महोत्तरीको पशुपतिनगर–४ का ६३ वर्षीया मनतोरिया देवी महतोमाथि अहिले समस्याको पहाड थपिएको छ। उनलाई अहिले ६७ वर्षीय श्रीमान् बहादुर महतो र एक मात्र छोरा ३८ वर्षीय दुःखी महतोको समस्याले सताइरहेको छ।
समस्यै समस्याको चाङले भरिएको उनको सानो परिवारमा तीनजना सदस्य भए तापनि उनलाई दिनचर्या बिताउनका लागि कठिनाइ भएको छ। उनका श्रीमान् बहादुर महतो पाँच वर्षदेखि दृष्टिविहीन भएका छन् भने वृद्धावस्थामा सहाराका लागि रहेको एक मात्र छोरा दुःखी महतो जन्मजात अपाङ्ग अनि लाटा छन्। छोरा दुःखीको पालनपोषण गर्दै घरपरिवार चलाउँदै आएका उनका श्रीमान् बहादुर ५ वर्षअगाडि अन्धो भएपछि घरको सबै जिम्मेवारी मनतोरियामाथि परेको छ।
यतिमात्र होइन उनको श्रीमान् बहादुरलाई अहिले पिसाबसम्बन्धी रोगले समेत च्यापेको छ। एक त दृष्टिविहीन त्यसमाथि पिसाबसम्बन्धी रोगी भएका बहादुरको रेखदेख गर्ने जिम्मा त्यसमाथि महँगीको समयमा घरव्यवहार चलाउनुपर्दा उनलाई थप समस्याले सताएको छ। ६३ वर्षीया वृद्धा अवस्थामा मनतोरियाले एक्लैले श्रीमान् र छोराको पालणपोषणका लागि गाउँघरमा भाँडा मस्काएर, चुलोचौका, घाँसदाउरा र गोठको गोबर सोहोरेर रकम जम्मा गर्दै आएकी छिन्।
टिठलाग्दो कुरा के भने पति र छोराको जीवन बचाइराख्ने मनतोरिया स्वयम् विगत लामो समयदेखि दम–श्वासप्रश्वाससम्बन्धी रोगले पीडित छिन्।
बडो दुःखले सकीनसकी छरछिमेककोमा काम गरेर मालिकले दया गरेर दिएको अन्नपात र भातरोटीबाट उनले पति र छोराको भरणपोषण गर्दै आएकी छिन्। मनतोरियालाई दमले हैरान पारेका दिन काममा नजाँदा त्यो दिन पति र छोरो भोकै बस्नुपर्छ।
भैँसी गोठ भनौँ, चाहे भान्साघर भनौँ, चाहे सुत्ने घर भनौँ एउटा सानो जीर्ण अवस्थाको ढोकाबिनाको झुपडी छ उनीहरुको। “पानी पर्दा घरको छानो चुहिन्छ, घामलाग्दा प्रकाश भित्रै छिर्छ”, मनतोरियाले कुराकानीका क्रममा आँसु पुछ्दै भनिन्, “नसोध्नुस्, घरको टाटी पानीले खत्तम बनाइसक्यो। सर्प, बिच्छी ओछ्यानै पुग्छ।” राती कुकुर बिरालो पनि सँगै सुतेको बिहान उठ्दा थाहा हुने र झस्किने गरेको बताउँदै मनतोरियाले याचना गर्दै भनिन्, “बाबु, कसैले घर बनाइदिए हुन्थ्यो। खान मागेर पनि खाइहाल्छु।”
ओत लाग्ने ठाउँ त चाहियो नि, घरमा ढोका नहुँदा केही दिनपहिले श्रीमान्को आँखाको उपचारका लागि एक–एक सिक्का जम्मा गरेर राखेको १२ हजार रुपैयाँ चोरले चोरी गरेर लगेको पीडित मनतोरियाले भक्कानिँदै टाउकोमा हात राखेर भनिन्, “भगवान् पनि कहाँ गयो। सुरक्षाका लागि नागरिकता, मतदाता परिचयपत्र, भएको रुपैयाँपैसा घरभित्रै माटोमुनि गाडेर राख्न बाध्य भएको मनतोरियाले सुनाइन् । सम्पत्तिको नाममा एउटा भैँसी, दुईवटा पाडापाडी र एउटा सानो खरले छाएको झुपडीभन्दा अरू केही छैन मनतोरीयाको परिवारसंग।
