स्वास्थ्य मन्त्रालय सम्वद्ध सार्वजनिक निकायहरुका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्वन्धि मापदण्ड सरकारले स्विकृत गरेको छ ।मन्त्रालय सम्बद्ध अस्पताल विकास समिति, प्रतिष्ठान, परिषद लगायतमा नियुक्ति तथा मनोनयनलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्री गगनकुमार थापाले पेश गरेको मापदण्डलाई सरकारले स्विकृत गरेको हो ।
नियुक्ति तथा मनोनयन सम्वन्धी मापदण्ड स्विकृत भएपछि लामो समयदेखि खाली रहेका विकास समितिहरू, प्रतिष्ठान लगायतका पदाधिकारीहरुमा पदपुर्ति गर्ने बाटो खुलेको छ । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल विकास समितिहरु लगायतमा पदाधिकारी खाली रहेका छन् ।
यस मापदण्डले अस्पताल विकास समितिको अध्यक्षको योग्यता निर्धारण गरि कार्यसम्पादन करार गर्ने व्यवस्था गरेको स्वास्थ्य मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।
मापदण्डअनुसार अस्पताल विकास समितिको अध्यक्षको हकमा जिल्ला अस्पतालको लागि स्नातक, केन्द्रीय क्षेत्रीय र अंचल अस्पतालको लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्नेछ । समितिको अध्यक्ष बन्ने व्यक्तिले अस्पताल सुधारका निश्चित योजना र प्रतिवद्धता सहित कार्यसम्पादन करार सम्झौता गर्नु पर्नेछ । नियुक्त वा मनोनयन भएको मितिले ३० दिन भित्रमा सम्झौता गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।
करार सम्झौतामा अस्पताल फार्मेसी संचालन, भिड व्यबस्थापन, ५ बजे सम्म ओपीडी संचालन, अस्पताल कोषको प्रभावकारी संचालन लगायतका सुधारका बिषयहरू रहने पौडेलले वताए। अन्य सार्वजनिक निकायमा नियुक्त हुने कार्यकारी प्रमुखले पनि कार्यसम्पादन करार सम्झौता गरि त्यसको प्रतिबेदन नियमित रुपमा पेस गर्नुपर्नेछ ।