काठमाडौं विश्वविद्यालयले पहिलोपटक कात्तिक २२ गते लिएको एमबिबिएस बिडिएस प्रवेश परीक्षामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट एक जनामात्र विद्यार्थी भर्नाका लागि योग्य छानिए।
काठमाडौं विश्वविद्यालयका अनुसार नोबेलमा निवेदिता चापागाईं भर्नाको प्राथमिक सूचीमा परेकी विद्यार्थी थिइन्। केयुका अनुसार प्रवेश परीक्षा दिएर पास हुनेले ल्याएको अंकका आधारमा प्राथमिक र वैकल्पिक सूची निर्धारण गरिन्छ।
बढी अंक ल्याउने विद्यार्थी भर्नाका लागि योग्य हुन्छन्। कम ल्याएकालाई वैकल्पिक सूचीमा राखिन्छ र विद्यार्थी अपुग भएमा उनीहरुलाई नै भर्ना हुन आह्वान गरिन्छ।
नोबेलमा एक जना पनि वैकल्पिक सूचीमा विद्यार्थी परेनन्। विश्वविद्यालय परीक्षा शाखाका अधिकारीहरूका अनुसार यसको अर्थ के हो भने नोबेलमा अरु विद्यार्थीले प्रवेश परीक्षा पास गरेनन्।
सिट संख्या पूरा नभएपछि काठमाडौं विश्वविद्यालयले आफू अन्तर्गतका मेडिकल कलेजहरूमा दोस्रोपटक बिहीबार प्रवेश परीक्षा लिएको थियो। नोबेल मेडिकल कलेजमा लिइएको प्रवेश परीक्षामा मोबाइलमार्फत ह्वाट्स एपबाट चिट चोराइयो।
नोबेल मेडिकल कलेजमा लिइएको एमबिबिएस-बिडिएस प्रवेश परीक्षामा मोबाइल, उत्तर ह्वाट्स एपमा
गण्डकी मेडिकल कलेजमा विद्यार्थी शून्य, जानकीमा एक जना मात्रै
पहिलो त विद्यार्थी नै नआएको, दोस्रो प्रवेश परीक्षामै पास नहुने समस्या झेल्नु परेपछि नोबेलले चिट चोरी अपनाएको थियो। स्रोतका अनुसार नोबेलमा परीक्षा सुरू भएको आधा घन्टाभित्रै प्रश्नपत्र बाहिरिएको थियो।
परीक्षा सुरु भएको ३७ मिनेटमा ९३ वटा प्रश्नको उत्तर परीक्षा हलभित्र पुर्याइसकिएको थियो।
दिल्लीबाट विद्यार्थी लिएर आएका एक कन्सलटेन्टले विद्यार्थी भर्नाको लेनदेनमा कुरा नमिलेपछि चिट चोरी सार्वजनिक गरेका छन्। ती कन्सल्टेन्टले उपलब्ध गराएको ह्वाट्स एप च्याटमा परीक्षा सुरू भएको ३७ मिनेटमा ९३ वटा प्रश्नको उत्तर परीक्षा हलभित्र पुगेको देखिन्छ।
च्याटमा नेपाल र भारतको सीमकार्ड प्रयोग भएको देखिएको छ। अधिकारीहरूले नेपाल प्रहरीले छानबिन गरे यसको तथ्यमा पुग्न सजिलो हुने बताएका छन्।
काठमाडौं विश्वविद्यालयकै व्यक्तिहरू पर्यवेक्षक रहेको परीक्षामा मोबाइल छिराएर च्याटमार्फत उत्तर उपलब्ध गराएको भेटिएपछि उक्त परीक्षाको मर्यादामा प्रश्न उठेको छ। काठमाडौं विश्वविद्यालयले चिट चोरी प्रकरण ‘मिडियाबाट सुनेकाले यसको आधिकारिकता खोजिने’ बताएको छ।
