा.भट्टराई आजै बबरमहलस्थित केही घरमा पसेर पार्टीको राजनीतिक मुद्धाहरूबारे सर्वसाधारणसँग छलफल समेत गरेका छन्।
'उहाँले घरदैलो कार्यक्रम उद्घाटन गर्नुभएको हो,' नेता देवकोटाले भने, 'यो अभियान आजैबाट देशैभरी चल्ने छ।'