साँझको समय थियो। म घरधन्दामै व्यस्त थिएँ। गाईभैंसीलाई साँझको पराल खुवाउने अनि बाख्रापाठा खोरमा थुन्ने काम बाँकी नै थिए।
यत्तिकैमा मलाई कसैले बोलाएजस्तो लाग्यो। सोचेँ, बुढीले बोलाई होला। काम ढिलो गरेकोमा श्रीमती रिसले आगो भई भन्ठानेर म हतार–हतार त्रसित मुद्रामा घरतिर लागें।
जब–जब उनी बेस्सरी कराउँछिन् तब–तब मलाई उनको आक्रमणबाट कसरी उम्कने होला भनेर पिर लाग्छ। सबै श्रीमानहरूजस्तै उनीसँग अलिअलि डराउने बानी मलाई बिहे गरेपछि लागेको हो कि जस्तो लाग्छ।
घरको आँगनीमा टुप्लुक्क पुगेको मात्र के थिएँ पल्लाघर बा मलाई कुरिरहनुभएको देखेँ। उहाँले नै मलाई बोलाउनु भएको रहेछ। गृहमन्त्रीले अब सातो खाने भई भन्दै सुसुपाल हुँदै आएको म आँगनीमा उनलाई देखेपछि भने होसमा आएँ। मनमनै सोँचे, यी बुढा मेरो घरमा दिनदिनै आए नि हुन्थ्यो नि कम्तीमा बुढीको ताकुरमाकुर त खान पर्दैन थियो।
‘कति कामले आउनु भयो पल्लार बा? आरामै हुनुहुन्छ नि?,’ नजिकै गएर मैले विनयी भावमा सोधेँ।
उहाँले भन्नुभयो, ‘ठिकै छ कान्छा। बरु तिमी एउटा कुरा भन त, के अम्रिकामा के जाती ट्रम्प भन्नेले चुनाव जित्यो रे हो? मलाई त एकदम खुसी लागिरा’छ बाबु त्यसले जित्दा।’
पल्लाघर बाको कुरा सुनेर म आश्चर्यमा परेँ। सरोकार नै नभएको विषयमा उनले गरेको टिप्पणी देखेर मलाई लाग्यो, बुढाले आज तल्लाघर धने दाइको दोकानमा गएर एक बटुका छ्याङ दन्काएर आएछन् कि क्या हो? नत्र यो बेतुकको कुरा गर्नु नपर्ने हो।
‘हैन ए पल्लार बा, तपाईंलाई पनि गोर्या देशको चुनाव लाग्यो कि के हो? नत्र यस्तो राजनीतिक कुरा हजुर पहिला–पहिला त कहिल्यै गर्नु हुन्नथ्यो, के भयो आज?,’ मैले आफ्ना कुरा राखेँ।
‘हेर बाबु! मैले त अस्तिदेखि नै यो ट्रम्प भन्नेले जितोस् भनेर भैरवी माईलाई कालो बोको समेत भाकल गरेको थिएँ। लौ हेर आज मेरो भाकल पूरा भएजस्तो छ। म त आज साह्रै खुशी छु बाबु,’ उनले फेरि थपे।
पल्लाघर बाको कुरा सुनेर अब भने मलाई अनुमान लगाउन गाह्रो परेन कि उनको दिमागी हालत खराब भएछ भनेर। यिनी छ्याङको मात्र तरङ्गमा यी कुराहरू बोल्दै छैनन् भन्ने निष्कर्षमा पुगेँ म।
‘पल्लाघर बा हजुरलाई सञ्चै त छ नि हैन? बरु सुनाउनुहोस् न अरु हालखबर के छ? छोड्दिनुहोस् यस्तो राजनीतिका अनावश्यक कुरा,’ म उनको निरर्थक बहसबाट आफूलाई टाढा नै राख्न चाहन्थेँ।
