१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीको अग्रता कायमै रहेको छ। बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स ट्रेनिङ सेन्टरको नवनिर्मित कोटमा बिहीबार
नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले अग्रता बनायो। आफ्नो छैटौं खेलमा पनि अपराजित रहँदै न्यु डायमन्डले आर्मीलाई २५–६, २५–४ र २५–१५ को सोझो सेटमा पराजित गर्यो। न्यु डायमन्डको १८ अंक पुगेको छ।
अन्य खेलमा नेपाल पुलिस क्लव र भारतीय खेलाडीको बाहुल्य रहेको रिड मोडल कलेजले पनि सफलता हात पार्यो। ४ खेलसम्म अपराजित रहेको एपीएफलाई भारतका प्रभावशाली खेलाडी सम्मिलित स्वयम्भू ठूलो भ¥याङस्थित रिड मोडल कलेजले ३–१ को सेटमा हरायो। प्रतिस्पर्धात्मक खेलमा रिड मोडल २५–१८, २२–२५, २५–२२ र २७–२५ ले विजयी भयो।
त्यसैगरी नेपाल पुलिसले विजेश्वरी ज्ञान मन्दिर स्कुललाई २५–६, २५–४ र २५–७ को सोझो सेटमा पराजित गर्यो। जितसँगै ७ खेलबाट पुलिसले १५ अंक जोडेको छ र लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ।
प्रतियोगितामा अहिलेसम्म ५ खेल खेलेको सशस्त्र प्रहरीको एपीएफ क्लव चार खेलमा जित र एकमा हारसँगै १२ अंक जोड्दै लिगको तेस्रो स्थानमा झरेको छ। चौथो स्थानमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ४ खेलबाट ९ अंक जोडेको छ। नेपाल आर्मीको ५ खेलबाट ९ अंक छ।
आयोजक ढोरपाटन स्पोटर््स क्लवले ६ खेलबाट ८ अंक जोडेको छ भने रामेछापको चन्डेश्वरी युवा क्लवले ७ खेलबाट ७ अंक जोडेको छ। बिजेश्वरी ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लवले खाता खोल्न सकेका छैनन्।
बिहीबार भएको पहिलो खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलले रामेछापको चन्डेश्वरी युवा क्लवलाई ३–० को सेटमा पराजित गर्यो। पश्चिमाञ्चलले चन्डेश्वरीलाई २५–१३, २५–१२ र २५–१५ ले पराजित गर्यो भने दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई पराजित गरेको थियो। पश्चिमाञ्चल २५–९, २५–१३ र २५–६ स्कोरले विजयी भयो।