कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सर उपचारका लागि ५० लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई उपचार खर्च दिने निर्णय गरेको हो।
स्तन क्यान्सर भएपछि कोइराला उपचारका लागि आइतबार नै सिंगापुर गएकी छन् ।
केही दिन अघि स्वास्थ्य मन्त्री गगन थापाले विशिष्ट पदाधिकारीलाई जीवनभरमा एक पटक अधिकतम १५ लाखसम्म उपचार खर्च दिन सकिने गरी तयार पारेको उपचार खर्चसम्वन्धी मापदण्डलाई पन्छाउँदै ५० लाख दिने निर्णय भएको हो ।
स्वास्थ्यमन्त्री गगनकुमार थापालाई सुजातालाई रकम निकाशा गर्ने सम्बन्धी प्रस्ताव नमानेपछि गृहमन्त्रीमार्फत् मन्त्रिपरिषदमा प्रस्ताव लगिएको थियो।
स्वास्थ्य मन्त्रालयले अघिल्लो बिहीबारै एक करोड रूपैयाँ निकाशा गर्ने विषयमा मन्त्रिपरिषदमा दर्ता गराएको थियो। आइतबार कार्यविधिमा छलफलै नगरी सरकारले यस्तो निर्णय गरेको हो। आइतबारको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री थापा अनुपस्थित रहे।
कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको दबावमा ५० लाख दिने निर्णय भएको स्रोतले बतायो।
कोइरालाले एक करोड उपचार खर्च मागेकी थिइन् ।