मेरो कुरा भुइँमा खस्न नपाउँदै उनले फरि भने, ‘हेर माधव बाबु! हिजोसम्म म साह्रै बिरामी थिएँ, मभित्र ठूलो औडाहा मात्र थियो, तर आज भने ठिक छु । ट्रम्पले जितेपछि मेरो अब सबै व्यथा दूर भयो बाबु। मेरो अर्को भाकल पनि चाँडै पूरा होस् हे कोटकी भैरवी माई।’
उनको झारपात कुराले मेरो आफ्नै हालत खराब होलाजस्तो लाग्यो मलाई। आफ्ना कुराले पल्लाघर बा नहिँड्ने देखेपछि मैले करैले भए पनि उनलाइ फेरि सोधँे, ‘किन र पल्लाघर बा हजुरलाई ट्रम्पले जित्दा के हुने, हिलारीले जित्दा चाँहि के नहुने? हामीहरूलाई त यो चुनाव कौवालाई बेल पाक्यो हर्ष न विष्मात जस्तै हैन र? हामी त अर्कै देशको मान्छे, झन् त्यसमाथि पनि भूगोलका हिसाबले सबैभन्दा टाढाको छिमेकी अनि उनीहरूको हार–जितसँग हामीलाई के को सरोकार, मलाई त यस्तो लाग्छ पल्लाघर बा। बरु आफ्नै घर राम्ररी सम्हाल्न पाए भैहाल्यो नि हैन र ?,’ मैले उनको तर्कलाई प्राथमिकता नदिई वादविवादलाई विषयान्तर गर्ने असफल प्रयत्न गरेँ।
मेरो कुरामाथि प्रतिवाद गर्दै उनले भने, ‘हैन बाबु, मैले बाबुको कुरा काटेँ। हेर, ट्रम्पले जितेपछि मेरो बाँच्ने आशा नै पलाएको छ।’
‘यो कसरी सम्भव भयो पल्लाघर बा, ल भन्नुस्?,’ मैले प्रतिप्रश्न गरें।
मैले यति भनेपछि पल्लाघर बाले आफ्नो कथाको पोको यसरी खोले, ‘छ वर्षअघि मैले भएभरको सबै झिटिपात बेचेर मुकुन्देलाई अम्रिका पठाएँ। त्यो बेला पनि मलाई पटक्कै मन थिएन उसलाई बाहिर पठाउन। उसले नै साह्रै नै ढिपी गरेकोले मात्र मैले हार्न नसकेर सबै जग्गाजमिन बेचेरै भए पनि उसलाई उता पठाएको हुँ। सुन्दैछु, यहाँबाट हिँडेको तीन महिनापछि मात्र बल्लतल्ल सासको त्यान्द्रो मात्र बाँकी लिएर मुकुन्दे अम्रिका पुग्या रै’छ। ऊसँगै जाने अरु कैयन देशका मानिसहरू समुद्रमा डुबेर मरेका पनि रहेछन्, कतिपय ट्रकको कन्टेनरमा थुनिएर स्वर्गवास भएका पनि रहेछन् भने कतिपय चाहिँ जङ्गलमा बास बस्दा लुटेराले लुटपाट गरेको अनि कैयांैको प्रहरी कारबाहीमा परेरका अनि महिनौसम्म थुनिएर घर वापसी पनि भएका रहेछन्। हामीलाई पिर पर्छ भनेर उसले यस्ता कुराहरू केहि पनि भनेको रहेनछ। अरुबाटै थाहा पाइयो यी सब कुरा। उता पुगेपछि उसले आफू शरणार्थी हुँ भनेर निबेदन पनि दिएको छ रे। हेर त बाबु, त्यो बुद्घि नभएको स्वाँठ न यता आउँछ न त्यहाँ नै सुखसँग बसेको छ।’
उनी थप्दै गए, ‘मैले कयौंपटक उसलाई भनेँ, आइज, यतै बसौं २÷३ हलको पाखो बारी छँदै छ, खनजोत गरौंला, आफ्नै माटोमा अन्नबाली उमारौंला, आफ्नै मुलुकमा जसोतसो गरौंला, यता बसेजस्तो अन्त कतै गए पनि हुँदैन बाबु भने तर उसले सुनेको नसुन्यै गर्यो। साह्रै दुःख पायो बाबु त्यसले। म त त्यस्तो कुरा सुन्न पनि सक्तिन।’
