मुलुककै दोस्रो र पर्वतकै एकमात्र सरसफाइयुक्त नमुना गाउँ विकास समिति एकै दिन तीनवटा अभियान सम्पन्न गरेर झनै नमुना बनेको छ।
पर्वतको थापाठाना गाविस बिहीबार एकैदिन पूर्ण साक्षर, पूर्ण खोपयुक्त तथा उज्यालो गाविस घोषित भएको हो। गाविसमा आयोजित एक विशेष समारोहबीच पूर्ण साक्षर, पूर्ण खोप तथा उज्यालो गाविस घोषणा गरिएको छ।
गाविसमा रहेका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिक लेख्न र पढ्न र हिसाब गर्न जान्ने भएपछि पूर्ण साक्षर घोषणा गरिएको छ । गाविसमा अहिले निरक्षरको सङ्ख्या शून्य रहेको गाविस सचिव पूर्णबहादुर भण्डारीले जानकारी दिए।
त्यस्तै, उक्त गाविसमा जन्मेदेखि २ वर्षसम्मका बालबालिकालाई नियमित खोपको मात्रा पूरा गरेपछि पूर्ण खोप गाविस घोषणा गरिएको छ भने गाविसका सबै वडामा फलामे पोलसहित विद्युतीकरण गरिएकाले उज्यालो गाविस घोषणा भएको हो । उक्त अभियान सँगै गाविस जिल्लाकै नमुना र सक्रिय गाविसका रुपमा परिचितसमेत भएको छ ।
घोषणा सभामा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले थापाठाना गाविस सबैखाले अभियानमा सबैभन्दा अगाडि देखिएको भन्दै थापाठानाको अभियानलाई अरू गाविसले पनि सिको गर्नुपर्ने बताए । घोषणा मात्र सबैथोक नभएको उल्लेख गर्दै पौडेलले अभियानको निरन्तरतामा जोड दिन सरोकारवालालाई आग्रह गरे।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा फणिन्द्र बरालले अभियानमा देखिएको जोस र जाँगर निरन्तर राख्न आग्रह गरे। सो अवसरमा स्वास्थ्य चौकी निर्माणका लागि पाँच रोपनी जग्गादान गर्ने थापाठाना–६ का जुद्धबहादुर केसी र कलावती केसी तथा कृषि सम्पर्क केन्द्रको भवन निर्माणका लागि तीन रोपनी जग्गादान गर्ने थापाठाना–६ का धनबहादुर क्षेत्री र भीमकुमारी क्षेत्रीलाई सम्मान गरिएको थियो।
त्यस्तै, पूर्ण खोप अभियानमा सहयोग गर्ने नौवटै वडाका स्वास्थ्य स्वयम्सेविका, पूर्ण साक्षरता अभियान चलाउने सबै विद्यालय र शैक्षिक, सामाजिक तथा सरसफाइको क्षेत्रमा उल्लेख्य योगदान गर्ने थापाठाना माविका शिक्षक गणेश शर्मा पौडेललाई सम्मान गरिएको छ।
सन् २०१७ भित्र पर्वत जिल्लालाई नै पूर्ण साक्षरतायुक्त जिल्ला र पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने योजना अघि बढाइएको छ । अहिलेसम्म २५ गाविस पूर्ण साक्षर र ३१ गाविस पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । रासस