सडकका कारण विस्थापित बनेका यहाँका सीमान्तकृत माझी समुदाय पुनःस्थापित हुने भएका छन्। विसं २०४६ मा बागलुङ– पोखरा सडक खन्ने क्रममा थातथलो गुमाएका माझी घर पाउने भएपछि खुसी भएका हुन्।
बागलुङ नगरपालिका कार्यालयले माझी बस्ती व्यवस्थापन कार्र्य अघि बढाएको हो। माझी व्यवस्थापनको सबै काम एक वर्षभित्र पूरा गरिने घर निर्माण गर्ने ठेकेदार कम्पनी र नगरपालिकाबीच बुधबार सम्झौता भएको छ।
बागलुङ नगरपालिका– १ खनियाँ बासमा १४ माझी परिवारका लागि घर निर्माण हुनेछ । प्रति एक परिवारले पाउने तीन आना जग्गामा तीन कोठे घर निर्माण हुने नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए।
‘ब्लक’ र जस्तापाता प्रयोग गरेर बनाइने एक तल्ले ती घर कुल रु ८२ लाख ३० हजारको लागतमा निर्माण हुने भएका छन्।
नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा निर्माण हुने शौचालयसहितको तीन कोठे घर करिब ६ लाखमा निर्माण हुनेछ।
नगरपालिका र स्थानीयवासीको लामो प्रयासपछि माझी समुदायको दीर्घकालीन व्यवस्थापन सम्भव भएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीको भनाइ छ । ‘२०७४ दसैँभित्र माझी परिवारलाई घर हस्तान्तरण गर्छौं, यो नगरपालिकाको प्राथमिकता प्राप्त र महत्वपूर्ण योजना हो’ अधिकृत अधिकारीले भने। रासस