बोल्दाबोल्दै खोकीले ग्रसित मनतोरियाले खोक्दै भनिन्, “हामीसँग पैसा छैन के गरी उपचार गराउँ।” गोठमै सुत्ने गरेका दृष्टिविहीन बहादुर भन्छन्, “बाबु, राति सुतेको बेला भैँसीले जीउमै गोब्राई दिन्छ, पिसाब गरिदिन्छ, लुगा भिजाइदिन्छ।”
उनले आफूहरुलाई बस्ने राम्रो घर बनाइदिन मानवसेवामा लाग्ने सबैसँग अनुरोध गरेका छन्। ६ वर्षपहिले मनतोरियाले गाउँकै साहुसँग लिएको १३ हजार ऋण तिर्न नसक्दा उनको ६ कट्ठा खेतीयोग्य जमिन साहुले आफ्नो बनाएपछि उनको पीडा झन् बल्झिँदै गएको छ।
स्थानीयवासी अमृतकुमार महतो भन्छन्, “साहुको नाममा रजिस्टे«सन पास गरेर घरखर्च चलाउन मनतोरियाले साहुसँग सैकडा तीनका दरले ऋण लिएकी थिइन्। केही वर्षपछिको अन्तरालमा त्यो ऋण साँवा र ब्याज गरी ५० हजार पुग्यो।” मनतोरियाले साहुलाई ५० हजारमध्ये २० हजार दिन जाँदा साहुले सबै रकम एकमुष्ट चाहियो भन्दै लिन मानेनन्। मनतोरिया बिरामी हुँदा पैसा तिर्न सकेनन्। पछि ऋणमै मनतोरियाको जग्गा साहुले मिनाहा गरी आफ्नो बनायो।
मनतोरियाले छोरा दुःखीले राज्यबाट पाउने सामाजिक सुरक्षाभत्ता पनि घरपरिवार चलाउन झिनो आधार दिएको बताउँछिन्। उनी भन्छिन्, “जसलाई ममता लाग्छ उनीहरुले नै खानेकुरा र लुगाहरु हामीलाई दिन्छन्।”
न खानेपानी, न बिजुलीबत्ती, न शौचालय, न अन्नपात, न औषधीमुलो गर्ने रुपैँयाँ, न लत्ताकपडा हाल्ने सामथ्र्य, न सहारा दिने कोही, उल्टै ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरुलाई टाठाबाठाले घर छोड्न दबाब दिइरहेका छन्।
जन्मदा खाली हात आयौँ, यो संसारबाट बिदा लिँदा खाली हात नै जान्छौँ। यहाँबाट बोकेर लानु केही छैन। कसैले मर्ने बेलामा कमाएको सम्पत्ति लान पनि सकेका छैनन्। त्यसैले मानव भएर यस्ता वृद्धवृद्धाको मानवको हितका निम्ति सोच्नुपर्ने पशुपतिनगरका नागरिक समाजका अगुवा भीमबहादुर आले मगरले बताए।
उनले भने, “मन्दिरमा राखिएको निर्जीव पत्थरको अगाडि लम्पसार परेर केही पाइनेवाला छैन। त्यसैले पीडाबाट छट्पटाइरहेका, सहारा खोजिरहेका भगवान्रुपी सजीव मानवको जीवन बचाउन हात बढाउन सबैले अग्रसरता लिनुपर्छ, साँचो धर्म यही हो।”
मानवसेवामा सबैजना आ–आफ्नै ठाउँबाट जुटौँ र यी वृद्धवृद्धाको घर पुनःनिर्माण गर्न, बहादुर महतोको आँखा र पिसाबसम्बन्धी रोगको उपचारमा सहयोग गरौँ भन्दै दुःखी र बहादुरलाई हेरचाह गर्ने मनतोरियाको पनि दमको बिमारीको उपचारका लागि सहयोग जुटाइदिन स्थानीयले सबैमा आग्रह गरेका छन्। रासस