नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले दोस्रो संविधानसभाबाट प्राप्त भएको संविधानलाई रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए। काँग्रेसकै नेतृत्वमा जारी भएको संविधानको रक्षार्थ जस्तोसुकै निर्णय लिन पार्टी तयार हुनुपर्नेमा उनले जोड दिए।
गणेशमान सिंह केन्द्रद्वारा आयोजित “लोकतन्त्रको संस्थागत विकास र गणेशमान सिंह” विचार गोष्ठी कार्यक्रममा नेता सिंहले यो कुरा बताएका हुन्। कार्यक्रममा नेपालमा प्रजातन्त्र र लोकतन्त्र स्थापित गराउन उल्लेखनीय योगदान पु¥याएका चार प्रजातान्त्रिक योद्धालाई सम्मान गरिएको छ। सम्मानित हुनेमा मार्सलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठ र शिवगोपाल रिसाल छन्।
विसं २०७४ माघभित्र विभिन्न तीन चरणको निर्वाचन सम्पन्न गराउन पनि संविधानको कार्यान्वयन अपरिहार्य भएको उनको भनाई थियो । उनले लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तमा रहेर चलेको पार्टी भएकै कारण जनताले विश्वास गरेको बताए।
सम्मानित व्यक्ति मार्सलजुलुम,ओमकार श्रेष्ठ र श्यामलाल श्रेष्ठले प्रजातन्त्र स्थापनाका लागि धेरै दुःख कष्ट भोगेका स्व गणेशमान सिंहको त्याग र सङ्घर्ष सबैका लागि प्रेरणाको विषय भएको धारणा राखे।
केन्द्रका अध्यक्ष बाबुराजा चित्रकारले नेपालमा प्रजातन्त्र स्थापनामा योगदान पु¥याएका स्व गणेशमान सिंहको उच्च कदर गर्दै त्यसमा साथ दिने प्रजातान्त्रिक योद्धालाई सम्मान गर्न पाउँदा आफूलाई गर्व लागेको बताए।