नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि सबै दल एक जुट भएर अगाडि बढ्नुपर्ने बताएका छन्। उनले सबै दल मिलेर चुनाव गर्न सकेमा संविधान कार्यान्वयन हुने बताए।
शनिबार तरणदल नेपालको महाधिवेशन पोखरामा उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री देउवाले निर्वाचन नभएसम्म संविधान कार्यान्वयन नहुने बताए। स्थानीय निर्वाचनमा जित्न नेपाल तरण दलमा सर्वसहमति हुन आवश्यक रहेको बताउँदै उनले तरण दलका युवाहरुलाई जिल्ला गएर संविधान र कांग्रेसका बारेमा फैलाएका नकारात्मक धारणलाई चिर्न समेत आग्रह गरेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देखिएका असन्तुष्टीलाई समेटर संसोधन गरी निर्वाचन गर्ने वातावरण बनाउनु पर्ने बताए। उनले संघीय गठबन्धनमा रहेका दलहरुले संघियता र लोकतन्त्रलाई रक्षा गर्न उदारताका साथ अगाडि बढ्नुपर्ने बताए। उनले त्यसैगरी नेकपा एमालेले पनि केही लचिलो भएर संसोधनमा सहयोग गर्नुपर्ने बताए।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान गतिशील दस्ताबेज भएका कारण आवश्यकताअनुसार संशोधन गरेर जानुपर्ने बताए। नेपाली कांग्रेसका कोषाध्यक्ष तथा शान्ति तथा पुननिर्माण मन्त्री सितादेवी यादवले शान्ति प्रक्रिया टुङगोमा लगाउन कानुन परिर्वतन गरेर भए पनि अगाडि बढ्ने बताईन्। उनले द्वन्द्वमा ज्यान गुमाएका परिवारले पाउन बाँकि राहत वितरणको काम पनि सुरु भएको बताइन्।
नेपाली कांग्रेसका नेता गोपाल मान श्रेष्ठले मुलुकमा नै रोजगारीको अवसर सृजना गरी विदेशिएका युवालाई फर्काउनु पर्ने बताए। नेपाल तरुण दलको चौथो महाधिवेशन शनिबारदेखि पोखरामा सुरु भएको छ। महाधिवेशन पोखरा सभागृहदेखि बाजागाजा र झाँकीसहित ¥याली निकालेर मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो।
बिपिको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ तीन दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन उद्घाटन सत्र, दोस्रो दिन बन्दसत्र र अन्तिम दिन निर्वाचन कार्यक्रम हुनेछ।
तरुण दलको नयाँ कार्यसमिति प्रादेशिक संरचनाका आधारमा ७५ सदस्यीय हुने जनाइएको छ। हाल कार्यसमिति ६१ जनाको छ। महाधिवेशनमा करिब १४ सयभन्दा बढी प्रतिनिधिले भाग लिएका छन्।