‘हामीले मिडियाबाट सुन्यौं, के भएको रहेछ यो विषयमा आधाकारिक जानकारी लिन्छौं, पक्कै छानबिन हुन्छ,’ विश्वविद्यालयका रजिष्ट्रार डा. भोला थापाले सेतोपाटीसँग भने, ‘बिदाको दिन परेकाले अफिस नगइकन यसबारे थप बताउन सकिएन।’
केयुले यसपालि लिएको परीक्षाको रिजल्ट शुक्रबार सार्वजनिक गरेको छ। यसपटकको परीक्षामा ४९० जना विद्यार्थी पास भएका छन्।
यसपालि ९ जना विद्यार्थीले ८० भन्दा बढी अंक ल्याएका छन्। गत कात्तिकमा लिइएको परीक्षामा एक जनाले मात्र यति अंक ल्याएका थिए।
अघिल्लोपटक लिइएको परीक्षामा केही मेडिकल कलेजमा प्राथमिक र वैकल्पिक सूचीमा विद्यार्थीले नाम निकालेका थिए।
विश्वविद्यालयको आफ्नै कलेजले यसपालि विद्यार्थी अभाव झेल्नुपरेको छ। पहिले एकै परीक्षामा विद्यार्थी पर्याप्त हुने गर्थे।
७५ सिट रहेको केयुको स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलमा अघिल्लोपटक लिइएको प्रवेश परीक्षामा ६२ जनाले प्राथमिक सूचीमा नाम निकालेका थिए। वैकल्पिकमा २१२ जना विद्यार्थी थिए।
वैकल्पिकमा यतिका विद्यार्थीले नाम निकाले पनि ती विद्यार्थी भर्ना हुन नआएपछि फेरि परीक्षा लिनुपरेको विश्वविद्यालयले जनाएको छ। ‘प्राथमिक सूचीमा नाम निस्कनु भनेको भर्ना हुन योग्य विद्यार्थी हो, भर्नाका लागि तयार भएको विद्यार्थी हो,’ केयुका परीक्षा शाखा अधिकृत दीपक दाहालले भने, ‘वैकल्पिकमा नाम निस्केका विद्यार्थी पनि नआएपछि दोस्रोपटक परीक्षा गर्नुपरेको हो।’
कात्तिकमा लिइएको प्रवेश परीक्षामा धेरै मेडिकल कलेजमा प्राथमिक पनि कम र वैकल्पिक उम्मेदवार त झनै कम थिए। ७५ सिट संख्या पाएको विराट मेडिकल कलेजमा १५ जना विद्यार्थी प्राथमिक सूचीमा परेका थिए। देवदह मेडिकल कलेजमा ५ जना थिए। यी दुबैमा वैकल्पिक उम्मेदवार थिएनन्।
११५ सिट पाएको पोखराको मणिपाल मेडिकल कलेजमा ३३ जना विद्यार्थी प्राथमिक सूचीमा परेका थिए। ९४ जनाले वैकल्पिकमा नाम निकाले पनि उनीहरु भर्ना हुन नआएपछि फेरि परीक्षा लिनुपरेको थियो।
११५ सिटको कलेज अफ मेडिकल साइन्सेस भरतपुर २ जना प्राथमिक सूचीका विद्यार्थी थिए। ११५ सिट संख्या भएको नेपालगञ्ज मेडिकल क्याम्पस प्राथमिक उम्मेदवार ५७ जना, वैकल्पिक ७ जना विद्यार्थी थिए। ११५ सिट पाएको काठमाडौं मेडिकल कलेज ५५ जना र वैकल्पिक २०२ थिए। उसले पनि विद्यार्थी अभाव खेपेको थियो।
११५ सिट संख्या पाएको नेपाल मेडिकल कलेज प्राथमिक ५६ जना, वैकल्पिकमा ११६ जना विद्यार्थी थिए। उसले पनि विद्यार्थी अभाव झेल्यो। १०० सिट पाएको लुम्बिनी मेडिकल कलेजमा ३८ जना विद्यार्थीले प्राथमिक सूचीमा नाम निकालेका थिए।