‘हाम्रै पालामा फास्ट ट्रयाक र एयरपोर्ट’, भन्दै युवाहरूको एक समूहले समयमै फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिन पैदल यात्रा गरेको छ।
निजगढ बाट काठमाडौंसम्म ६१ जनाको समूहले पैदल यात्रा गरेको हो। निजगढबाट ६१ जनाको समूहमा हिडेको टोलीमा बाटोबाट स्वस्फुर्त रूपमा आम सर्वसाधारणले साथ दिएका थिए। काठमाडौं आइपुग्दा उनीहरूको समूह २५० भन्दा बढी थियो।
हाम्रै पालामा फास्ट ट्रयाक र निजगढ विमानस्थल भन्ने नाराका साथ फास्ट ट्रयाक एयरपोर्ट निर्माण संघर्ष समितिले पदयात्रा सुरु गरेको हो ।
कतै भीर पहरा कतै समथर भुभाग अनि कतै जंगल छिचोल्दै युवाहरुको टोली सोमबार काठमाडौं आइपुगेको हो। काठमाडौं आइपुगेको टोलीलाई ललितपुरको एकान्तकुनामा भब्य स्वागत गरेको थियो। स्थानीयहरुले राष्ट्रिय धुन र झण्डा सहित टोलीलाई स्वागत गरेको हो।
टोलीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको छ। भेटमा प्रधानमन्त्री दाहालले पैदल यात्राले सरकारलाई सकारात्मक दबाब दिएको बताएका छन्। १७ गते निजगढबाट हिडेको टोली ८ घण्टा हिँडेर छतिवनमा बसेको पैदल यात्रा टोलीका एक सदस्य इराज कोइरालाले सेतोपाटीलाई बताए । दोस्रो दिन अर्थात १८ गते १८ घण्टा हिडेर ठिगंनमा बास बसिएको कोइरालाले जानकारी दिए। १९ गते १६ घण्टा हिडेर युवाहरुको टोली बुङमती आइपुगेको थियो।
नेपाली सेनाले २०६९ सालमा फास्ट ट्रयाको ट्रयाक खोलेको थियो। त्यति बेला नेपाली सेनाले फास्ट ट्रयाकमा गाडी समेत गुडाएको थियो। अहिले भने धेरै ठाउँमा ट्रयाक भत्किसकेको कोइरालाले जानकारी दिए।
स्थानीयहरुको समेत फास्ट ट्रयाक कहिले बन्छ भन्नेमा निकै चासो देखाएको उनले बताए। फास्ट ट्रयाकको निर्माण सरकार आफैले गर्ने निर्णय गरिसकेको छ ।
‘राष्ट्रिय महत्व राख्ने फास्ट ट्र्याक र एयरपोर्ट निर्माणमा ढिलाइ हुनुमा जनस्तरबाटै पर्याप्त दबाब नपुगेको महसुस भएकाले यसका लागि हामी एक जुट भएर संघर्ष गर्नुपरेको हो,’ कोइरालाले भने।
यसैबीच उनीहरूले रिले अनसनसहित ६ महिने संघर्षका कार्यक्रमहरू पनि सार्वजनिक गरेका छन्।
तस्बिरः चन्द्र काफ्ले/ सेतोपाटी