काठमाडौं विश्वविद्यालयका उपकूलपति (भिसी) को कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ।
सोमबार बिहान करिब १०:३० बजे ५ जनाको संख्यामा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले उपकूलपति कार्यालयभित्र प्रवेश गरी कम्प्युटर, प्रिन्टर, झ्याल तथा ढोका तोडफोड गरेको काभ्रेसका डिएसपी नविन राजभाइले सेतोपाटीलाई बताए।
उपकूलपतिकी निजी सहयोगी अम्बिका थापा कार्यालयमा बसिरहेको बेला अपरिचित युवा भित्र प्रवेश गरि तोडफोड गरेका हुन्।
आक्रमणको समयमा केयुका उपकूलपति रामकण्ठ मकाजु कार्यालयमा थिएनन्। आक्रमणकारीले मकाजुको कोठाको सिसा मात्र फुटाएको प्रहरीले बताएको छ।
डिजिटल लक सिस्टम रहेको उपकूलपति कार्यालयमा प्रवेश गर्न नसकेपछि उनीहरूले तोडफोड गरेका हुन्।
केहीबेरमै तोडफोड गरेर आक्रमणकारीहरू पश्चिमतर्फको सिँडीबाट हाम्फालेर भागेका थिए। सुरक्षा गार्डले केहीबेर लेखेटे पनि उनीहरुलाई पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ।
स्कूल अफ मेडिकल साइन्समा भर्नाको विषय विवादित भइरहको अवस्थामा सो विषयमा चित्त नबुझेको समूहले आक्रमण गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
‘हामी अनुसन्धान गरिरहेका छौ। विस्तृत विवरण अनुसन्धानपछि मात्रै यकिन गर्न सकिन्छ’, घटनास्थलबाट काभ्रेका प्रहरी प्रमुख नवीनले सेतोपाटीलाई बताए।