उनी एकोहोरो बोल्दै गए। यसो भनिरहँदा उनको अनुहारमा बुढेसकालमा आफ्ना सन्तान आफूसँग नहुनुको पीडा प्रष्ट रुपमा झल्किन्थ्यो।
मैले अब केही बोलिरहनु नपर्ने भयो। सबै कुरा पल्लाघर बाले नै लगातार भन्दै गए।
‘यता त्यसको राम्रै जागिर थियो। दुःख–सुख गरेर खान लाउन पाएकैथ्यो। ह्याँ ओत लाग्नको लागि हाम्रो आफ्नै छाप्रो भने नि छँदै थियो। कहाँको दशा लागेर उता गयो बाबु। अहिले शरणार्थी भनेर उता बस्यारै’छ। लुकिछिपी होटेलाँ काम पनि गर्छ रे। कताको हब्सीनी केटी पनि अस्ति बर्खाताका बिहे गर्यो रे भन्ने सुन्या छु। न जात, न कुल धर्म। यो विधर्मीले साह्रै पिर पार्यो बाबु। मान्छेको बुद्घि बिग्रेसी कसको के लाग्छ र? मैले पोहोर साल नै उसको आमा बितेपछि उसलाई नेपाल फर्किन धेरै जोरजुलुम गरेको थिएँ। उसले टेरपुछर लाएन।’
यसरी पल्लाघर बा आफ्ना व्यथा एकपछि अर्को गरेर मलाई सुनाउँदै थिए र भन्दै थिए, ‘मेरा हातखुट्टा चल्न छाडे। बाबु, आफँै खाना बनाएर खान सक्तिनँ। त्यो मोरो गधालाई मैले सयौंचोटि भनिसकें, बितेको कुरा गरेर केही फाइदा छैन हेर अब चाँहि आइज बाबु, आफ्नै मुलुक आइज भन्दा सुनेको नसुन्यै गर्यो।’
उनलाई सान्त्वना दिने उद्येश्यले मैले भनेँ, ‘यस्तै हो पल्लाघर बा, सबै युवायुवतीहरू हिजोआज बाहिरै छन्। मुकुन्देको मात्र के दोष भयो र? आउला नि त कागज पत्र मिलेपछि।’
‘हैन बाबु त्यसको आफ्नै बुद्घिले आउने भए त पहिला नै आइहाल्थ्यो नि। बरु यो ट्रम्प भन्नेले अब कागज पत्र नहुनेलाई अम्रिकाबाट लखेट्छ रे नि त हो। म त त्यसैको आशामा छु बाबु। त्यसैले अब जतिसक्दो चाँडो त्यो ल्वाँठलाई यतैतिर लखेटिदिए हुन्थ्यो। हाम्ले बोलाउँदा त आएन आएन, बरु अरुले नै धपाएर भए पनि आयो भने पनि हुन्थ्यो बाबु। त्यसैले अब तेसको घर फिर्तीको दिन आउँदै छ कि भनेर म त आज साह्रै खुसी पो छु त बाबु। त्यो मोरो मुकुन्दे बज्यालाई भोलि नै लखेटिदिए हुन्थ्यो बाबु त्याँबाट। ट्रम्पको जय होस् बाबु त्यसको जय होस्,’ उनले एकै सासमा भने।
उनको कुरा सुनेर म ट्वाँ परँे। साँझ झपक्कै परिसकेको थियो। भित्रबाट घरधनीको आदेश आयो, ‘भित्र आउने हैन, खाना पाकिसक्यो?’
मैले पल्लार बालाई पनि भित्र जान अनुरोध गरेँ। तर, उनले अहिले अलि फुर्सद छैन बरु पछि आउँछु नि है भनेर आफ्नो बाटो लागे।